Logo

लुक्सकाे कारणले म सधैं रिजेक्ट हुन्थेँ– रेमो डीसूजा



Spread the love

रेमो डीसूजाको वास्तविक नाम रमेश गोपी हो । उनी भारतीय नृत्यकार, कोरियोग्राफर, कलाकार र चलचित्र निर्देशक हुन् । ब्याकग्राउण्ड डान्सरदेखि चलचित्र निर्देशकसम्म बन्दा रेमोको जीवन सङ्घर्षले भरिएको छ । डान्स इन्डिया डान्समा जज भएपछि उनी चर्चामा आउन सुरु गरेका हुन् ।
आजसम्म आउँदा उनले ९० भन्दा बढी चलचित्रमा कोरियोग्राफी र डान्स इण्डिया डान्स, डान्स प्लस, डान्स के सुपरस्टार लगायतका विभिन्न टिभी सोमा जज पनि बनिसकेका छन् । यसै गरी उनले सातवटा चलचित्रमा निर्देशन पनि गरिसकेका छन् । गएको जनवरी २३ मा उनले निर्देशन गरेको चलचित्र स्ट्रीट डान्सर थ्री डी रिलिज भएको थियो । हालचाल उनी डान्सिङ्ग ड्याडको चलचित्र निर्देशनमा व्यस्त छन् ।

रेमो डीसुजासँग फिल्मफेयरका लागि सुमन शर्माले अन्तर्वार्ता लिएका थिए । सल्लेरी कोलाजका लागि भावानुदित उक्त वार्तालापको सम्पादित अंशः

१.स्ट्रीट डान्सर थ्री डीले चर्चा बटुल्न सफल रह्याे । यस चलचित्रको खास विशेषता के हो ?

स्ट्रीट डान्सर थ्री डी बेलायतमा सुटिङ भएको चलचित्र हो र यसले दुई प्रतिद्धन्द्धी टिमलाई समेटेको छ । बरुण धवन र श्रद्धा कपुर मलाइ मन पर्ने कलाकार हुन् । त्यसैले यी दुबैलाई म चलचित्रमा राख्ने गर्दछु । दुबै जनालाई पहिलो पटक भेट्दा नै म उनीहरुप्रति आकर्षित भएको थिएँ । म धेरै कुरा गर्ने मानिस होइन । जब म कुरा गर्छु तब हामीबीच सम्बन्धले नयाँ रुप लिन्छ कि लिंदैन त्यो कुराको लेखाजोखा गरिहाल्छु । बरुण र श्रद्धा दुबै मिहिनेती छन् । जे काम गर्न लगाए पनि दुबै तयार हुन्छन् ।
२.भुषण कुमारसँग कस्तो तालमेल छ ?

हामी गएको २० वर्षदेखिसँगै छौँ । जब उनको बुवाको मृत्यु भयो तब मैले उनलाई भेटेको थिएँ । हामीले धेरै म्युजिक भिडियोहरु बनायौँ । महिनामा लगभग ४ वटा म्युजिक भिडियो बनाउँथ्यौँ । त्यो समयमा टी–सिरिजले मात्र म्युजिक भिडियो बनाउने गर्दथ्यो । हामीले जगजित सिंहजी र सारदोल सिकन्दरसँग म्युजिक भिडियो बनायौँ । हामीले चलचित्र बनाउने कुरा पनि गर्दथ्यौँ र अन्त्यमा हामीले सहकार्यमा चलचित्र पनि बनायौँ ।

३.निर्माता भुषण कुमारसँग सहकार्य गर्नुको तात्पर्य ?

भुषण कुमार मेरो साथी हुन् । उनले जति बेला फोन गरे पनि उठाउँछन् । मध्यरातमा अरु निर्मातालाई फोन सम्पर्क गर्न सकिंदैन । उनीहरुको लागि विशेष समयमा मात्र फोन गर्नु पर्दछ तर म भुषणलाई जति बेला पनि फोन गर्न पाउँछु । उनी सुलभ अनि स्वीकार्य पनि छन् । उनले कस्तो खालको चलचित्र बन्न सक्छ ? कति बजेटको चलचित्र बन्न सक्छ ? भन्ने कुरा बुझ्न सक्छन् । उनले व्यक्तिगत रुचिलाई सधैं प्राथमिकतामा राख्छन् । अरुको व्यक्तित्वलाई उनले सम्मान गर्छन् । यी गुणहरु निकै दुर्लभ छन् ।


४.जामनगरदेखि ठुलो शहरसम्म आउँदा यात्रा कस्तो रह्यो ?

नृत्यप्रतिको मेरो प्रेमले मलाइ यहाँसम्म ल्यायो । मेरो जीवनमा हर कुरा तह तह हुँदै आएको छ । सन् १९९६ मा म ब्याकग्राउड डान्सर थिएँ । यहींबाट मेरो करिअरको सुरुवात भएको थियो । डान्सर, कोरियोग्राफर हुँदै निर्देशक बनेँ । यात्रा कहिल्यै सरल हुँदैन । मेरो लुक्सको कारणले म सधैं रिजेक्ट हुन्थेँ । म कालो थिएँ अनि मेरो लुक्स त्यति राम्रो थिएन । निकै विभेद थियो । यहीं विभेदको कारणले मैले आफ्नो नृत्य क्षमता प्रस्तुत गर्न पाउँदैन थिएँ । एकदिन मैले अहमद खानकी बहिनी सुनितासँग कुरा राखेँ । मैले उनलाई मेरो रुप छाडी नृत्य हेर्नुस् भनी सोधेको थिएँ । त्यसपछि उनले मलाइ स्वीकार नगर्न पनि सक्थिन् । जब उनले मलाइ नाचेको देखिन्, तब उनी मबाट निकै प्रभावित भइन् र मलाइ अहमद खानको समूहमा राखिन् । यहाँभन्दा पहिला म सन् १९९५ को चलचित्र रंगीलामा पनि ब्याकग्राउन्ड डान्सर बनेको थिएँ ।

राम गोपाल बर्माले मलाइ मन पराउँथे किनभने उनलाई मेरोजस्तो अनुहार मन पथ्र्यो । ती दिनमा म निकै पातलो थिएँ । म चर्को घाममा काम गर्थेँ । राम गोपाल बर्माले मेरो नृत्य देखेपछि अन्तिम लाइनबाट मलाइ पहिलो लाइनमा राखे । त्यसपछि म अहमद खान समूहको स्थायी सदस्य बनेँ । त्यसपछि मैले हिमालय पुत्र चलचित्रमा अहमद खानको असिस्टेन्टको रुपमा काम गरेँ ।

५.भिडियो बनाउन कसरी सुरु गर्नु भयो ?

अनुभव सिन्हाले मलाइ उनका भिडियोको कोरियोग्राफ गर्नको लागि सोधेका थिए । यदि भिडियो सोंचेजस्तो भएन भने ? तर मैले जोखिम मोलेँ । हामीले सोनु निगमसँग मिलेर दीवाना चलचित्रको भिडियो बनायौँ । भिडियो सुपरहिट भयो । त्यसपछि मैले चलचित्रमा कोरियोग्राफी गर्न चाहन्थेँ । सन् २००० मा दिल पे मत ले यार नामक चलचित्रमा कोरियोग्राफी गरेँ । काँटे चलचित्रको इश्क समन्दर निकै चल्यो । यसै गरी मैले अनुभव सिन्हाको चलचित्र तुम बिनमा कोरियोग्राफी गरेँ । विस्तारै म आफ्नो क्षेत्रमा नाम कमाउँदै गएँ ।

६.निर्देशक कहिले बन्नु भयो ?

सन् २००७ को बंगाली चलचित्र लाल पहाड’अर चलचित्रबाट निर्देशकको रुपमा डेब्यू गरेको थिएँ । मैले बंगाली चलचित्र पनि बनाएँ । चलचित्रले फिल्म महोत्सवमा अवार्ड पनि जितेको थियो तर यहाँ रिलिज भएन । त्यसपछि मैले डेढ वर्षपछि बंगाली चलचित्र बनाउन छाडिदिएँ । उद्योगमा आफ्नो दृष्टिबाट बाहिर हुनु भनेको पागलपन हो । त्यसपछि पुनः कोरियोग्राफरको रुपमा काम गर्न थालेँ ।


७.पुनः चलचित्रमा कसरी आउनु भयो ?

ज्याकी भगनानीले मलाइ वाषु भगनानीको निर्माणमा बन्ने चलचित्रमा निर्देशन गर्न प्रस्ताव गर्नु भएको थियो । मलाइ मानिसहरुले निर्देशक बन्दा मेरो करिअरको अन्त्य हुन सक्ने भनी सल्लाह दिएका थिए । चलचित्र विश्वकपको दिन रिलिज भएको थियो । मैले सबै आशा गुमाएँ । तर, मलाइ भाग्यले साथ दियो । चलचित्रले सुरुवातमा नै राम्रो कमाइ गरेको थियो । फाल्तुको छायांकनको क्रममा म डान्स इन्डिया डान्सको जज थिएँ । डीआईडीबाट नै म चिनिएको थिएँ । चलचित्रको छायांकनको क्रममा मानिसहरुले अटोग्राफको लागि प्रस्ताव माग्थे ।

८.नृत्यमा आधारित चलचित्र कसरी बन्यो ?

नृत्यमा आधारित चलचित्र बनाउने मेरो सपना थियो । सबैजना उपायको विरुद्ध थिए । सबैजना चलचित्र चल्दैन भनी सल्लाह दिन्थे । रोनी स्क्रिुवाला र सिद्धार्थ राय कपुरले भने एनीबडी क्यान डान्सको विषयवस्तुलाई मन पराएका थिए । चलचित्र चल्यो अनि मैले एबीसीडी–२ पनि बनाएँ ।


९.अ फ्लाइङ्ग जेट र रेस–३ को राम्रो समीक्षा नआउँदा कसरी आफूलाई सम्हाल्नु भयो ?

अ फ्लाइङ्ग जेट र रेस–३ को राम्रो समीक्षा नभएकाले तनाव भएकै हो । अ फ्लाइङ्ग जेट मेरो मुटुनजिक नै छ । चलचित्रको कथा ठिक थियो तर बजेटले गर्दा सोंचेजस्तो भएन । रेस–३ को लागि सलमान खानले मलाइ विश्वास गरे । म उनीप्रति कृतज्ञ छु । हामीले रातिका केही घण्टाहरु चलचित्रको स्क्रिप्टबारेमा छलफल गरी बिताउँथ्यौँ । म ती यादहरुलाई सधैं राख्न चाहन्छु । तर, म चलचित्रलाई अझ प्रभावकारी ढंगले बनाउनु पर्ने रहेछ भनी विश्वास गर्छु । म एउटा सामान्य मानिस हुँ । म प्रतिष्पर्धामा विश्वास गर्छु । जब म असफल हुन्छु तब म रिसाउँछु अनि दुःखी हुन्छु । म लामो समयसम्म डिप्रेसनको शिकार भएको थिएँ । धेरैजनाले मलाइ यो जीवनको एउटा भाग हो भनी सम्झाएका थिए । म यसबाट बाहिर आउन स्ट्रिट डान्सर थ्री डीमा निष्ठावान भएर लागेँ ।


१०. अ फ्लाइङ्ग जेट र रेस–३ बाट तपाईंले के पाठ सिक्नु भयो ?

भविष्य असफलतामा नै आधारित रहेको हुन्छ । जब चलचित्र चल्दैन अथवा फ्लप हुन्छ तब दोषजति तिमीमा पर्छ । तर, तिमी आफूलाई विश्वास गर्नु पर्दछ । चलचित्र उद्योग अविश्वसनीय छ । आफ्नो मुटुलाई सुन्नु पर्दछ । आफूलाई र आफूले गर्न सकिने काममा विश्वास गर्नु पर्दछ । म अझै पनि आफूलाई स्थापित भएको मान्दिंन । सङ्घर्ष कहिल्यै सकिंदैन । प्रत्येक पाइलामा सङ्घर्ष छ । मलाइ विश्वास लाग्छ कि म यहाँ जस्तोसुकै चुनौतीलाई पनि सामना गर्न सक्छु । तर, म आफूले चाहेको कलाकारसँग काम गर्न सक्दिंन । चलचित्र बनाउन निकै कठिन काम हो । चलचित्र राम्रो छ अनि यसमा लगानी लगाउन हुन्छ भनेर निर्मातालाई बुझाउन सक्नु निर्देशकको लागि ठुलो चुनौती हो । अनि चलचित्रको लागि स्टार चुन्नु पनि अर्को चुनौतीपूर्ण काम हो ।

११.दर्शकको विकसित स्वाद चलचित्र निर्माताहरुको लागि सही संकेत हो ?

एक दशकअगाडि मैले नृत्य चलचित्र बनाउँछु भनी सोंचेको थिएन । आज दर्शकहरु यस्ता खालका चलचित्रमा आनन्द लिइरहेका छन् । दर्शकको स्वाद धेरै फेरिएको छ । बाला, स्ट्री, बधाई हो, गुड न्यूज जस्ता फरक धारका चलचित्रहरुले राम्रो छाप पारेका छन् । किनभने यहाँ प्रतिभा छ । शाहिद कपुर, हृतिक रोशन, वरुण धवन, रनवीर कपुर र टाइगर श्राफजस्ता कलाकारहरु उत्कृष्ट नृत्य गर्छन् । अझ खुशीको कुरा आयुष्मान खुराना, विक्की कौशल र राजकुमार राओजस्ता कलाकारहरु पनि नाच्न सक्छन् । यो यी कलाकारहरुलाई समेटी चलचित्र बनाउनु सुन्दर समय हो । जोसँग सपना छ तिनीहरुका लागि क्षेत्र आकाशजस्तै फराकिलो छ ।

प्रतिक्रिया दिनुहोस्