– हिमरत्न तिमल्सिना
निर्दोष आँखा
ती निर्दोष आँखा आँशु लुकाउन खोज्छन्
कतिखेर तप्प आँशु बगिसक्छ
असङ्ख्य आँखाहरु निर्दोष आँखालाई
डस्न खोज्छन
दबाउन खोज्छन
तिनै निर्दोष आँखा अरुको नजरमा
दोषी बनाइन्छन् ।
मानिसको नजरै धमिलिएको
सफा आकाशमा पनि कालो बादल देख्छन्
असङ्ख्य आँखाहरु
निर्दोष आँखामाथि दोष थोपरेर
पानीमाथिको ओभानो बन्न खोज्छन्
तीनै असङ्ख्य आँखा निर्दोष आँखामाथि घुमी रहन्छन्
विषालु सर्पले जस्तै डसी रहन्छन्
घाइते बाघले जस्तै घुरेर हेरी रहन्छन्
ती निर्दोष आँखा सधैँ तल झुक्छन् ।
असङ्ख्य आँखा तिनै निर्दोष आँखामाथि
प्रहार हुन्छन्
तीनै निर्दोष आँखा झ्याप्प बल्छन् र निभ्छन्
जो कहिल्यै माथि उठ्न सक्दैनन्
उठ्नुभन्दा पहिल्यै असङ्ख्य आँखा
निर्दोष आँखामाथि तेर्सिन्छन्
आँखाको नियति नै आँशु बगाउनु हो
पगाल्नु हो बरु ढुङ्गा पग्लिएला तर
मान्छेको मन कहिल्यै पग्लिदैंन
आँखाको नियति नै हेर्नु हो
तर विवश छन् किनकी तिनै निर्दोष
आँखामाथि असङ्ख्य आँखाको
घेराबन्दी छ ।
तिनै निर्दोष आंखा टुलुटुलु हेरीरहेका छन
तिनै असङ्ख्य आँखा
निर्दोष आंखा माथी एउटा
सन्त्रास पैदा गर्छन्
जाल बिछ्याउछन्
अनेक ताना वाना बुन्छन्
र खाल्डोमा हाल्छन्
जो कहिल्यै बाहिर निस्कन सक्दैनन्
आफूमाथि जान आफ्नो मान
सम्मानका निम्ति तिनै निर्दोष आँखाको
आँशु बिर्सन्छन रोदन बिर्सन्छन्
पीडा बिर्सन्छन अनि बिर्सन्छन् ।
त्याग र बलिदानलाई
तिनै निर्दोष आँखा जसले हिउँ तुसारो
खपेका छन्
अनेक दु:ख सहेका छन्
अनेक कष्ट झेलेका छन्
ती निर्दोष आँखाले वर्षाैदेखि सपना
देख्न छाडिसकेका छन्
किनकी उनीहरुले बुझेका छन्
निर्दोष आँखाले देखेका सपना पूरा हुँदैनन्
ती निर्दोष आँखा रुदा रुदै थाकिसकेको
बालक जस्ता देखिन्छन् पानी परेपछिको
सफा आकाश जस्ता देखिन्छन्
ती निर्दोष आँखा निर्दोष भएकै कारण
दमन शोषण र अत्याचारमा परेका छन्
ती निर्दोष आँखा निर्दोष भएकै कारण
दोषी ठहरिएका छन् अरुको
नजरबाट गिरेका छन् ।
ती निर्दोष आँखा केही विराए जस्तो
लुकिछिपी हेरीरहेका जस्ता देखिन्छन्
तिनै निर्दोष आँखामाथि
तेजाब खन्याइन्छ
एउटा बलात्कारी
तिनै निर्दोष आँखा छोपेर
भावनाको बलात्कार गर्छ
कसैले सुन्दैन
उनीहरुको चीत्कार
अँहँ कहिल्यै माथि
उठ्न सकेनन् निर्दोष आँखा ।
भूपी
आज पनि उनी
सगरमाथाको फेंदीमा बसेर
कराउँदै छन्
“एउटा कविता लेखेँ भने
प्रधानमन्त्री उडाइदिन्छु”
भूपी पड्किरहे
बन्दुकका गोली जस्तै ।
डाँफे मुनाल नाची रहेछन
गाई रहेछन् भूपीकै भाका टिपेर
सगरमाथा अग्ली रहेछ ।
यो नेपाली शीर उचाली
लेखियो कतै भूपीका संस्मरणमा
भूपीकै संक्षिप्त इतिहास पढेर
हुर्किए आजका नयाँ पुस्ता
र लेखे थप केही कुरा
बचाइरहे भूपीलाई ।
भूपी शब्द–शब्दमा सुनाइरहे
बाँचिरहेको आवाज
उनी सिद्धिचरणको
बाँची रहेको आवाज पढेरै हुर्किएका हुन् ।
उनी आफ्ना अमूर्त रचनाद्वारा
पुनः जीवित तुल्याइए
उनी सुनाइरहे
गाइरहे
कविताका भावात्मक लय
पैताला हुँ पैताला
घुम्ने मेचमाथि अन्धो मान्छे
उनी कराइरहे
मुस्ताङे गाउँको सम्झनामा
लेखिरहे स्मृति गान
जो फुटेर पट्ट भइ
पोखिए की नदीकाे रूपमा ?