Logo

बाहिरबाट आउने किताबमा समेत करको भार थोपरिदिनु दुःख लाग्दो कुरा हो



Spread the love

डा. संगिता श्रेष्ठ स्वेच्छा ललितपुरमा जन्मिएकी हुन् । अनुसन्धान तथा सञ्चार क्षेत्रसँग आबद्ध संगीता स्वेच्छाको रुचि साहित्यमा पनि उत्तिकै रहेको छ । सानो उमेरबाट नै साहित्यतर्फ झुकाब राखेकी स्वेच्छाले १८ वर्षको उमेरमा ‘पखालिएको सिउँदो’ नामक उपन्यास लेखेकी थिइन् । उनको वि.सं २०७५ सालमा ‘गुलाफसँगको प्रेम’ कथासंग्रह पनि निस्किएको थियो ।

स्वेच्छाले यूनिभर्सिटी अफ सर्रे, बेलायतबाट नेपालको वातावरण सञ्चार विषयमा सन् २०१२ मा विद्यावारिधि सकेकी थिइन् । हाल उनी बेलायतमा सञ्चार परामर्शदाताको रुपमा विभिन्न संस्थाहरुसँग आवद्ध भई काम गरिरहेकी छिन् ।

स्वेच्छासँग सल्लेरी खबरको शुक्रबारीय विशेषांक ‘सल्लेरी कोलाज’का लागि विकाश मरासिनीद्वारा गरिएको अक्षरको कुरा यसरी शुरु भयो ।

१. तपाईंको कर्म एउटा अनि रुचि अर्को, तपाईंलाई लेखनमा रुचि कसरी बस्यो ?

लेखनमा रुचि त सानैदेखि थियो । विद्यालयमा छँदा कविताबाट साहित्यिक यात्रा सुरु भयो । विद्यालय बाहिर भने सिद्धार्थ बनस्थलीबाट १० कक्षामा छँदा अन्तर विद्यालय कथा प्रतियोगितामा विद्यालयलाई प्रतिनिधित्व गरेको याद छ । त्यसपछि सेन्ट जेभियर्स कलेजमा आइ.एस्सी. पढ्दा भने म कलेजबाट निस्किने पत्रिका ‘द पायोनियर’ को नेपाली सम्पादक थिएँ । लेखन विद्यालयबाट सुरु भएपनि सेन्ट जेभियर्सको द पायोनियर म्यागजिनका अंकहरूमा मेरा कथाहरुको नियमित प्रकाशन नै मेरो साहित्यिक यात्राको निकै महत्वपूर्ण समय बन्यो ।

आइ. एस्सी. परीक्षापछि म उपन्यास लेख्न बसेँ र लगतै मेरो पहिलो उपन्यास प्रकाशित भयो । सेन्ट जेभियर्स कलेजकै हलमा वरिष्ठ उपन्यासकार स्व. दौलत विक्रम विष्ट, प्रमुख अतिथि नेपाली कांग्रेसका सर्वोच्च नेता स्व. गणेशमान सिंह तथा साहित्यकार चेतन कार्कीबाट उपन्यास विमोचन भयो । उपन्यास प्रकाशन लगतै पत्रपत्रिकामा पनि थुप्रै समीक्षा र अन्तर्वार्ताहरु प्रकाशित भए जसले मलाई निकै हौसला प्रदान गर्यो साहित्यिक यात्रामा अगाडि बढ्न ।

२. उपन्यास र कथा संग्रहपछि कविता संग्रह निकाल्दै हुनुहुन्छ, आउँदै गरेको किताबमा के–के विषयवस्तु समेटिने छन् ।

कविता संग्रहमा काम गर्दैछु र मेरो दोश्रो उपन्यास धेरै समयदेखि अन्तिम अध्यायमै अड्किएको छ । त्यसको पनि समय मिलाएर लेखिसक्ने र प्रकाशनमा ल्याउने विचारमा छु । यस बाहेक पहिलो उपन्यासको दोश्रो संस्करण र कथा संग्रहको अंग्रेजी संस्करण प्रकाशनको लागि अनुवादको काम भइरहेको छ । विषयवस्तुको बारेमा भन्नुपर्दा चाहिँ अब आउने उपन्यास भिन्न देशका संस्कतिमा हुर्केकाहरू बीचको प्रेम, सद्भाव तथा विदेशमा देखिइने जातिय विभेद बारेमा छ । कविता संग्रहले भने विविध विषयवस्तु समेटेको छ, जुन भिन्न समयमा लेखिएका छन् ।

३. साहित्य र समाजको सम्बन्ध कस्तो हुनुपर्ने हो, कस्तो भइरहेको छ ? साहित्यले समाजमा कस्तो प्रभाव पारेको छ ?

साहित्य समाजको ऐना हो । त्यसैले पनि साहित्य र समाजको सम्बन्ध निकै घनिष्ट हुने कुरामा दुई मत छैन । कुनै पनि समाजको अध्ययन गर्न साहित्यको निकै महत्वपूर्ण भूमिका हुने गर्दछ । साहित्य कतिपय कल्पनामा आधारित हुन्छन् तर त्यसमा यर्थाथता समेटिएको हुन्छ । समाजले जसरी साहित्यिक सिर्जनालाई मोड दिइरहेको हुन्छ, साहित्यले पनि समाजको यर्थाथतालाई पेश गरिरहेको हुन्छ र कतिपय परिपेक्ष्यमा साहित्यले समाजमा भइरहेका कुरीति, कुसंस्कार आदिलाई चिर्ने र समाजलाई मार्गनिर्देशन दिने प्रयत्न गरेको हुन्छ । यसमा कतिपय सफल पनि हुने गर्दछन् । पाठकको मन छुने र चेतनामा परिवर्तन गर्न झकझकाउने साहित्यले नै समाजलाई मार्गनिर्देशन गर्दछ तथा समसामयिक विषयवस्तुको उठान, लेखकको परिष्कृत कलम र सुन्दर विचारको संगमले नै गहन साहित्यको सिर्जना हुनेगर्दछ भन्ने मेरो विचार हो ।

४. विदेशमा नेपाली साहित्यलाई हेर्ने नजर कस्तो छ ?

विदेशमा नेपाली साहित्य नेपालीले नै पढेको पाइन्छ । नेपाली साहित्य विदेशीहरुको हातमा पुग्न र मनमा छाप छोड्नको लागि पहिले नेपाली साहित्यको बढी भन्दा बढी अंग्रजीमा अनुवाद हुनु आवश्यक छ । नेपाली साहित्य जति धनी छ त्यो जानकारी विदेशीहरूमा भएको मैले पाइन किनकी अंगेजीमै लेखिएका नेपाली किताबहरू पनि अन्तरराष्ट्रिय बजारसम्म पुग्न सकेका छैनन् । नेपाली साहित्यलाई अन्तरराष्ट्रिय साहित्यिक क्षेत्रमा स्थापित गर्नु हामी सबैको दायित्व हो । यसमा लेखक, प्रकाशक, वितरक र विभिन्न देशमा बसेका साहित्यप्रेमी नेपालीहरूको साथै सरकारी तवरबाट पनि विश्व स्तरमा के कस्ता समन्वय गर्न सकिन्छ अथवा देशभित्र कसरी अनुवादको स्तरीयता बढाउने र अनुवादकहरूलाई विश्व साहित्यसम्म पुग्न सीप, तालिम, सहुलियत लगायत प्रकाशकसम्मको समन्वयमा के कस्तो तयारी गराउने, त्यो निकै जरूरी भैसकेको देखिन्छ ।

५. तपाईंका किताबमा कस्ता खालका विषयवस्तुलाई समेट्न रुचाउनु हुन्छ ?

मेरा किताबमा सामाजिक विषयवस्तुहरू नै बढी हुने गर्दछन् । आफ्नै वरिपरि घटिरहेका घटनाहरू नै मेरा कथाका विषयवस्तु बन्ने गर्दछन् । मेरो उपन्यास महिलाको संघर्षमा आधारित छ र यसले आफ्नै परिवारबाट बेचिइने चेलीबेटीहरुको दुःखलाई समेटेको छ । कथा संग्रहमा भने महिला मात्र होइन कतिपय कथाहरूले पुरुषका विषयवस्तुलाई पनि उतारेका छन् । यस बाहेक बालमनोविज्ञानमा पनि मलाई लेख्न मन लाग्छ र केही कथाहरुले यसलाई पनि समेटेका छन् । विदेशमा बसोबास गरिरहेकी हुनाले नेपाली डायस्पोराका कथाहरू पनि छन् । अब आउने उपन्यास पनि यस्तै डायस्पोराको कथामा आधारित छ ।

६. एनजीओ आइएनजीओमा लामो समयसम्म काम गर्नुभयो, देशका विभिन्न भाग डुल्नु भयो, अनुभव सुनाउनुस् ।

गैरसरकारी संस्थाहरूमा लामो समय काम गरेँ । कामकै सिलसिलामा नेपालका विभिन्न भागमा घुम्ने र अनुभव बटुल्ने मौका मिल्यो । यी संस्थाहरूसँगको सम्पर्क नै मेरो लागि नेपालबारे प्रत्यक्ष जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर बन्न पुग्यो । यी संस्थाहरूमा काम गर्दा विभिन्न देशहरूमा जाने पनि अवसर मिल्यो । अनुसन्धान तथा प्रकाशन अधिकृतको रूपमा महिला पुनःस्थापना केन्द्र (ओरेक) मा काम गर्दा उदयपुरको विकट गाउँहरुमा गएको र महिला सशक्तिकरणका कथाहरू प्रकाशनमा ल्याएको याद छ । मेरै कथामा भंगालो नामक कमिक किताब ओरेकले प्रकाशनमा ल्याएको थियो जुन चेलीबेटी बेचविखनबारे जनचेतना जगाउनका लागि थियो । त्यो किताब गाउँहरूमा निकै रूचाइएको पनि थियो । साहित्य अझ कथा लेखनको अनुभव मेरो काममा पनि त्यतिकै प्रयोग हुनेगर्दछ र संचार क्षेत्रमा काम गर्दै आएकी हँदा अहिलेसम्म पनि त्यो जारी छ ।

७. विदेशमा बसेर पनि स्वेदशको बारेमा काम गरिरहनु भएको छ । कालान्तरमा स्वदेश फर्किने मनसाय बनाउनु भएको छ त ?

मेरे पढाई र काम जहाँ गएपनि नेपाल सम्बन्धि नै हुन गयो । बेलायतमा आएपछि नेपालको वातावरण संचारमा अनुसन्धान गरें । नेपाल बाहिर बसेर नेपालबारे यति धेरै कुरा जान्न पाउनु मेरो लागि सौभाग्यको कुरा थियो । अनुसन्धानको समय नेपालमा पनि आएँ । विद्यावारिधिको अनुसन्धान सकेर बेलायतमा म अन्तरराष्ट्रिय सरकारी संस्था इनास्पमा काम गर्न पुगेँ जुन संस्था नेपालमा त्रिभूवन विश्व विद्यालयसँग काम गर्दछ । कामको सिलसिलामा संचार र अनुसन्धानका विषयमा नेपालमा कार्यशाला गोष्ठिहरु गरेँ । यसरी नेपालमा आउन पाउनु मेरो लागि दोब्बर खुशीको समय हुनेगर्दछ । त्यसैले नेपालबाट म कहिल्यै टाढा भएकी नै छैन । बेला बेलामा नेपाल आइरहेकी छु र अहिले पनि कामको सिलसिलामा नेपाल आउने विचारमा छ । कालान्तरमा पनि म नेपालकै लागि र नेपाल बारे नै काम गरिरहेकी हुनेछु । बसाई भने दुबैतिर हुनसक्छ ।

८. नेपाली साहित्य जति अगाडि जानुपर्ने थियो त्यति अगाडि जान सकेको छैन । यस बारेमा तपाईं के भन्नुहुन्छ ?

मलाई नेपाली साहित्य पछाडि छ जस्तो लाग्दैन । अहिले त किताबको कन्टेन्टसँगै प्रकाशनको गुणस्तरमा पनि पछाडि परेको जस्तो लाग्दैन । अन्तरराष्ट्रिय बजारमा भने अवश्य पनि अगाडि जान नसकेको भान हुन्छ । यसको लागि धेरै पक्षहरूले भूमिका खेलेको हुन्छ । हामीले आफूलाई अन्तरराष्ट्रिय बजारमा चिनाउनु जरुरी छ र नेपाली साहित्य कुनै पक्षमा कम छैनन् भनेर देखाउनु छ । हाम्रा कृतिहरुलाई अनुवाद गर्नुपर्ने कुरा प्राथमिकतामा पार्नुपर्ने देखिन्छ । भएका अंग्रजी किताबलाई पनि अन्तरराष्ट्रिय बजारमा पुर्याउन निकै जरुरी भैसकेको छ । अहिले त किताब मात्र होइन, थुप्रै अन्तरराष्ट्रिय साहित्यिक संस्थाहरूका वेबसाइटहरु छन् जहाँ अनुवादित कथा, कविताहरू प्रकाशित हुने गर्दछन् । नेपाली साहित्यलाई यस्ता ठाउँहरुमा पनि पुर्याउन जरुरी छ । लेखकहरूले पनि व्यक्तिगत तवरमा भए पनि यस्ता प्रयास गर्नु आवश्यक छ । केही समय लाग्ला अन्तरराष्ट्रिय बजारमा जरा गाड्न तर अब धेरै ढिला गर्ने समय छैन । नत्र, हाम्रा साहित्यिक सिर्जनाहरु गुणस्तरका भए पनि अगाडि आउँदैनन् ।

९. सरकारले पुस्तकमा कर लगाएको छ यस बारेमा केही अभिव्यक्तिहरु राख्नुहोस् ।

नेपालमा विकसित देशमा जस्तो पठन संस्कृतिको राम्रोसँग विकास भएको छैन । यसमा पाठकको रुचिसँगै अरु विभिन्न कारणहरू हुन सक्छन् । सरकारले किताब तथा पुस्तकालयको उचित व्यवस्थापन गरेर पढ्ने वातावरण बनाउने र पढ्न हौसला दिनुपर्ने ठाउँमा उल्टै बाहिरबाट आउने किताबमा समेत करको भार थोपरिदिनु दुःख लाग्दो कुरा हो । करकै कारण विदेशबाट आउने पुस्तकमा कमी हुनु अनि आएका किताब पनि महँगो रकममा किन्नुपर्ने अवस्थाको सिर्जना हुनु अवश्यै राम्रोहोइन । जनतालाई ज्ञान प्राप्त गर्नबाट बन्चित नगराई सरकारले किताब माथिको कर हटाउन जरूरी छ र यसो भएमा सरकारको यो कदम अवश्य पनि सराहनीय हुनेछ ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्