–प्रेमचन्द
बेनीमाधव सिंह गौरीपुर गाउँका जमिनदार थिए । उनको पितासँग कुनै समयमा निकै सम्पत्ति थियो । तर आजकल गाउँका ताल, मन्दिर पनि उनले मर्मत गर्न सक्दैनथे । जुन ताल, मन्दिर पुर्खादेखि नै मर्मत हुँदै आएको थियो । मानिसहरु भन्छन् कि ढोकामा पहिला हात्ती झुम्ने गर्दथ्यो तर उसको ठाउँ आजकल बुढी भैंसी थिई । जुन भैंसीको शरीरमा अस्थिपन्जर बाहेक केही बाँकी थिएन; तर दुध धेरै दिन्थ्यो; किनभने एउटा न एउटा मानिस हाँडी लिएर उसको टाउकोमा बस्ने गथ्र्यो । बेनीमाथव सिंह आफ्नो आधा सम्पत्ति वकिललाई नै भेटेर सकेका थिए । उनको वर्तमान आय वर्षको एक हजार भन्दा बढी थिएन ।
ठाकुरका दुई छोरा थिए । ठुलाको नाम श्रीकण्ठ सिंह थियो । उनले निकै परिश्रमपछि ब्याचलर डिग्री गरेको थिए । आजकल भने एउटा अफिसमा नोकरी गथ्र्यो । कान्छो छोरो लालबिहारी सिंह दुई शरीरको झैं हट्टाकट्टा थिए । भरिएको अनुहार अनि चौडा छाती । बिहान उठेर उसले दुई सेर ताजा दुध खान्थे । श्रीकण्ठ सिंहको दशा पुरै उल्टा थियो । बीएको पढाइले गर्दा उनले यो सब भुलेका थिए । उनको शरीर कमजोर अनि अनुहार आभाविहीन भएको थियो । यहीं कारणले वैद्य ग्रन्थप्रति उनको विशेष प्रेम थियो । आयुर्वेदिक औषधिमा उनको धेरै विश्वास थियो । बिहान बेलुका उनको कोठाबाट प्रायः ओखलको कर्णप्रिय स्वर सुनिन्थ्यो । लाहोर र कलकत्ताका वैद्यसँग बसेर पढ्ने गर्थे ।
श्रीकण्ठले अङ्ग्रेजीमा डिग्री हासिल गरे पनि अङ्ग्रेजी सामाजिक रीतिको प्रेमी थिएनन् । उनले अङ्ग्रेजी रीतिरिवाजको खुलेर विरोध गर्दथे । यहीं कारणले गर्दा उनलाई गाउँमा खुब सम्मान गर्थे । दशैंको बेला उनी रामलीलामा व्यस्त हुन्थे अनि कुनै न कुनै पात्रको रुपमा भाग लिन्थे । गौरीपुरमा रामलीलाको नाटक चलाउने उनी नै पहिलो व्यक्ति थिए । प्राचीन हिन्दु सभ्यताको गुणगान गाउनु उनको धार्मिक पहिचान थियो । संयुक्त परिवारलाई राम्रो मान्ने उनी मात्र थिए ।
आजभोलि महिलाहरुलाई संयुक्त परिवारमा मिलेर बस्न अरुचि हुने गर्दछ । श्रीकण्ठलाई यस्तो खालको स्वभावलाई जाति र देशको लागि हानिकारक हुने सम्झिन्थे । यहीं कारणले गर्दा गाउँका स्त्रीहरु उनलाई घृणा गर्दथे । कुनै–कुनै स्त्रीले त उनलाई शत्रु नै सम्झिन संकोच मान्दैनन् थिए । उनकी पत्नी पनि यस विषयलाई लिएर विरोध गर्थिन् । यो कारणले होइन कि उनलाई आफ्नो सासु– सासुरा, देवरसँग घृणा थियो । श्रीकण्ठकी श्रीमतीलाई यस्तो लाग्थ्यो कि परिवारले धेरै दमन गर्यो भने झगडा गर्नुभन्दा आफ्नो भान्सा छुट्टै बनाउनु नै वेस ।
आनन्दी उच्च कुलकी चेली थिइन् । ठुलो घर, एउटा हात्ती, तीन कुकुर, बाज लगायत उच्च घरमा हुने सबै वस्तुहरु थिए । उनका बुवाको नाम भूपसिंह थियो । उच्च कुल भए पनि उनी निकै उदार हृदय अनि प्रतिभाशाली पुरुष थिए तर उनलाई छोरा भने भएनन् । उनका सातवटी छोरी थिए अनि दैवसंयोगले सबै बाँचे । उनले तीन विहे त धुमधामसँग गरिदिए तर पन्ध्र–बीस हजारको ऋण लागेपछि उनको होस आयो । आनन्दी उनकी चौथी छोरी थिइन् । आनन्दी दिदीबहिनीको तुलनामा निकै राम्री थिइन् । यहीं कारणले पनि भूपसिंह आनन्दीलाई धेरै माया गर्थे ।
सुन्दर सन्तानलाई बाउआमाले पनि निकै चाहन्छन् । ठाकुरसाब आनन्दीको विहे कहाँ गर्ने भनी धर्मसंकटमा थिए । उनी यो चाहंदैन थिए कि ऋण लागोस् अनि आफूलाई अभागी ठान्नु परोस् । एकदिन श्रीकण्ठ कुनै प्रयोजनको लागि चन्दा उठाउँदै पैसा माग्न आए । सायद नगर प्रचारको लागि चन्दा उठाएको हुनुपर्छ । भूपसिंह श्रीकण्ठको स्वभावबाट प्रभावित भए अनि धुमधामसँग उनको विहे आनन्दीको साथमा गरिदिए ।
आनन्दी आफ्नो नयाँ घरमा आइन् तर घरको रङढंग निकै फरक थियो । जुन हिसाबले उसले आफ्नो बालापन बिताएकी थिइन् त्यसको केही रौनक पनि नयाँ घरमा देखिंदैन थियो । हात्ती, घोडाको त के कुरा गर्नु कतै सजाइएको सुन्दर बेलगाडा पनि थिएन । न त घरमा बगैंचा थियो, न त भुइँमा मार्बल थियो । अरु त अरु घरमा कुनै झ्याल, भित्तामा तस्बिर अनि भुइँमा मार्बल पनि थिएन । थियो त केवल सामान्य जीवन जिउनेको घर । आनन्दीले केही दिनमा नै यसरी अभावमा बाँच्नको लागि आफू अनुकुल बनाइन् कि उनले कहिल्यै विसालिताका सामग्रीहरु देखेकी छैनिन् ।
एकदिन दिउसोको समयमा लालविहारी सिंह दुई चराहरु लिएर आए अनि भाउजूलाई चाँडो खाना पकाउनको लागि आग्रह गरे । आनन्दी भने पहिला नै खाना बनाएर बाटो हेरिरहेकी थिईन् । आनन्दी नयाँ परिकार बनाउन थालिन् । हाँडी घिउले भरिएको देखिन् । ठुलो घरकी छोरीलाई बचाउनु पर्छ भन्ने के थाहा ? उनले सबै घिउ मासुमा मिसाइन् । लालबिहारी खान बसे तब दालमा घिउ थिएन अनि बोले– दालमा किन घिउ हाल्नुभएन ?
आनन्दीले बताइन् सबै घिउ मासुमा पर्यो । लालबिहारीले ठुलो स्वरले बोले– भर्खर त घिउ आएको छ । यति चाँडो सकियो ? आनन्दीले बताइन्– आज त खानामा शक्ति आएको होला । मैले सबै घिउ मासुमा मिसाएँ ।
जसरी सुकेको काठ चाँडै जल्छ त्यसरी नै मानिस पनि भोकले पागल भएको बेलामा सानो–सानो कुरामा रिसाउने गर्दछ । लालबिहारीलाई भाउजूले यसरी भनेको निकै खराब लाग्यो अनि भने– माइतमा त घिउको नदी बग्थ्यो होला ।
नारी गाली सहन्छन्, मार पनि सहन्छन् तर माइतीको बारेमा गरेको अपमान सहन सक्दैनन् । आनन्दीले बोलिन्– नौ लाखको त हात्ती मर्यो । माइतमा यति घिउ त नोकरहरुले खान्छन् ।
लालबिहारी आगो भए, थाल उठाएर फाले अनि बोले– मन लागेको छ कि जिब्रो थुतेर फ्याँकिदेउँ ।
आनन्दीलाई पनि रिस उठ्यो । मुख रातो भयो अनि बोलिन्– आज वहाँ हुनुहुन्थ्यो भने यस कुराको सजाय दिनुहुन्थ्यो ।
अब भने गवाँर, हठी ठाकुरले सहन सकेनन् । उनकी स्त्री साधारण जमिनदारकी छोरी थिइन् । उनले जति बेला चाह्यो त्यति बेला नै हात हाल्ने गर्दथे । खराउ उठाएर आनन्दीतिर फाले अनि भने– जसको बलमा आफूलाई बिर्सिनु भएको छ नि त्यसलाई पनि देखौँला अनि तपाईंलाई पनि ।
आनन्दीले हातले खराउ रोकिन्, शिर बच्यो । तर उनको औँलामा भने ठुलो चोट लाग्यो । रिसले हावाले हल्लिएको पातजस्तो गरी काम्दै आफ्नो कोठामा आइ उभिइन् । स्त्रीको बल अनि साहस, मान अनि मर्यादा पतिसम्म हुने गर्दछ । उनलाई आफ्नो पतिको बल अनि पुरुषत्वमा घमन्ड हुने गर्दछ । आनन्दी रगत चुस्दै बसिन् ।
श्रीकण्ठ शनिबार घर आउने गर्दथे । विहिबार घटना घटेको थियो । दुई दिनसम्म आनन्दी रिसको घरमा बसिन् । खानापिना नै नगरी श्रीमानको बाटो हेरिन् । शनिबार सधैं झैं श्रीकण्ठ साँझको बेलामा घर आए र घरबाहिर बसेर यता उताका कुराहरु, देश तथा कालका समाचार र केही नयाँ विषयमा चर्चा गर्न थाले । कुराकानी गर्दागर्दै रातको दश बज्यो । गाउँका भलाद्मीहरुलाई कुरा गर्दा यति मग्न हुन्थे कि खानपिन नै गर्न बिर्सिन्थे । श्रीकण्ठबाट मुक्ति पाउन गाह्रो हुन्थ्यो । श्रीकण्ठ आएको दुई–तीन घण्टासम्म आनन्दीलाई समय बिताउन निकै सकस भयो ।
खाना खाने समय आयो अनि पन्चायत पनि उठ्यो । सबैजना आ–आफ्ना घर गएपछि लालबिहारीले दाइलाई भने– दाजु, हजुरले भाउजूलाई सम्झाइदिनुहोला कि मुख सम्हालेर बोल्नुपर्छ नत्र एकदिन अनर्थ हुनेछ । बेनीमाधव सिंहले पनि लालबिहारीको साथ दिंदै भने– अँ छोरी–बुहारीहरु पुरुषको मुख लागेको ठिक हुँदैन । उनी ठुलो घरानाकी छो्री हुन् । आखिर हामी पनि त शुद्रका सन्तान होइनौँ ।
श्रीकण्ठले चिन्तित आवाजमा भने– खासमा कुरा के हो ?
लालबिहारीले भन्यो– केही पनि होइन, यो आफै ठाउँमा आउँछ । माइतीको धाकमा हामीलाई केही पनि सम्झिंदैनिन् ।
श्रीकण्ठ खानपिन गरेर आनन्दी भएको ठाउँमा गए । आनन्दी बसिरहेकी थिइन् । आनन्दीले सोधिन्–चित्त त खुशी छ नि ? श्रीकण्ठले जवाफ दिए– धेरै खुशी तर तिमीले घरमा किन तमासा गरेकी छ्यौ ?
आनन्दीको शरीरमा रीसको कारणले ज्वाला उठ्न थाले । आनन्दीले बोलिन्– जसले तपाईंलाई यो कुरा फैलाएको छ नि त्यसको मुखमा आगो लगाइदिन मन छ ।
श्रीकण्ठले भने– यति धेरै रिस किन ? खास कुरा के हो ? आनन्दीले बताइन्–के गर्नु, यो सब मेरो भाग्यको कारण हो । नत्र एक गवाँर जसको क्षमता नोकर बन्न लायक छैन । उसले मलाइ खराउले हानेर मार्न खोज्छ ।
आनन्दीको कुरा श्रीकण्ठले बुझ्दैनन् अनि उनलाई स्पष्टसँग बताउनको लागि आग्रह गर्छन् । आनन्दीले घटनाको बेलिबिस्तार लगाउन थाल्छिन्–अंस्ति तपाईंको प्यारो भाइले मासु पकाउनको लागि आग्रह गर्यो । हाँडीभरी घिउ थियो । सबै घिउ मैले मासुमा हालेँ । जब खाना बस्ने बेला भयो तब बताउन थाल्यो कि दालमा घिउ छैन । बस् यहीं सामान्य कुरामा मेरो माइतीलाई नानाभाँती भन्न थाल्यो । यसै क्रममा मैले यति घिउ त हाम्रोमा नोकरहरुले खान्छन् र पनि हामीलाई वास्ता हुँदैन । यति सामान्य कुरामा मतिर खराउ फ्याँक्यो । यदि मैले हातले नरोकेको भए मेरो शिर फुट्थ्यो होला । उसैलाई सोध्नुस् यो कुरा सत्य हो कि झुट भनेर ।
श्रीकण्ठको आँखा राता बनाउँदै भने– त्यसको यत्रो हिम्मत ?
आनन्दी स्त्रीको स्वभाव अनुसार रुन थालिन् किनकी स्त्रीहरुको आँशु पलभरमै आउँछ । श्रीकण्ठ धैर्यवान अनि शान्त पुरुष थिए । उनलाई कहिल्यै पनि क्रोध आउँदैन थियो । स्त्रीको आँशु पुरुषको क्रोधलाई झन् बढाउने काम गर्छ । रातभर कोल्टे फेरिरहे । उनी एकपल पनि निदाएनन् । बिहानी समयमा आफ्नो बुवाको सामुन्ने गएर बोले– अब यो घरमा म बस्दिंन ।
यस्तो खालको विदोह्रपूर्ण कुरामा श्रीकण्ठले कति धेरै मित्रहरुको अडानलाई मिलाए । कस्तो दुर्भाग्य ! आज उनको मुखबाट यस्तो खालको अभिव्यक्ति निस्किएको छ । अरुलाई अर्ति दिन कति सजिलो छ !
बेनीमाधव सिंह डराउँदै उठे अनि बोले– किन ?
श्रीकण्ठ –यो कारणले कि मलाइ पनि मान–प्रतिष्ठाको विचार आउँछ । हजुरको घरमा अन्यायको अवस्था सिर्जना भइरहेको छ । जसलाई आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ, उसलाई टाउकोमा टेक्नुपर्छ । म अरुको जागिर गर्ने मान्छे परेँ । घरमा बस्न पाउँदिंन । यहाँ मेरो श्रीमतीमाथि खराउ र जुत्ता प्रहार हुन्छ । कुरामा त म सहन सक्छु तर ममाथि लात अनि मुक्का परेको म सहन सक्दिंन ।
बेनीमाधव सिंहले उत्तर दिन सकेनन् । श्रीकण्ठले उनलाई सधैं आदर गर्दथे । उनको यस्तो खालको व्यवहार देखेर बुढा ठाकुर अवाक भए । उनले केवल यत्ति भने– छोरा, तिमी बुद्धिमान भएर यस्ता कुरा गर्छौ ? स्त्रीहरु यसै गरेर घर बिगार्दिन्छन् । उनीहरुलाई शिरमा राख्नुहुन्न ।
श्रीकण्ठले बुवाको जवाफ फर्काए–यति त म पनि जान्दछु, हजुरको आशीर्वादबाट म त्यति मूर्ख पनि छैन । हजुरलाई त थाहै छ कि मैले गर्दा यो गाउँमा कति धेरै बिग्रिएका सम्बन्धहरु बनेका छन् । जुन स्त्रीको मान–प्रतिष्ठाको म सबैथोक हुँ उसैलाई नै यसरी घोर अन्याय गरेको मलाइ सह्य छैन । तपाईं यो मान्नुस् कि लालबिहारीलाई सजाय नदिनको लागि यो व्यवहार मेरो लागि सानो होइन ।
जब लालबिहारीको सजायको कुरा आयो तब बेनीमाधव पनि आगो भए । यस्तो खालको अभिव्यक्ति उनले सुन्न सकेनन् अनि भने– लालबिहारी तिम्रो भाइ हो । जब उसले जब गल्ती गर्छ उसको कान निमोठिदेउ तर……..
श्रीकण्ठ–अब म लालबिहारीलाई भाइ सम्झिन्न ।
बेनीमाधव– स्त्रीको पछि लाग्यौ ?
श्रीकण्ठ– अँहँ उसको क्रुरता अनि अविवेकको कारण
केही बेर दुबै जना चुप लागे । ठाकुरसाब छोराको क्रोध शान्त गर्न चाहन्थे तर उनलाई यो कुरा स्वीकार गर्न गाह्रो थियो कि लालबिहारीले कुनै नराम्रो काम गरेको छ । यसैबेला गाउँका सज्जनहरु हुक्काको बहानामा बेनीमाधव सिंहको घरमा आए । गाउँका केही स्त्रीहरु श्रीकण्ठले पत्नीको साथ दिइ आफ्नो बुवासँग लड्न तयार भएको देखेर निकै खुशी भए । दुई पक्षको कुराहरु सुन्न उनीहरु लालायित भए । गाउँमा केही यस्ता कुटिल मानिसहरु पनि थिए कि बेनीमाधव सिंहको परिवारप्रति जल्दथे । उनीहरु श्रीकण्ठ आफ्नो बाउबाट डराउँछ,उसले धेरै पढ्ध्यो, उ किताबको किरा हो । बेनीमाधव सिंहको सल्लाहबिना उसले केही गर्दैन, यो उनको मुर्खता हो जस्ता कुराहरु गर्दथे । आज उनीहरुको इच्छा पुरा हुने देखिएको थियो । कोही हुक्का तान्ने बहाना बनाएर आए भने कोही लगानको रसिद देखाइ बैठकमा बस्न थाले ।
बेनीमाधव सिंह पुरानो जमानाका मानिस थिए । उनले मनमनै आफ्नो कुभलो सोंच्नेहरुलाई ताली बजाउन दिनेछैन भनी सोचिरहेका थिए । उनले नरम बोलीमा भने– म तिमीसँगै छु । तिमीलाई जे गर्न चाहन्छौ त्यहीं गर । केटाले अपराध गरिहाल्यो ।
इलाहाबादबाट ब्याचलर डिग्री गरी धेरै अनुभव बटुलेको श्रीकन्ठले यस कुरालाई बुझ्न सकेनन् । उनलाई आफ्नो मतमा अडिरहनु पर्ने बानी थियो । यस्ता खालका व्यवहारहरु बारेमा उनलाई के थाहा ? बाउले कुरा मिलाउन खोजेका थिए तर श्रीकण्ठले बुझ्न सकेनन् अनि भने– अब लालबिहारी यस घरमा बस्न पाउँदैन ।
बेनीमाधवले श्रीकण्ठलाई सम्झाउने हेतुले भन्न थाले– बुद्धिमान मानिसहरु मूर्खको कुरा सुन्दैनन् । उसलाई केही पनि थाहा छैन । उसले जुन गल्ती गरेको छ, त्यसलाई तिमीले माफि दिनुपर्छ किनकी तिमी त्यो भन्दा ठुलो छौ ।
श्रीकण्ठ आफ्नो मतबाट विचलित हुनेवाला थिएन । उनले भने– उसको यो दुष्टतालाई मैले सहन सक्दिन । कि त उ घरमा बस्छ कि त म बस्छु । यदि हजुरलाई उ बढी प्यारो लाग्छ भने उसँग बस्नुस्, मलाइ विदा दिनुस् । म आफ्नो ख्याल आफै राखौँला । घरमा मलाइ राख्ने भए उसलाई बिदा दिनुहोस् । यो नै मेरो अन्तिम निर्णय हो ।
लालबिहारीले ढोकामा उभिएर चुपचाप उभिइ दाजुको कुरा सुनिरहेको थिए । लालबिहारी दाजुलाई खुब सम्मान गर्दथे । उनले श्रीकण्ठको सामुन्ने बस्न, हुक्का पिउन, पान खान समेत संकोच मान्दथे । बाउलाई त्यति आदर गर्दैन थिए जति उनी दाजुलाई गर्दथे । श्रीकण्ठ पनि भाइलाई निकै माया गर्दथे । उनले भाइलाई कहिल्यै पनि हप्काएनन् ।
जब उनी इलाहाबादबाट आउँथे तब केही न केही वस्तुहरु भाइको लागि ल्याइदिन्थे । गएको साल नागपन्चमीको दिन भाइले कुस्तीमा ठुलो मानिसलाई पछार्दा श्रीकण्ठले खुशी हुँदै खेल मैदानमा नै अँगालो हाली पाँच रुपैयाँ दिएका थिए । यति माया गर्ने दाजुको मुखबाट हृदय विदारक कुराहरु सुन्न पर्दा लालबिहारीलाई निकै पश्चाताप भयो । लालबिहारी जोड–जोडले रुन थाले । यसमा कुनै शंका थिएन कि आफूले गरेको काममा पश्चाताप नहोस् । दाजु आउनुभन्दा पहिला नै दाजुले के भन्लान् भन्ने डरले उनको मुटुको धड्कन तेज भएको थियो । म कसरी उनको नजिक जाम्ला, उनलाई कसरी बोलाउँला ? जस्ता प्रश्नहरु उनको मनमा उठिरहेका थिए । उनलाई लागेको थियो कि दाजुले सम्झाउने बुझाउने छन् ।
तर आशा निराशामा बदलियो । दाजुलाई उनले निर्दयी पाए । उनी मुर्ख थिए तर उनको मनले भन्थ्यो कि मेरो दाजुले मलाइ अन्याय गरिरहेका छन् । यदि श्रीकण्ठले उनलाई एक्लै बोलाइ दुई–चार कुरा अनि झापट लगाएको भए पनि लालबिहारीलाई दुख हुँदैन थियो । दाजुले यसको अनुहार देख्न चाहन्न भनेपछि लालबिहारीले सहन सकेनन् ।
उनी रुँदै घर आए । कोठामा गइ कपडा बदले, आँशु पुछे ताकी कसैले यो नसम्झियोस् कि उनी रुँदै थिए । त्यसपछि उनी आनन्दीको ढोकामा आएर बोले– भाउजू, दाजुले मसँग घरमा नबस्ने निर्णय गर्नु भएको छ । उहाँले मेरो अनुहार देख्न चाहनुहुन्न । अब म जान्छु । अब कहिल्यै पनि मुख देखाउने छैन । मबाट जुन अपराध भयो, त्यसलाई माफी गरिदिनुहोला । यति भन्दा–भन्दै लालबिहारी निकै भावुक भइसकेका थिए ।
जुन समयमा लालबिहारी शिर झुकाइ आनन्दीको ढोकामा उभिएका थिए त्यो बेलामा श्रीकण्ठ पनि आँखा रातो बनाइ बाहिरबाट आए । भाइलाई उभिएको देख्दा घृणाले आँखा तरे । मानौँ कि उनी भाइको छायाँबाट टाढा भाग्दैछन् ।
आनन्दीले लालबिहारीले गरेको गल्ती बताए पनि अब भने उनी पछुताइ रहेकी थिइन् । उनको स्वभाव नै दयालु थियो । उनलाई यो थाहा थिएन कि यति सानो कुराले यो अवस्था सिर्जना गर्छ भनेर । उनले पतिलाई मनमनै यति रिस किन राख्नुहुन्छ भनी बताउने वाला थिइन् । आनन्दीको मनमा यो पनि थियो कि यदि मलाइ इलाहावाद लैजानु भयो भने के गरुँला भन्ने डर ! यसै बेला उनले लालबिहारीले ढोकामा उभिइ अब म जान्छु, मबाट अपराध भयो, मलाइ माफी गर्नुहोला भनेपछि उनको क्रोध सबै हरायो । उनी रुन थालिन् । मनको मैला धुनको लागि आँखाबाट आँशु आएजस्तो उपयुक्त केही पनि छैन ।
श्रीकण्ठलाई देखेर आनन्दीले भनिन्– लाला बाहिर उभिएर रोइरहेको छ ।
श्रीकण्ठ– अनि म के गरुँ त ?
आनन्दी– भित्र बोलाउनुु्होस् । मेरो जिब्रोमा आगो लागोस् । मैले कहाँबाट यो झगडा निकालेँ कुन्नि ?
श्रीकण्ठ– म बोलाउनेवाला छैन ।
आनन्दी– पछुताउनु होला । उनलाई पनि धेरै पश्चाताप भएको छ, यस्तो नहोस् कि कतै जाउन् ।
यति भन्दा पनि श्रीकण्ठ उठ्न सकेनन् । यसै बेलामा फेरि लालबिहारीले भने– भाउजू, दाजुलाई मेरो प्रमाण छ भनिदिनुस् । उहाँ मेरो मुख देख्न चाहनुहुन्न । अब म आफ्नो अनुहार देखाउने छैन ।
लालबिहारी यति भनिसकेपछि हिँडे । अनि शिघ्रताको साथ ढोकातिर लागे । अन्त्यमा आनन्दीले कोठाबाट बाहिर निस्किएर लालबिहारीको हात समाइन् । लालबिहारीले पछाडि फर्केर देखे अनि भने– मलाइ जान दिनुस् । यति भन्दा उनको आँखा आँशुले भरिएको थियो ।
आनन्दी– कहाँ जान्छौ अब ?
लालबिहारी– जहाँ मलाइ कसैले पनि नदेखोस् ।
आनन्दी– म तिमीलाई जान दिन्न ।
लालबिहारी– म तपाईंहरुसँग बस्न लायक छैन ।
आनन्दी– तिमीलाई मेरो कसम, अब एक पाइला पनि अगाडि नबढ ।
लालबिहारी–जबसम्म दाजुले मलाइ माफ गर्नुहुन्न तबसम्म म यस घरमा कहिल्यै रहने छैन ।
आनन्दी– म भगवानको साक्षी बसेर भन्छु कि तिम्रो मन र मेरो मनमा केही मेल छैन ।
आनन्दीको कुराले श्रीकण्ठको हृदय पग्लियो । उनी बाहिर आएर लालबिहारीलाई अँगालो हाले । दुई भाइ जोडले रोए । लालबिहारीले सिक्कसिक्क गर्दै भने– दाजु, अब मलाइ तेरो मुख हेर्दिन भनेर कहिल्यै नभन्नुस् है त । यसबाहेक जे सजाय दिनुहुन्छ म सहर्ष स्वीकार गर्नेछु ।
श्रीकण्ठले कामेको आवाजले भने– लाल बाबु यस कुरालाई भुली दे । भगवानले चाहेर पनि यस्तो हुन सक्दैन ।
बेनीमाधव सिंह बाहिरबाट आउँदै थिए । दुई भाइलाई एक आपसमा अँगालोमा देखेर उनी निकै खुशी भए अनि बोले–ठुलो घरकी छोरी यस्ता हुन्छन् । बिग्रेको काम पनि बनाउँछन् ।