१९ फागुन, नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले अगामी चैत १ गतेदेखि तीनमहिने पार्टी एकता सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । आइतबार परासीमा सम्पन्न पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह थप्न र जनतासँग सम्बन्धलाई थप मजबुत बनाउन अभियान सञ्चालन गर्न लागिएको नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारीले जानकारी दिए । “वडा तहसम्मै भेला, बैठक, प्रशिक्षण, सदस्यता अद्यावधिकलगायतका गतिविधि हुनेछन्, यसबाट कार्यकर्तामा उत्साह थपिनेछ्”, उनले भने ।
अभियानमा पार्टी एकता तथा सरकारले गरेका कामलगायत बारेमा पनि तल्लो तहका कार्यकर्तालाई जानकारी गराइने छ । जिल्ला कमिटीले अभियानलाई सफल बनाउन सातवटै स्थानीय तहका कमिटीलाई तत्काल बैठक सञ्चालन गरी आवश्यक तयारी थाल्न निर्देशन दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का सहइन्चार्ज बैजनाथ चौधरीले अभियान सफल बनाउनका लागि सम्पूर्ण पार्टी कार्यकर्तालाई परिचालन गर्न आग्रह गरे । उनले नेकपाको नेतृत्वमा रहेका तीन तहकै सरकारबाट भइरहेका जनहितका कार्यको पनि गाउँगाउँमा व्यापक प्रचार गर्न निर्देशन दिए । नेकपा प्रदेश नं ५ सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले अभियानले पार्टी र सरकारको विषयमा फैलिएका भ्रम चिर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
बैठकले ६९ सदस्यीय जिल्ला सल्लाहकार परिषद् तथा ७३ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । सल्लाहकार परिषद्का संयोजकमा लीला लामिछाने र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकमा भीमराशि चौधरी रहेका छन् ।