Logo

सत्य सोझो हुन्छ



Spread the love


– लक्ष्मीप्रसाद देवकाेटा

सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झुटो चाहँदैन । ‘मनुष्यको आत्माभित्र सेतो हुन्छ, कालो हुन्न’ ठुला–ठुलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति–पोषण पाउँछ । असत्य आत्मघाती छ ।

म झुटो बोल्दा दोहोरो चलाकी गर्छु, सत्य बुझ्ने र सत्यलाई छिपाउने । झुटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झुटोलाई स्वीकार नगरुन्जेल मलाइ झुटोउपर झुटो थप्ने प्रवृत्तिहरू बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भुलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा झुटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामथ्र्य नै हुँदैन । यिनै वक्रताहरु विकृति हुन्, नरकको कुण्ड भनेका यिनैका क्रिया हुन् । यिनमा ज्वलन छ, अँधेरी आतस कम्प । अनन्त कालको थिचाइले मानवात्मालाई बङ्गाएर राख्तछन् ।

त्यो जाति बाँच्न सक्दैन, जो असत्यको पोषण गर्दछ । उसका अंगहरु बाङ्गिदै जान्छन् । विचारधाराहरुले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउन्जेल त्यसलाई दु:ख दिंदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।

त्यसकारण, हे समयका शिशु हो । सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्वले आत्मवञ्चनामा नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरु त्यहाँ नास्तिक हुन्छौँ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्नन् ।

तिमीहरु सोझो बन, अन्तस्करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुर्याउँछ । डराउ धर्मदेखि, सत्यदेखि, ईश्वरदेखि । तलबितलमा नाशहरका रेखा लेखिएका छन् । तिमीहरु असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण–क्षणमा ईश्वरसँग सत्यको होश माग ।

म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रुपमा चित्रण गर्दछु – जसका नसाहरु उल्टिएका छन्, हड्डीहरु बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।

सत्य ओठमा सजिलैसँग आउँदछ, सजिलैसँग हृदयमा बस्न सक्तछ । हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरुलाई असत्यद्धारा अहिले गरुँ भन्नेचाहिं आफ्नो आत्मालाई गुम्स्याएर दुख दिंदै नरकको बाटो चलिरहेछ । तिमीहरु अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिँड असत्यको गाँजाहरुमा । चाँडै नै सत्यतिर फर्किहाल ।

तिमीहरुलाई दु:खको विलास छ । ज्वलन चाहन्छौ । के का निमित्त यति दु:ख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर तिमीहरु सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरुलाई सत्यले यति दिनसम्म छोडिसकेका छौ कि सत्यको आवाज सुन्दैमा तिमीहरु च्याँठ्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, सर सत्यको जिभ्राले स्वाद लेउ, मोल उल्टिन्छ ।

भित्र केही भावना नछिपाउ जो तिमी छद्यवेशमा प्रहार गर्न चाहन्छौ;यसले मलाइ होइन, तिमीलाई दुख हुन्छ । तिमी नजल, सत्यको ठण्डा होउ, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी–पुल्टीको वेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ! अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । नदेखिने तरवारहरु हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।


धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु धार्मिक हुन सक्दैनन् । असत्यमा नास्तिकता छ ! परमेश्वर असत्यको मार्गलाई पुरा गर्न सक्दैनन् । असत्यद्धारा सुन्दैनन् ।
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आउ र एक उपदेश सुन– सत्य सोझो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्