आमा !
जुन दिन मैले
अर्थ खोजे जीउनुको यस धर्तिमा
सोही दिन देखि
बदलीयो मेरो कर्मक्षेत्र
मैले जे देखें मेरा चर्मचक्षुले
मैले जे बुझे मेरो अन्तस्करणले
आमा !
मलाई मनपरेन, मान्छे मान्छेबिचको फरक मुल्य
र त म झण्डा बोकेर लागे लाममा
तर आमा,
शारदाको किनारमा झण्डा बोक्नेको उडाईयो प्राण पखेरु
र, जारी गरीयो फर्मान
अब कोहीले बोक्ने छैन यो झण्डा
तर मैले सोही दिन देखि
कहिल्यै झण्डा नछोड्ने कसम खाए
तीनै अमर जीवन बाँचेकाहरुको नाममा
आमा,
म सम्झाउन चाहन्न आज
कति पीडादायी थिए ती दिन
तपाईलाई नै थाहा छ, कष्टसाध्य ती दिन
नयाँ विहानीको सपना देखेर
बलिवेदीमा चढे कति सुन्दर जीवनहरु
नयाँ जीवनको यात्रामा
अझ लामबद्ध भए हजार यात्रीहरु
र त
आज नयाँ युगले यस धर्तिमा
पर्दापण गरेको छ, आशावाद बोकेर ।
हो मलाई यो पनि थाहा छ आमा !
कागजमा कोरीएको हाम्रो भाग्य
जीवनमा अझ कोरीन बाँकी छ ।
आमा !
अस्तीमात्र,
सत्तरीको उमेरका, छानेघरका जेठा बाले
विसौनीको चौतारामा
पिठ्युको भारीसँगै जीन्दगी विसाएछन ।
तल्लो घरको रामु
बुढापाकाहरुको साहारा
न अस्पताल न डाक्टर त्यो अन्कन्टार गाउँमा
उही पुरानै मसानेले ठहरै पारेछ ।
आमा
मान्छेका सपना पनि
आफ्ना आफ्नै हुँदा रहेछन ।
भाग्यले ठगेका, नियतीले भोगेका
यस्तै भन्थे गाउँलेहरु
विचरा उनलाई के थाहा
यहाँ भाग्य कोर्नेहरुको जालसाजी ।
कतिले देखेनन स्कुलको दैलो
कतिले सकेनन भर्न फी को थैलो
काले, भुन्टे र भद्रे अंकल
एक छाक मुख फेर्न
र एक सरो शरीर ढाक्न
सानैमा कालापारतिर हुत्तिए
कोही कालापारतिरै अलप भए
कोही सिमलकुनाका कुनामा
मानखोलाको कहरसँग लडिरेहेका छन अरे ।
आजकल गाउँ बुढो भएछ आमा !
जवानी अरबमा छ
चाउरीएर मात्र फर्किन्छ
वा कपडामा बेरीएर
भन्न गाह्रो छ आमा,
न त बा आमा छन बच्चासँग
न त छोराछोरी छन बाआमासँग
विघठीत घर, निरस जीवन
जवानी छैन गाउँमा
जन्म संस्कार त गरे नगरे नी
मलामी छैनन मृत्युमा ।
आमा !
मलाई फर्केर हेर्न लागीरहेको छ आफ्नै जीवन
मृत्युसँग खेल्दाका ती दशक
जीउनुको अर्थ खोज्दाका यी दशक
जसरी विते पनि
संघर्षमै विते आमा
चाहे ति बाहीरका हुन या भित्रका संघर्ष
आमा
आज रगतले सिंचिएको
एक नयाँ दस्तावेज जन्मीएको छ ।
त्यसले जीवन खोज्दै जाँदा
गाउँमा सिंहदरबार पुग्न थालेको छ ।
हो यही आशावादको यात्रामा
आफ्नै गाउँ आउदैछु आमा !
आमा मलाई
गाउँमा जीवन फर्काउनु छ ।
भर्नुछ,
जीवनमा जवानी,
जवानीमा मुस्कान ।
एक नयाँ यात्रामा
सबका सब मेरा क्षिमेकी र आफन्तलाई
नयाँ मोर्चाका पहरेदार बनाउन
ओठमा हाँसो , परिवारमा खुसी्
र, गाउँमा सदभाव र समृद्धि प्राप्त गर्नुछ ।
गुमनाम लालसिताराका
सपनाका विज उमार्नु छ ।
आमा !
म आएँ,
फेरी नयाँ झण्डा बोकेर आएँ
विजयको संख बजाउँदै आएँ
आफ्नै भुमीमा फर्केर आएँ
नयाँ सपना बोकेर आएँ ।