Logo

नाटक नै मेराे सबै थाेक – चे शंकर



Spread the love

विगत दश वर्षदेखि नाट्य क्षेत्रमा सक्रिय रहेका चें शंकर नाटकलाई सब थोक मान्छन् । उनी चें ग्वेभाराबाट प्रेरित छन् । जसले गर्दा नामकाे अगाडि चें थपे । इल्युजन नाटकबाट नाट्यक्षेत्रमा प्रवेश गरेका चें शंकरले एक दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेको विजय मल्लको कोही किन बर्बाद होस्, लुक ब्याक इन एंगर र मिस्टर फक्स एण्ड द स्कुल बोइ जस्ता नाटकहरु निकै मन पराइएको थियो ।

चें शंकरसँग सल्लेरीखबरको साप्ताहिक विशेषांक सल्लेरी कोलाजको लागि बिकाश मरासिनीले गरेको कुराकानीः

१.नाटकप्रति तपाईंको मन कहिले देखि आकृष्ट भयो ?

सानैदेखि विद्यालयको पाठ्यक्रम बाहेक अन्य पुस्तक पढ्ने , चलचित्र हेर्ने वातावरणमा हुर्किएको हुनाले स्वभावैले साहित्य, चलचित्र र पठन संस्कारप्रति ध्यान आकृष्ट त हुने नै भयो । अझ विशेष गरी गुरुकुलको नियमित दर्शक हुन पाउनुले नाटकप्रति अझै ध्यान तान्यो । विद्यालय र कलेजमा हामी जसरी लहडमा नाटक, साहित्यिक लगायतका विविध गतिविधि गर्थ्याैँ। त्यसले अझै लगनशील बन्न, बुझ्न, देख्न र हेर्न अभिप्रेरित गर्यो र अझ बढी नाटकसँगै साहित्यका अन्य विधा बुझी आफैलाई अनुभूत गर्दै चाहिँ कलेज सुरु गरेदेखि भयो ।

२.आजसम्म कति नाटकमा काम गर्नुभयो र कहिले निर्देशनक बन्नु भयो ?

मैले सन् २०१२ देखि नाटकको निर्देशन गर्न थालेँ। मैले केही नाटकमा काम पनि गरेँ तर मलाइ अभिनयभन्दा पनि निर्देशनतिर आफ्नो रूचि रहेको बुझेँ । अभिनयभन्दा मेरो ध्यान लेखन र निर्देशनतिर थियो ।

मैले दर्जनभन्दा बढी नाटक निर्देशन गरेको छु । मैले पाँचवटा नाटक लेखेँ र ती सबै नाटकको मञ्चन भइसकेको छ । लुक ब्याक इन एङ्गर, सेम टाइम नेक्स्ट एयर, मेमोरी यार्ड, म्याड म्यान्स डायरी र एकलव्यको अन्तिम टेप म आफैलाई अति मन पर्ने नाटक हुन् । यी नाटकहरु मैले मेरा प्रिय र एकदमै असल कलाकार साथीहरुसँग मिलेर निर्देशन गरेँ । मैले विद्यालय पढ्ने बाबु नानीहरुको लागि पनि ‘मिस्टर फक्स एण्ड स्कुल बोइ’ नामक नाटक बनाइ काठमाडौं लगायत विभिन्न ठाउँमा मञ्चन गरिसकेका छौँ । रचनात्मक कामहरुको आफ्नै आफ्नै प्रकृया हुन्छ र हरेक काम गर्दा जिराे लेभलबाट सुरु हुने गर्दछ। जस कारणले मन डराउँछ । मलाइ यो प्रकृयाभित्र हराउन र यात्रा गर्न निकै रमाइलो लाग्दछ ।

३.समाजमा भएका विकृति विसङ्गतिहरु नाटकमा कत्तिको समेटिएका छन् ? नाटकले समाज परिवर्तनमा खेलेको भूमिका कस्तो छ ?

विकृति विसङ्गति समेट्ने मात्र होइन, हामी नाटकलाई समाजको प्रतिबिम्बको रुपमा हेर्छौैँ, देख्छौँ र नाटकमा हामी समाजका भिन्न–भिन्न चिजहरुलाई लिएर कथावस्तु, पात्र र शिल्प बुन्छाैँ । एउटा कलाकार र लेखकको लागि समाज खुल्ला विश्वविद्यालय हो र समाजलाई प्रगतिशील र जागरुक बनाउन नाटकले ठुलो भूमिका खेल्छ । रचनात्मक क्षेत्रको कुनै पनि विधाले हरेक मानिसलाई अन्तर्निहित क्षमता प्रस्फुटन गर्न र सामाजिक विषय जस्तै; राजनीति, साहित्य, कला र संगीतबारेमा समयपरक ज्ञान दिनुका साथै बोध गराउँछ । अझ नाटकले विद्यालय स्तरमा हरेक सिकारुको चौतर्फी विकास गराउनुका साथै २१ औँ शताब्दिका सिकाइहरुको विकासका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।

धेरै देशहरुमा थुप्रै नाटकहरु भएका छन् जसले सामाजिक, आर्थिक, राजनैतिक र लैंगिक बिषयमा आम मानिसलाई सुसुचित बनाएको छ र नाटक आफू, समाज र संसारलाइ देख्ने आँखीझ्याल हो जस्तो मलाइ लाग्छ ।

४.नेपालमा नाटकको अवस्था कस्तो छ ? नाटकघरहरुले नेपालमा सर्भाइभ गर्न सकिरहेका छन् त ?

काठमाडौँमा केन्द्रित भएको नाटकको क्षेत्र अहिले नेपाल भरी नै बिस्तारै बिस्तारित भइ रहेको छ । काठमाडौं बाहिर पोखरा, झापा, बिराटनगर, जनकपुर, हेटौँडा लगायतका शहरहरुमा रंगमंच सक्रिय छ र त्यतिकै मात्रामा कलाकारहरु पनि छन् ।

नाटकघर बन्नु ठुलो कुरा होइन । तर हामी दर्शकलाई कस्तो काम देखाउँछौँ भन्ने खास कुरा हो । राम्रो प्रोडक्सन गरे रिजल्ट पनि राम्रो हुन्छ, नराम्रो गरे नराम्रो । सबैले आफ्नो–आफ्नो ठाउँबाट जसरी काम गरिरहेका छौँ यसलाई अर्थपूर्ण, समयपरक र सुझबुझका साथ निरन्तरता दिए नाटकघर, नाट्यकर्मी सबै सर्भाइभ हुन सजिलो हुन्छ ।

५.तपाईंलाई नाटकबाहेक अरु के–के मन पर्छ ?

नाटक, संगीत, साहित्य, सबै कलाको क्षेत्रको एउटा महासागर हो र चारधाम जस्तो मलाइ कलाका सबै विधा उत्तिकै मन पर्छन । विशेष गरी नाटक मेरो सब थोक हो ।

६.नाटक निर्माणका चनौतीहरु के–के छन् ? नेपालमा नाटकको विकास गर्न के गर्नु पर्ला ?

नाटक बनाउन पहिले त एउटा टेक्स्ट या कन्सेप्ट चाइयो । हुन त नाटक निर्माणका थुप्रै प्रकृया छन् । कलाकार, स्पेस, टेक्निकल वस्तुहरु आवश्यक पर्छन र दर्शक झन् हाम्रो मुटु हुन् । हामीले गरिरहेको काम दर्शकसम्म कसरी प्रसारित हुन्छ भनेर हामी सचेत हुनु पर्दछ । हामी कसका लागि काम गरिरहेका छाैँ भन्ने कुरा भुल्नु हुँदैन जुन क्षेत्रमा पनि । चाहे नाटक होस् या अरु कुनै क्षेत्र ।क्
मैले चाहिँ काम गर्दा भने झैँ कलाकार पाउन, टेक्निकल सपोर्ट पाउन सकस जस्ता समस्या भोग्ने गर्छु । प्राक्टिकल स्कुलिंग सरकारी स्तरबाट सुरु गर्दे भने पूर्वाधार विकास र विस्तारमा सरकारले सहयोग गरिदिए राम्रो हुने हो । हैन र ? यसबारेमा सरकारले सही कदम चाले हामीलाई सजिलो हुन्थ्यो र धेरै काम गर्न सकिन्थ्यो ।

७.हालचाल कस्तो नाटकमा काम गरिरहनु भएको छ ? अथवा कस्तो खालको नाटकमा काम गर्ने मनसाय बनाउनु भएको छ ?

अहिले म चलचित्र लेखनमा व्यस्त छु । सायद छिटै हेर्न पाउनु हुने छ । यसपछि भने हामी इट्सको ‘लेमेन्टेसन अफ ओल्ड पेन्सनर’ भन्ने कवितालाई लिएर नाटक बनाउने छौँ । ‘फर्गटन स्टेप्स’ भन्ने कन्सेप्टमा म एउटा पर्फर्मेन्स आर्ट पनि बनाउने तयारीमा जुटिरहेको छु । अबको ६ महिनापछि पोखरा र काठमाडौँमा देख्न पाउनु हुनेछ ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्