एउटा गुमनाम ठेगानामा बेखबर केही खबर लेखेर चिठी पठाएथेँ । कहाँ पुग्यो, कसले पढ्यो ? पुग्यो र ? पुगेन होला र ? खै कुन्नी ?
कसो–कसो गरी त्यो चिट्ठी आज मकहाँ आइपुगेको छ । ठेगाना बताइएको थियो । “उपहार छोडेको छु लिनु”, भित्र यत्ति लेखिएको थियो ।
म बताइएको ठेगानातिर लम्किएँ । हर पाइलामा एक पैताला बाटो टाँस्छु अनि फेरि झार्छु, फेरि टाँस्छु, फेरि झार्छु ।
ठ्याक्कै मेरै जिन्दगीजस्तै गरि बिग्रिएको छ बाटो । खाल्डा–खुल्डी नाघ्दै र कुल्चिंदै हिँडिरहेछु । लावारिस गल्लीहरुमा बहुत सम्हालिएर हिँड्नु पर्च । बडो एन्टिक हिँडाइ हो यो जिन्दगीको ।
भट्टी छिर्छु । नेवाः ऐला घुट्काउँछु । सम्हालिन छाडिदिन्छु ।
आकाश हेर्छु । हेरिरन्छु । आकाश जत्रो पिंजडा के छ होला अर्को ? साेंची बस्छु ।
चराहरु …….
……..बराहरु !
बाइकमा ठोकिन पुगेछु ।
मर्न मन छ मु ? कोही मेरो कानलाई गाली गर्छ ।
अँ छ ।
मर्छस् त ? उ अब मेरो अस्तित्वलाई गाली गर्छ ।
ए छैन । अँ छैन, छैन ।
उ रिसले ठिस् हुन्छ । म त झन उसै ठिस् छु ।
मान्छे किन आफ्नो अस्तित्वको दावी गरिरहन्छ ? म साेंच्दै हिँड्छु ।
मलाई म को हुँ ? म किन हुँ ? म छु ? जस्ता कुरा उति साह्रो कहिल्यै थाहा भएन । साेंच्नै छाडिदिएँ ।
बाँचे मृत्यु, मरे जिन्दगी छँदै छ । कति सोंच्नु हाउ ?
बरु उपहार के होला ? कस्ले छाड्या होला ? किन छाड्या होला ? मेरो मनमा यी प्रश्नहरु मडारिन थाले ।
स्मृतिका दिवांगत मितिहरु आउँदा भए, जाँदा भए । कसैको नाम सम्झिए, कसैको अनुहार सम्झिएँ । उपहार दिने मान्छे सम्झिँदा सम्झिँदै मेरो उपचार गर्न पर्ने स्थिति भइसक्यो । ठ्याक्कै यैं होला ? अँहँ यकिनका साथ भन्न सकिंन ।
म अलि छिटो–छिटो लम्किन्छु । जिन्दगी आफैमा यात्रा हो र यात्री पनि ।
म के हुँ ?
जिन्दगी ?
यात्रा ?
यात्री ?
या पुग्नुपर्ने गन्तव्य ?
सुसज्जित शहरबासीको गुप्ताङ्ग धोएर बगेको नाली छेउ छु । अँ यार, बताइएको ठेगाना यहीं थियो ।
नाली छेउ उपहार छाडेर जानेको दिमाग पक्कै खाली हुनुपर्छ ।
जीवन रहस्यमय आश्चर्य हो भन्छन् ज्ञानीहरु । लौ त्यहीं सही ।
मसँग भएको खाम निकालेँ अनि ठेगाना हेरेँ । यहीं पत्र नै हो । भित्र लेखेको पढेँ–उपहार छाडेको छु लिनु ।
के उपहार छाडेको ? त्यो किन नलेख्या होला ?
ठ्याक्कै कहाँ नेर छाडेको त्यो पनि लेख्या भए हुने नि ।
यता उति, यता त्यता जम्मैतिर खोज्न थालँे ।
उपहार के हो ? यो थाहा पाउनु आवश्यक देखँे मैले ।
चुरोट ?
रक्सी ?
कन्डम ?
किताब ?
जुत्ता ?
पेन र डायरी ?
प्रेमपत्र र सम्भोगपत्र ?
यार, के हुन सक्छ ?
ढुङ्गा, माटो र काठ ? ( हैन हैन यी हुन सक्दैनन् ।)
इच्छा, रहर र सपना ? ( तैट, यी त झन् हुनै सक्दैन ।)
कोही बिरामी भएको खबर र कोही आरामै रहिरहेको खबर ? ( कुन्नी यार ।)
अब्बे होला चाइ के ?
खाम फेरि खोल्छु, खुब नियाल्छु । नाम, नम्बर र ठेगाना ( अँहँ केही पनि छैन । उपहार छाडेको छु लिनु ! ) बस् यत्ति बताइएको छ उपहारको बारेमा ।
म आफैले पठाएको त्यो चिठी याद गर्छु । के लेखेको थिएँ, सम्झिन्छु । केही पनि त लेख्या थिएन आखिर । सब्बैथोक त लेख्या थेँ फेरि । लेख्नै पर्ने कत्ति कुरा नलेख्दा नै सुन्दर हुन्छन् यहीं साेंचेर खाली कागज खाममा कोचेर बेठेगान पठाएको थिएँ ।
त्यहीं चिठी, त्यहीं खाली कागज । त्यहीं खाम । सब्बै त्यहीं सब्बै ।
तर उपहार किन आयो ? कस्ले पठायो ?
मैले कुनै त्यस्तो सम्मानित हार पनि बेहोर्या छैन । कुनै त्यस्तो लज्जास्पद जित पनि जित्या छैन ।
म सोचिरहेँ ।
……को होला ? के होला ?
‘झल्लु जी !’, कसैले बोलायो ।
‘हजुर जी ’ मैले बोले ।
बोलाउने मान्छे वरिपरि देखिन ।
‘म क्या म, चिन्नुभो ?’
‘को क्या को ? चिनिंन ।’
‘अनि रक्सी छोड्नुभो । घाट आउन छाड्नु भयो भन्ने सुन्या थेँ ।’
‘अँ छाडेँ ।’
‘अनि फेरि आज किन घाट आउनुभो ?’
‘घाट नभन्नुस्, सुसज्जित शहरबासीको गुप्ताङ्ग धोएर बगेको नाली हो बुझ्नु भो ?’
‘अँ बुझे ।’
‘के बुझ्नुभो ?’
‘सुसज्जित शहरबासीको गुप्ताङ्ग धोएर बगेको नाली हो यो ।’
‘राम्रो । बुझ्नु राम्रो हो । बुझ्नु भो ?’
‘के ?’
‘बुझ्नु राम्रो हो ।’
‘अँ बुझेँ, बुझ्नु राम्रो हो ।’
म सिग्रेट उडाउँछु ।
उ बोल्छ, ‘हत्तेरी । उपहार लिन आउनु भको ?’
‘अँ ।’
‘उ त्याँ छ ।’
‘खै काँ ?’
‘उ त्याँ ।’
‘उ त्याँ’
‘काँ छ ?’
‘उ त्याँ ।’ उ बलिरहेको चितातिर देखाउँछ ।
‘त्यो चिता कसरी उपहार हुन्छ ?’
‘चिता उपहार होइन क्या बुझ्नुस् न यार । नत्र चिन्ता उपहार हुन सक्छ ।’
‘म चिन्ता लिन्न । बुझ्नुभो ?’
‘अँ बुझे ।’
‘के बुझ्नुभो ?’
‘तपाई चिन्ता लिनुहुन्न ।’
‘राम्रो । बुझ्नु राम्रो हो । बुझ्नु भो ?’
‘हत्तेरी झल्लु जी बुझेँ क्या हाउ । उपहार त्यां छ, लिनुहोला । म गएँ ।’
उ गयो । उ भुत्रो जानू, उस्को आवाज गयो । उ बोल्न छाड्यो । पक्कै उ गयो ।
उसले देखाएको ठाउँतिर जान्छु ।
मेरो दुइ थान अल्कोहोलिक आँखालाई बलिरहेको चिताको धुँवाले रुन्चे बनाइदियो ।
बलिरहेको चितामाथि उभ्भेर जलिरहेको लास हेर्छु ।
अनि उपहार खै कहाँ छ ? त्यो पनि हेर्छु ।
अलिक पर केही देख्छु । ओहो यहाँ पो रैछ ।
चिठी नै रहेछ ।
कस्तो मुला ठिस् रच । चिठी पनि उपहार हुन्छ त ? चिनो पो हुन्छ ।
चिठी
कुनै रुँदै पढ्नु पर्ने हुन्छ ।
कुनै हास्दै पढ्नु पर्ने हुन्छ ।
कुनै रिसाउँदै त फेरि कुनै चुपचाप सास रोकेर पढ्नुपर्ने हुन्छ ।
यो कस्तो खाले चिठी हो । बाहिर पाउने र पठाउने कसैको नाम र ठेगाना छैन् ।
ठ्याक्कै मैले नै पठाएको चिठी जस्तो । भित्र पनि केही लेख्या छैन । खाली छ ।
.. एँ रोक्नुस्, रोक्नुस् । पछाडि केही लेखिएको छ । म पढ्छु ।
‘झल्लु जि । आइ लब यु । आइ लब यु भेरी मच् । आइ लब योर्स वोर्ड्स । आइ लिब्स योर्स वोर्ड्स ।… ए एउटा चिनो छ लिनुहोला ।….’
म यता उता हेर्छु । ओइलिएको गुलाब रहेछ । भुइँमा झरेको रहेछ । टिप्छु अनि वासना सुङ्छु । वासना छैन ।
अनि फेरि पढ्छु, ….
“म यै फुल हु । वासना नभएको । वासना हुन्जेल सब्बैले मलाई प्रेम गरे । बैंस हुन्जेल सब्बैको प्रिय भए ।”
“तपाईंले यो पढी रहंदा म जली
तपाईंले यो पढिरहदा म जलिरहेको हुनेछु ।
ए वेट वेट ! मेरो अनुहार नियाल्ने कोसिस नगर्नुस् । म धुवाँ भइसकेको हुन सक्छु । हामी सबै धुवाँ हौँ हैन र माई डियर राइटर ?
म तपाईंले अहिले सम्म नभेटको र नचिनेको तपाईंकी प्रेमिका । म तपाईंले लेख्दै नलेख्नु भएको कथाकी नायिका ।
नामः बेश्या
जातः रन्डी
कामः सुत्नु
दामः ५०० पर रात ! ”