–सुनिल जाेशी
आइतबारको दिन उल्का बर्षा हुने रे । यहीं बारेमा टिभीमा समाचार बजिरहेको थियो । पृथ्वीसम्म पुग्न सक्ने अनुमान वैज्ञानिकहरुद्धारा गरिएको रहेछ ।
“हैन उठ्ने होइन ? बिहानको ७ बजिसक्यो ।” राधाले अमिरलाई उठाउन खोज्दै भनिन् ।
“सुत्न देउन । आज त कस्तो चिसो बढेको छ अनि शनिबार पनि हो ।” अमिरले अर्धनिद्रामा उत्तर दियो ।
राधाले झर्किंदै तिखो आवाजमा भनिन्,“अल्छी ! तिम्ले नै भनेको होइन ! भोलि छोरीको लागि स्कुल बुझ्न छिटै बाहिर जानु छ भनेर ?”
अमिर जुरुक्क उठ्छ फ्रेस हुन वासरुम जान्छ । चिया पिउँदै गर्दा मोबाईलमा उपत्यका भित्रका राम्रो स्कुलहरुको विवरण हेरिरहेको हुन्छ । त्यतिकैमा नोटिफिकेसन बेल बज्छ । फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । अमिरलाई चिनेजस्तो लाग्छ तर कन्फर्म हुन राधालाई सोध्छ ।
“सुन न यस्लाइ चिन्छ्यो तिमी ?”
“ किन नचिन्नु ! तिम्रै कलेजको बेन्च पार्ट्नर शिव होइन र ? कि बिर्सियौ ?” राधाले जवाफ फर्काइन् ।
अमिरले अचम्मित हुँदै भन्यो, “होइन । कसरी बिर्सनु सक्छु त्यसलाई ? यतिका वर्षपछि यसरी देखुँला सोचेको पनि थिएन अनि कस्तो मोटाएको हो भन्या । जुँगा दाह्री पनि पालेको रहेछ ।”
रिक्वेस्ट एसेप्ट हुन्छ, एसेप्ट भएलगत्तै मेसेजको नोटिफिकेसन बेल बज्छ ।
मेसेन्जरमा दुबैजना कुराकानी गर्न थाल्छन् । उनीहरुको संवाद यस्तो रहेको छः
शिव– हेल्लो अमिर सर ! आरामै हुनुहुन्छ ?
अमिर– ओहो ! कता हो सर ? अनि केही खबर छैन ? हामीलाई त पराइ ठान्नु भयो है ? यसरी माया मार्नु त भएन है ।
शिव– हे भगवान् ! जो चोर उसैको ठुलो स्वर ? सम्पर्कबिहीन हुने तँ । आफ्नो दर्शन नदिने तँ । निष्ठुरी तँ । अझ मैले पो खबर नगरेको है ?
अमिर– हाहाहा हैन तैले यस्तै भन्छस भन्ने डरले मैले तेरो मुख टाल्न पहिल्यै भन्या नि ।
शिव– हाहाहा ‘ तेरो सेन्स अफ ह्युमर अझै उस्तै रहेछ । तर अचेल कता छस् ? भुलिस् त हामीलाई, किन हो ?
अमिर– परिवारप्रतिको कर्तव्य पूरा गर्दा–गर्दा साथीहरुप्रतिको कर्तव्य पूरा गर्न बिर्सेछु । आइ एम रियल्ली सरी यार ।
शिव – परिवारप्रतिको कर्तव्य ? बिहे भैसक्यो कोसँग भयो ?
अमिर – भैसक्यो नि । किन तेरो भएको छैन र अझै ? कि बूढो कन्य बस्ने रहर छ ?
शिव– बुढो कन्य हुने रहर त कस्लाई पो हुन्छ र ? रोजेको आफ्नो नहुने, खोजेको राम्री नहुने । तनाब छ यार । खोइ सोच्दा र खोज्दैमा उमेर बित्ने भयो भन्या । मेरो कुरा छाड बरु भाउजूको बारेमा भन्न । कसरी भेट भयो ?
अमिर – तँलाइ याद छ । कलेजले सेमिनार आयोजना गरेको दिन तिमीहरु फुटबल खेल्न गयौ तर मैले सेमिनारमा भाग लिएँ । त्यो बेला उसँग बोलीचाली बढ्यो । पछि बोलीचाली प्रेममा परिणत भयो अनि केही बर्षपछि विवाहमा ।
(शिवले तुरुन्तै फुटबल खेलेपछिको फोटो सेन्ट गर्छ । अमिर फोटो हेर्दै फोटै भित्र एक्छिन हराउँछ । साेंच र मन पक्कै त्यहीं फुट्बल खेलमा गएको हुनुपर्छ । नजावोस् पनि कसरी ? यदि उ पनि खेल्न गएको भए सायद फोटोमा हुन्थ्यो होला । बर्षौ पहिलेको यादहरु ताजा हुने थियो ।)
शिव– ग्रुुपका सबै साथीहरुसँगै छौँ तर तँ मात्र छैनस् । दुःख लाग्छ ।
अमिर– दुःख नमान । जे हुन्छ राम्रोकै लागि हुन्छ । यदि त्यो दिन म फुटबल खेल्न गएको भए सायद आज म आफ्नो परिवारसँगै हुँदैन थिएँ होला ।
शिव– हो केही पाउन केही गुमाउनु पर्छ । फेसबुकमै तँलाइ भेटेर होला । पहिलो वर्षमा कम्प्युटर ल्याब भर्खरै स्थापना हुँदाको क्षणहरु याद आयो । तँलाइ याद छ ?
अमिर– कसरी भुल्न सक्छु र ? कि त फेस्बुक चलाइन्थ्यो कि गुगलमा राजेश हमालको फोटो हेरिन्थ्यो । अझ अरुलाई फेस्बुक आइडी बनाइदिए पछि त झन् ठुलै काम गरे झंै लाग्थ्यो ।
शिव– हो नि । कति सुनौला दिन थिए, फेरि जीउन पाए ती दिन कति रमाइलो हुन्थ्यो है अमिर ?
आफ्नो मनको कुरा सुन्दा उस्लाई पनि ती दिन फिर्ता भइदिए हुने झै लाग्न थाल्छ टोलाइ रहेको अमिर राधाको तयार हुन पर्दैन भन्ने आवाज सुनेपछि होसमा आउँछ ।
अमिर शिवलाई भोलि भेट्ने बाचाका साथ छोरीको लागी स्कुल बुझ्न परिवारसहित बाहिर जान तयार हुन्छ ।
फर्कँदा रात परिसक्ने भएकाले सबै बाहिर रेस्टुराँमा खाना खान्छन् । घर पुगेपछि सुत्ने तरखरमा लाग्छन । केही समयको मौनता तोड्दै अमिर भन्छ ।
“आज म ती कुराहरु सम्झिरहेको छु । जुन कुरा यतिका बर्षसम्म मेरो मष्तिष्कबाट विलीन भएका थिए । सम्झनामा रमाउन पनि सकिरहेको छैन ।”
“आफ्नो विगतलाई सम्झी वर्तमानलाई नजर अन्दाज गर्न सक्दैनौँ । वर्तमान भनेको बग्ने नदी जस्तै हो र बगेको नदी फिर्ता आउदैन । त्यसैले वर्तमानमा रमाउन सिक सम्झनामा होइन,” राधाले जवाफ फर्काउँछिन् ।
अमिर भन्छ,“तर त्यो नदी समुन्द्रमा गएर मिसिन्छ । पछि समुन्द्रबाट वाष्पिकरण भइ पुन: नदी बन्दै समुन्द्रमा मिसिन जान्छ । तर समुन्द्रको पानी धेरै नदीहरुको मिश्रण हो । समुन्द्रमा बग्ने पानी मिश्रित हुन्छ पहिलेको जस्तो शुद्ध हुँदैन । यदि मान्छे आफ्नो विगतमा जान सक्ने भए कति गजब हुन्थ्यो होला है ?”
राधाले ठट्टा गर्दै भन्छिन्, “प्लेनमा कि रकेटमा ? मलाइ भोलि बिहान छिटै बाहिर जानु छ । म त सुतेँ बरु तिमी पनि सुत ।”
राधा लाईट अफ गर्छिन् । एकछिन अन्धकारमा टोलाएपछि अमिर पनि सुत्छ ।
मोबाइलको कर्कश आवाजसँगै अमिर उठ्छ । शिवको फोन आएको रहेछ । अमिरले आज भेट्ने बाचा गरेको थियो । साँझ ५ बजे फलानो रेस्टुराँमा भेट्ने योजना बन्छ । राधा छोरीसित बाहिर गइसकेकी रहेछिन । घडीमा ९ बजिसकेकालो अमिर ब्रेकफास्ट नगरी अफिसतर्फ लाग्छ ।
साँझ ५ बजे फलानो रेस्टुराँमा अमिर र शिवको भेट हुन्छ । करिब १० बर्षपछि भेट भएकाले ह्यान्डसेक नगरी केही बेर अँगालोमा बेरिन्छन् । दुबैका आँखा रसिला देखिन्थे । सायद खुसीको आँशु थियो, जुन भावना आँखाबाट बहन खोज्दै थिए । दुबै आँखा पुच्छन र कुर्सीमा बस्दछन । अमिरले रेष्टुराँमा काम गर्ने दिदीलाई चिया अर्डर गर्छ अनि कुराकानी सुरु हुन्छ ।
शिव– १० बर्ष ५ महिना ३ दिन भयो । हैन कहाँ हराएको थिइस् यतिका दिनसम्म ? केही खबर नै छैन । कमसेकम आफ्नो ठेगाना त छोड्नुपर्छ नि ।
अमिर– खोइ के भनु ? बोल्नलाई केही शब्द नै छैन । तिमीहरुसँग भेट गर्न मन त किन नलाग्नु र लागिराथ्यो नि तर एकपटक मान्छे व्यावहारिक भएपछि पहिलाजस्तो नहुँदो रहेछ ।
शिव– व्यावहारिक भनेपछि याद आयो । तेरो त बिहे पो भएको छ । कोसँग भएको रे ? भेट्न सार्है मन छ उहाँसँग ।
अमिर– उसलाई समय मिलेन आउन । अन्तै जानु पर्ने भयो । तैँले चिन्छस उस्लाई । हाम्रै कलेजको हो । इन फ्याक्ट हाम्रै क्लासकी ।
शिव– कलेजमा तेरो एउटा अफेयर भए त अनुमान लगाउनु । कलेज पुरा भ्याएको थिइस् के गरी अनुमान लगाउनु ?
अमिर– राधा हो उसको नाम । चिनिस ?
शिव– एक मिनेट ! राधा ! राधा अधिकारी ? फस्ट बेन्चवाली चस्मिस ? सिरियस्ली ? अनि हुन नसकेको भाउजूहरु ?
अमिर– लभ इज अल्वेज् कमिङ एन्ड लभ इज अल्वेज् गोइङ….. नो वन इज रियल्ली स्योर यु हु इज लेटिङ्ग गो टुडे ।
शिव र अमिर आफ्नै कुरामा मजैले हास्छन । शिव मोबाइलमा भएका पहिलेका फोटाहरु देखाउँछ । दुबै जना फेरि नोस्टाल्जिक हुन्छन् ।
शिव– आज मैले अनौठो कुरा सुनेँ । फेसबुकमा एउटा स्टाटस पढेको थिएँ । त्यहाँ लेखेको उल्का पिण्ड खसेर बनेको खाडलबाट टाइम ट्राभल गर्न सकिन्छ रे त ।
अमिर– हो र ? कहाँ खसेको ? कसरी ?
शिव– यहीं नै । त्यस पिण्डले ५० मिटरभन्दा ठुलो खाडल पारेको छ रे । त्यहाँ ग्राभिटेस्नल फोर्स यति धेरै छ रे । जसले तँलाइ लाइटको स्पिडमा आफूतिर तान्छ रे अनि लाइटको स्पिडमा ट्राभल गर्न सक्नेले टाइम ट्राभल गर्न सक्छ । लोजिक त ठिक लायो तर फेसबुक र युट्युबको विश्लेषण न हो । कुनै वैज्ञानिक पुष्टि भएको पनि छैन । कस्ले विश्वास गर्छ ?
अमिर – सायद संभव छ होला पनि । नमरी स्वर्ग देखिंदैन । स्वर्ग देख्न मर्नै पर्छ । केही संभावना भएर त त्यस्तो भने होलान नि होइन र ?
शिव– तँ कहिले देखि यस्तो कुरामा विश्वास गर्न लागिस् ? टाइम ट्राभल इज अ मिथ ।
अमिर– मलाइ लाग्दैन कि यो मिथ हो । हामीले दैनिक रुपमा यसको प्रयोग गछौँ । कसरी हुन सक्छ यो मिथ ?
शिव– भन्न के खोजिरहेको छस् ? अलि स्पष्टसँग भन् !
अमिर– अहिले त आफ्नो कारको मद्दतले कुनै गन्तव्यमा केही घन्टामा पुग्न सकिन्छ । जहाँ पहिला पुग्न निकै समय लाग्थ्यो । बाइक, कार, प्लेन यी सबै टाइम मेसिन नै हुन । यसको मद्दतले हामी चाँडो त पुग्यौँ । तर विगत तथा भविष्यमा जाने सायद त्यो खाडल माध्यम हुन सक्छ । यति मात्र भन्न खोजेको ।
शिव– हैन हामी यस्तो फाल्तु कुरा किन गरिरहेका छौँ ? यतिका वर्षपछि भेट भएको छ । रमाइलो पो गर्नुपर्छ त । शिव दुईवटा चिसो बियर र स्न्याक्स अर्डर गर्छ ।
शिव–ए साँच्ची ! तँ अहिले बियर त खान्छस् नि ? कि स्लाइस अर्डर गर्नुपर्ने हो ?
दुबैजना हास्छन र ग्लास जुधाइ चियर्स भन्दै बियर पिउँछन अनि फेरि आफ्नो कलेज लाइफदेखि यहाँसम्मको यात्राको अनुभव साटासाट गर्छन । फोनको घण्टी बज्छ । फोन अमिरको रहेछ । राधाले छिटो घर आउनु भनी कल गरेकी रहेछिन । अमिर शिवसँग र अरु साथीहरुसँग अब रियुनियन पार्टीमा भेट्ने बाचाका साथ छुट्टिन्छन् ।
२)
अमिर छोटो बाटो लिई गाडीमा घर तर्फ जान्छ । जीपीएसले काम नगर्दा गाडी अन्तै मोडिन्छ । केही समयपछि अमिर त्यहीं खाडल नजिक पुग्छ । शिवको कुराले अमिरको खाडलप्रतिको जिज्ञासा अझ बढ्छ र हेर्ने आशयले खाडलको नजिक पुग्छ । खाडलभित्र अँध्यारो र हेर्दा डर लाग्दो देखिन्थ्यो ।
अमिर आफ्नो मोबाईलको फ्लास लाइट बाली हेर्छ तर खाडलले लाइट समेत एबजोर्ब गर्छ । अँध्यारो बाहेक केही देखिंदैन । अमिर त्यस खाडलमा ढुङ्गा फाल्छ तर ढुङ्गा सतहमा ठोकिएको आवाज भने आउँदैन । अमिर अझ ठूलो ढुङ्गा फाल्छ तर त्यसको पनि सतहमा ठोकिएको आवाज आउँदैन । अमिर नियालेर खाडलभित्र हेर्छ । त्यतिकैमा फेरि फोन बज्छ ।
मोबाईलको रिङटोनले अमिर झस्कन्छ । मोबाईल खाडलमा खस्छ । मोबाईल समात्न खोज्दा उ पनि खाडलभित्र खस्छ । केही समयको ब्ल्याक आउटपछि अमिर एउटा बिरान मैदानमा ब्युँझिन्छ । जहाँ ४–५ वटा स–साना ढुङ्गाको साथै ठूलो ढुङ्गा पनि थियो । चारैतिर नजर दौडाउँदा अमिर आफ्नो मोबाईल पनि देख्छ । अमिर खुसीले उफ्रिन्छ । खासमा उ विगतमा थियो । अमिर कलेजतर्फ लाग्छ । केहीबेर कलेजको छेउ कलेजलाई नियालेर हेर्छ । कसैले उसको नाम पुकार्छ ।
दिनेश – अमिर ! कता हराएको हो तँ ? अनि कति छिटो आइ पुगिस ?
अमिर आफूले आफैलाई विश्वास गर्न सक्दैन । दिनेशलाई हेरिरहन्छ । आँखा रसाउँछ । दिनेशलाई हग गर्छ । अमिरको व्यवहार देखेर दिनेश अचम्म मान्छ ।
दिनेश – हैन तँलाइ के भयो ? हिजो साँझ त हो छुट्टिएको ! तँ किन दश बर्षपछि भेटेजस्तो गर्दैछस् ? बरु सुन् आज कलेजले सेमिनार अर्गनाइज गर्ने रे क्लास हुँदैन, हिँड जाऔँ रंगशालामा फुटबल खेल्न । शिव, सन्तोष अनि बिराजहरु उतै आउँछन् रे । हामी टिम मिलेर खेल्नुपर्छ ।
अमिर र दिनेश रंगशालातिर लाग्छन तर अझ पनि अमिरलाई आफू आफ्नो विगतमा आएको विश्वास लागि रहेको हुँदैन । रंगशालामा अमिरको सबैसँग भेट हुन्छ । सबैलाई हग गर्छ । उसको सबै साथीहरु अमिरको व्यवहारदेखि अचम्म मान्छन् । केही बेरको भलाकुसारीपछि टिम बाँडी फुटबल खेल्न सुरु गर्छन् ।
फुटबलमा जित हासिल भएपछि अमिर आफ्नो टिमसित सेल्फी लिन्छ । अमिरको नयाँ र अत्याधुनिक मोबाइल देखेपछि सबै जना अचम्म भएर त्यसको बारेमा सोध्छन तर अमिर चाइनिज मोबाईल हो भनी कुरा टार्छ । शिवले पठाइएको फोटो कुनामा गएर हेर्छ जसमा पहिले अमिर थिएन तर अहिले त्यहाँ थियो । उ खुसीले गद–गद हुँदै साथीहरुतिर फर्किन्छ ।
सन्तोष–अमिर तिमीलाई के भएको हँ ? कस्तो बूढो देखिएको भन्या । २० वर्षको मान्छे ३० वर्षको जस्तो हैन त शिव ?
शिव– हो नि ! कस्तो बूढो देखिएको आज मैले पनि बल्ल ख्याल गरेँ । मलाइ र सन्तोषलाई मात्र यस्तो लागेको हो कि तिमीहरूलाई पनि त्यस्तो लागेको हो ?
सबै हास्छन् । अमिर रिस उठेजस्तो गर्छ अनि चुप लाग् भन्छ । शिवले चारवटा बियर र एउटा स्लाइस अर्डर गर्छ ।
बियर देखेर रिसाँउदै अमिरले सोध्छ, “कसलाइ हो स्लाइस ?”
सबैजना हास्दै, “अकंल तपाईको लागि कि एकदिनमा टेस्ट चेन्ज भयो ?”
जवाफ केही हुँदैन अमिरसँग । उ चुपचाप स्लाइस पिउँछ ।
साँझ हुन आँटेपछि सबै जना भोलि भेट्ने वाचाका साथ छुट्टिन्छन् । अमिर खुसी हुँदै खाडलतर्फ जान्छ । खाडलभित्र कुद्छ र पुनः आफ्नो वर्तमानमा आइपुग्छ । मोबाईलमा फोटो हेर्छ, त्यहाँ आफूलाई त्यहाँ देखेपछि घर तिर लाग्छ ।
घर पुगेपछि घरको आकार र रङ अलि फरक देख्छ । अचम्मित अमिर डोरबेल बजाउँछ भित्रबाट को हो ? भन्ने आवाज आउँछ । अमिर म भन्छ । ढोका खुल्छ तर कुनै अरु नै हुन्छ । राधा हँुदैनिन । अमिर राधाको बारेमा जान खोज्छ । राधा नामको कसैलाई नचिन्ने र त्यस घरमा बस्न लाको ८ बर्ष भइसकेको जनाउँछ । अमिर त्यहाँबाट अन्तै राधालाई खोज्न जान्छ । एक बजेसम्म खोज्दा पनि राधाको अत्तोपत्तो नभएकाले र जसलाई सोध्दा पनि राधालाई नचिन्ने भनेपछि अमिर मिसिङ रिपोर्ट लेखाउन प्रहरी चौकी पुग्दछ ।
अमिर– सर नमस्कार ! मेरो श्रीमती हराएकी छिन् । त्यसैको बारेमा रिपोर्ट लेखाउन आएको ।
इन्स्पेक्टर – हजुर बस्नुस् । नाम भन्नुस् त ? अनि फोटो र बाँकी विवरण पनि दिनुहोस् ।
अमिरले राधाको सबै बिबरण दिन्छ । पुलिस राधाको खोजीमा लाग्न थाल्छन् । अर्को दिन अमिरलाई प्रहरी चौकीबाट फोन आउँछ । अमिर त्यहाँ पुग्छ ।
इन्स्पेक्टर– तपाईंको चाला के हो ? हामीलाई गलत ठेगाना दिने ? पुलिससँग मजाक गर्नुको नतिजा थाहा छ नि हजुरलाई ? त्यो ठेगानामा न कोइ राधा नै बस्छ न तपाईंले दिनु भएको घरको फोटो त्यो घरसँग म्याच नै गर्छ । यो शहरमा लगभग ७० जना राधा नाम गरेका छन तर तपाईंको विवरणसँग कुनै पनि राधासँग म्याच हुँदैन ।
अमिर– तर सर ?
इन्स्पेक्टर– झुठो विवरण लेखाएकोमा ३ महिना कैद र १०,००० जरिवाना हुन्छ भन्ने थाहा छ कि छैन ?
इन्स्पेक्टरले हवलदारलाई अमिरलाई थुनामा राख्न आदेश दिन्छ । अमिर केही बुझ्न सकिरहेको हुँदैन । केही बोल्न सक्दैन । थुनामा कैद हुन्छ । तीन दिनसम्म मात्र साेंचिरहेको हुन्छ कि आखिर के कसरी र किन भयो ? उसको साेंच्ने शक्ति हराइ सकेको थियो ।
पर केही चिनेजस्तो आवाज सुन्छ । शिवको पो रहेछ तर प्रहरीको बर्दीमा देख्दा अचम्म मान्दै बोलाउँछ । शिव पनि कतै चिनेको आवाज सुने झै चारैतिर हेर्छ । अमिरलाई देख्छ अनि उ बसेको ठाउँतिर आउँछ ।
शिव– अमिर ? तँ यहाँ ? कसरी ? यतिका दिनपछि तँलाइ यो अवस्थामा देखँुला साेंचेको पनि थिएन । के भयो ?
अमिर– तर तँ यहाँ किन के गर्दै छस् ? अनि किन प्रहरीको बर्दीमा छस् ?
शिव आफूलाई त्यस जिल्ला प्रहरी कार्यालयको एस पीको रुपमा परिचित गराउँछ र हवल्दारलाई सेल खोल्न भन्छ । अमिर बाहिर आइ शिवलाई अँगालो हाल्दै रुँदै सहयोग माग्छ । हवल्दारलाई खाजाको व्यवस्था गर्ने भन्दै शिव आफ्नो क्याबिनमा अमिरलाई लान्छ ।
शिव– भन किन तँ यहाँ छस् अनि कसरी ? अफ्ठ्यारो पर्दा चाहिने साथी नै हो ।
अमिरले सबै कुरा बताउँछ यो अवस्था आउनुको । तर शिव विश्वास भने गर्दैन । टाइम ट्राभल ! कसले विश्वास गर्छ र ? अमिरले आफ्नो घरको र परिवारको विवरण झुठो दिनलाई पागल नभएको र आफूले तँसँग झुटो बोल्नुको कुनै औचित्य नभएको बताउँछ ।
शिव अकमकिन्छ । उसँग उत्तर भने हुँदैन । शिव विश्वास गर्न भने सक्दैन तर अमिरको सन्तुष्टिको लागि भए पनि सहयोग गर्ने वचन दिन्छ । अमिर अझ विस्तृत रुपमा शिवलाई आफ्नो व्यथा सुनाउँछ ।
शिव– राधासँग तेरो बिहे भएकै छैन भनेपछि उसलाई खोज्नुको के औचित्य ?
अमिर– तँ भन्न के चाहन्छस् ?
शिव– म अझै तेरो कुरामा पुरै विश्वस्त हुन सकेको छैन । तर टाइम ट्राभलको थ्योरीलाई फलो गर्ने हो भने तेरो र राधाबीच राम्रो सम्बन्ध त्यो सेमिनारबाट सुरु भएको रहेछ तर त्यो दिन तँ टाइम ट्राभलको माध्यमबाट हामीसँग फुटबल खेल्न आइस् । सेमिनारमा तेरो र राधाको भेट भएन । सम्बन्ध पनि अघि बढेन । प्रेम भएन अनि बिहे पनि । बिवाह नै भएन भने त तेरो श्रीमती राधा कसरी भई अनि यहाँ घर राधाको अनुरोधमा खरिद गरेको भनिस् हैन तैँले ? बिवाह नभई के को अनुरोध ? तैले विगतमा गएर टाइम म्यानुपुलेट गरिस् । तैँले भनिस् हामी १० बर्ष पछि भेट भइयो तर तँलाइ त मैले गएको महिना नै भेटेको हुँ । हेर ! साधारण भाषामा भन्नू पर्दा टाइम म्यानुपुलेट भएर अल्टरनेटिभ टाइम लाइन कृयट भयो । यो टाइमलाई तँ सायद एक्लो छस् तर अर्को टाइमलाइनमा तेरो श्रीमती राधा नै छ होला तर तँ त्यहाँबाट हराएको छस् अनि तँ यहाँ छस् । म एसपी नभएर तैँले जे भनिस् त्यहीँ छु होला । तैँले समयको नियमलाई चुनौती दिस् । परिणाम भोग्दै छस् ।
शिवको कुराले अमिर निकै बेर गम खान्छ । धेरै बेर साेंचेपछि अमिरले शिवलाई भन्छ, “अब म के गरुँ ? त्यो समयमा फिर्ता जान ?”
उत्तरमा शिव भन्छ,“यदि तैँले साँच्चिकै टाइम ट्राभल गरेको होस् भने फेरि टाइम ट्राभल गर् अनि पहिले जे भएको थियो त्यहीं मात्र गर्नु । समय बलवान छ । तँ समयलाई चुनौती दिन सक्दैनस् ।”
शिवलाई थ्याङ्क्स भन्दै अमिर खाडलतर्फ जान्छ ।
अमिर फेरि विगतमा जान्छ । पहिले जे भएको थियो, अहिले त्यहीं गर्छ । राधासँग सम्बन्ध अघि बढ्छ । बिवाह हुन्छ । बिवाहपछि एक महिना सँगै बस्छ र फेरि खाडलमा गई भविष्यमा जान्छ जुन उसको वर्तमान हुन्छ त्यहीं ठेगानामा पुग्छ । घर जस्तो छाडेको उस्तै देख्छ । अमिर खुसी हुन्छ । बेल बजाउछ तर अर्कै व्यक्तिले ढोका खोल्छ । अमिर अचम्मित हुन्छ अनि सोध्छ,“ खोइ राधा ! उ यहाँ हुनु पर्ने हो ! तपाईं को ?”
ढोका खोल्ने व्यक्ति भन्छ, “अँ यहाँ पहिला बस्नु हुन्थ्यो रे ! उहाँको श्रीमानसँगै तर बिवाहको एक महिनापछि उहाको श्रीमान बेपत्ता हुनुभएछ । आफ्नो श्रीमान खोज्ने क्रममा दुर्घटनामा परी मृत्युु भएछ रे । बिचरीले धेरै दुःख पाइन् रे आफ्नो श्रीमानलाई खोज्दा । बैंकले घर लिलाममा राखेको थियो । बोली मेरो बढी भएर मैले खरिद गरे ।”
अमिरलाई महसुस हुन्छ कि एकचोटि बितेको पल फिर्ता आउन सक्दैन तै पनि विगतमा गएर सुधार गर्ने सोंची खाडलतर्फ जान्छ ।
जहाँ खाडल थियो, अहिले त्यहाँ केही पनि छैन । कतै विलीन भएछ । अमीर झन् आत्तिन्छ अनि वरिपरि हेर्छ । वरपर केही हुँदैन । चारैतिर सम्म परेको भू–भाग देखिन्छ । राधा र छोरीलाई सम्झिन्छ, चिच्याउँछ, तर सुनिदिने कोही पनि हुँदैन प्रकृतिबाहेक । अमिरको चिल्लाहटले हो वा अन्य केही कारणले तर आकाश गज्रन थाल्छ र जमिन थर्किन थाल्छ । अमिर जमिनको कम्पनले भुइँमा थेँचारिन्छ ।
आँखा खुल्छ । बिहानको आठ बजि सकेको रहेछ । मोबाईल भाइब्रेट भइरहेको थियो । थियो । शिवको फोन आएको रहेछ । फोन उठाउँछ ।
शिव– सुन ! आज साँझ भेट्न भ्याउँदिन होला । अफिसको कामले गर्दा अन्तै जानु पर्ने भयो । भोलि भेटौँ न है ?
अमिरले शिवलाई रिप्लाई गर्दैन । बिस्तारै फोन काट्छ । नजिक रहेको ग्लासको पानी पिउँछ । शरीर कामी रहेको हुन्छ । राधाले छोरीलाई पढाई रहेको देख्छ ।
राधालाई आफू सामु देख्दा सपना देखे सरह लाग्छ । गुमाएको अमूल्य उपहार प्राप्तिको अनुभुति हुन्छ । बेडबाट उठेर अमिर राधालाई अँगालो हार्दै कहिल्यै पनि एक्लै नछाड्ने बाचा गर्छ । राधा अमिरको व्यवहारले चकित हुन्छिन् ।
राधा अमिरको निधार समाउँछिन । शरीर असाधारण रुपले ताती रहेको हुन्छ । राधा अमिरलाई अस्पतालतिर लान्छिन् ।