सल्लेरीखबरको विशेषांक सल्लेरी कोलाजमा सल्लेरी वार्ता पनि थपेका छौँ । सल्लेरी वार्तामा कलाकार, लेखक, पाठकदेखि आम मानिससम्म हाम्रो वार्ता गर्ने कोसिस रहनेछ ।
दिलिप ज्ञवाली साहित्यलाई खुब मन पराउने एक पाठक हुन् । उनले समसामयिक विषयमा आफ्ना विचारहरु ट्विटरमा पनि राखिरहेका हुन्छन् । यो साताको सल्लेरी वार्तामा हामीले उनै ज्ञवालीसँग पुस्तक–चलचित्र वार्ता गरेका छौँ ।
१.सर्वप्रथम पढेको किताब ?
–विजय मल्ल्को नाटक ‘कोही किन बर्बाद होस्’
२.सबैभन्दा बढी दोहोर्याइ पढेको किताब ? पढ्नुको कारण ?
–खलिल जिब्रानको ‘द प्रोफेट’
खलिल जिब्रानको शब्द शब्दमा जादु छ । जीवन दर्शनमा आधारित किताब भएकाले द प्रोफेट मैले धेरै पटक पढेँ । जति पढे पनि भोक अझै मेटिएको छैन । अर्को हिसाबले भन्नुपर्दा मलाइ उक्त किताबले टुनामुना लगाएको छ ।
३. कस्ता खालका किताबहरु रोजाइमा पर्छन् ?
मलाइ विशेष गरी नन–फिक्सन, इतिहाससम्बन्धी किताब र निबन्ध संग्रह बढी मन पर्छन् । महाकवि देवकोटा, शंकर लामिछाने, नाट्य सम्राट सम र हृदयचन्द्रसिंहले लेखेका जस्ता निबन्धहरु बढी मन पर्छ ।
४. किताबले समाजको प्रतिनिधित्व गर्नु पर्दछ भन्ने गरिन्छ ? समाजको प्रतिनिधित्व कत्तिको गरेको पाउनु हुन्छ ?
–समाजको प्रतिनिधित्व जति गर्नुपर्ने हो त्यति भएकै छैन । समाजको प्रतिनिधित्व गर्ने नाममा स्थलगत रिपोर्ट टाइपका आख्यानबाट दिक्क छु । भुइँमान्छेका कथाहरु आएनन् । भुइँमान्छेलाई पनि समेटेको खण्डमा राम्रो हुने थियो ।
५. नेपाली साहित्यमा कुन–कुन विधाको किताब कमी पाउनु हुन्छ ?
–नेपाली साहित्य समग्रमा राम्रो नै छ तर जति अगाडि जानुपर्ने हो, त्यति जान सकेको छैन । अझै पनि हामीमा धेरै कुराहरु कमी भएको देख्न सकिन्छ । मलाइ इतिहाससम्बन्धी किताब र बाल साहित्यको कमी भएजस्तो लाग्छ । बहुआयामलाई पनि समेट्न सकेको छैन । हरर, थ्रिलर र साइफाइलाई पनि समेट्न सक्यो भने हामीजस्ता पाठकहरुका लागि उपयुक्त हुने थियो ।
६. नेपाली साहित्यको अझ कसरी विकास गर्न सकिन्छ ?
–लेखक र पाठक जिम्मेवारमात्र भइदिए सबै ठिक हुन्छ । अरु केही गर्नै पर्देन । यहाँ त लेखक भइ टोपल्न र एउटा किताब लेखिहालौँ भन्ने भीडले नेपाली साहित्यको विकास चैं गर्दैन तर आशा गरौँ फिल्टर हुँदै जाला, पाठक पनि सचेत होलान् ।
७. सरकारले किताबमा कर लगाएको छ । यसको बारेमा तपाईं के भन्नुहुन्छ ?
–किताबलाई बस्तु नै ठान्दै कर लगाउनेहरुलाई भन्नु नै के छ र ? म त्यति धेरै पढन्ते मान्छे पनि हैन र पनि मलाइ किताबमा कर नभएको पुस्तक सहज, सरल अनि ठाउँ–ठाउँमा पुस्तकालय भएको देश गजब जस्तो लाग्छ ।
८. सर्वप्रथम हेरेको चलचित्र
–कुसुमे रूमाल
९.सबैभन्दा बढी हेरेको चलचित्र
–हाचिको, चिल्ड्रेन्स अफ हेभन,
१०. नेपाली चलचित्रको विकास नहुनुको कारण ?
नेपाली सिनेमाको विकास नहुनुको कारण चैं मलाइ सिनेमा बुझेकाले बनाउने चिज नभई पैसा भए बनाइदिउँ न त टाइपले बनाउनु एउटा कारण लाग्छ । सिनेमा मनोरन्जन मात्र हैन बौद्धिक कला देखाउने ठाउँ हो भन्ने नस्वीकार्नेहरुको भीडले गर्दा पनि हो ।