६ कात्तिक, काठमाडौं। सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने कार्यक्रम तय गरेका छन् ।
आगामी संसदको अधिवेशनमा बिजनेसको अभाव हुन नदिनका लागि सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका सचेतकहरूलाई छलफलमा आमन्त्रित गरेका हुन् । यो छलफल बिहान साढे ११ बजे हुने अपेक्षा गरिएको छ ।
संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले विधेयकहरू दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन् ।
बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।