ओ हेनरी उत्कृष्ट दर्जाका कथाकार थिए, एक अद्भुत कलाकार । उनले धेरै लामा कथा लेखेनन् । छोटा कथा लेखे अनि सबैको मनमा बसे । आफ्नो समयको लोकजगतमा निकै ख्याति कमाए । अझै पनि उनको चर्चा गर्ने गरिन्छ । कथा लेखेर विश्व साहित्यमा आफ्नो नाम कोर्न सफल भए ।
ओ हेनरी सन् १८६२ सेप्टेम्बर ११ मा अमेरिकाको उत्तरी कारोलिनामा जन्मेका थिए । उनको खास नाम विलियम सिड्नी पोर्टर थियो । उनी तीन वर्षको छँदा उनकी आमाको निधन भएको भएको थियो । त्यसपछि उनलाई हजुरआमाले स्याहारसुसार गरिन् ।
उनले पन्ध्र वर्षको उमेरमा स्कुल छाडे । त्यसपछि उनले विभिन्न किसिमका जागिरहरु गरे तर टिक्न सकेनन् । जागिर गर्ने क्रममा उनले अहिलेको प्रशिद्ध म्यागजिन रोलिङ्ग स्टोनमा पनि काम गरे ।
बैंकमा काम गर्दा पैसा हिनामिना पारेको आरोपमा उनी पाँच वर्ष जेल बसे । उनले जेलमा बसेर कथाहरु लेख्थे र पत्रिकामा प्रकाशित गर्थे । उनले जेलमा बसेर १४ वटा कथा प्रकाशित गरे । जेलबाहिर आउँदा उनी नामी कथाकार भइसकेका थिए । तीन वर्ष जेलमा बसेर आएपछि उनले आफ्नो नाम ओ हेनरी राखेका थिए ।
उनको कथा भनेपछि पत्रिकाहरु हुरुक्कै हुन्थे । उनले पत्रिकामा कथा दिएर पैसा त कमाए तर पैसा बचाउँदैन थिए । उनको मनमा अनेकन कथाका प्लटहरु आए पनि लेख्न भनेपछि सारै अल्छी गर्थे ।
उनी सन् १९०२ मा न्यू योर्कमा आएपछि उत्कृष्ट कथाहरु रचना गर्न थाले ।कुनै–कुनै सम्पादकहरुले उनको कथाको लागि पहिला नै पैसा दिन्थे । उनले कथा लेखुन्जेल पैसा सकिन्थ्यो अनि त्यहीं कथा अर्को पत्रिकामा दिई पैसा लिन्थे । यसले गर्दा उनलाई कथाको ऋण लागेको थियो । अनेकन बहाना बनाइ उनी जोगिन खोज्थे । कसै– कसैले त मुद्या हाल्छु भन्थे अनि उनी डराएर रक्सी खाइ सुत्थे ।
उनले तीन घन्टामा ‘क्रिसमसको उपहार’ नामक कथा लेखेका थिए । कथा यस्तो थियोः
डेला र जीम गरिब दम्पती थिए । उनीहरुसँग जम्मा दुई बहुमूल्य वस्तु थिए । डेलासँग सुन्दर केश थियो भने जीमसँग अनमोल घडी थियो तर उक्त घडीको चेन खुइलिएको थियो । क्रिसमस नजिकिंदै थियो । डेला आडेला र जीम गरिब दम्पती थिए । उनीहरुसँग जम्मा दुई बहुमूल्य वस्तु थिए । डेलासँग सुन्दर केश थियो भने जीमसँग अनमोल घडी थियो तर उक्त घडीको चेन खुइलिएको थियो । क्रिसमस नजिकिंदै थियो । डेला आफ्नो श्रीमानलाई सुन्दर उपहार दिन चाहन्थी तर डेलासँग जम्मा एक डलर र सतासी सेन्ट मात्र थियो । पैसा नभए पनि उसलाई श्रीमानको लागि केही न केही व्यवस्था गरेरै छाड्ने मनमा संकल्प लिएकी थिई । अनि सोही संकल्पका साथ उ कपडा फेरेर बजार गई आफ्नो सुन्दर कपाल बेची । कपाल बेचेको पैसाले उसले जिमको घडीको लागि चेन किनी । जीमको क्रिसमस उपहारको लागि उसले चेन त किनी तर कपाल बेच्नु परेकाले जीमले गाली गर्छ कि भन्ने डरले घरको कुनामा बसी । जीम आयो अनि छक्क पर्दै डेललाई हेरिरह्यो । डेलाले जीमलाई घडीको चेन दिई तर जीमले आफ्नो घडी बेचेर डेलाका लागि कपालमा लगाउने क्लिपहरु ल्याइदिएको थियो । दुबै जनाले उपहार पाएर दुखी भए अनि फेरि एक अर्काले कति माया गर्दो रहेछ भनेर थाहा पाइ खुशी भए ।
हेनरीको सोपीको कथा पनि निकै राम्रो छ । सोपी एक्लो थियो । उसको आफ्नो भन्ने कोही पनि थिएन । गाँस, बास र कपासको लागि जेलमा गई आनन्दका साथ बस्ने सुरले उनले उपद्रो गर्छ । कहिले उसले होटेलको खाना खाइ पैसा नतिरी हिँड्छ, कहिले झ्याल फोर्छ, कहिले छाता चोर्छ तर उ कहिल्यै पनि प्रहरीको नजरमा पर्दैन । एकदिन उसले गिर्जाघरबाट आएको सुमधुर भजन सुनेर काम गरेर राम्रो मान्छे बन्ने निर्णय गर्छ तर त्यस बेला प्रहरीले देखेर उसलाई लैजान्छ ।
ओ हेनरीले लेखेको अन्तिम पात कथा पनि निकै मन पराइएको कथा हो ।
उनको कथा लेख्ने खुबी गजबको थियो । कथाको अन्त्यलाई सम्झेर उनी कथा लेख्न बस्थे । उनले कुनै पनि कथा दोहोर्याएनन् । उनका धेरैजसो कथाहरु न्यू योर्क सिटीमा आधारित भएर लेखे । उनले पात्रहरु साधारण हुन्थे ।
उनी निकै खर्चालु थिए । पैसाको साथमा एकैछिन पनि नबस्ने । पैसा सबै उडाएर रातभर कथा लेख्न बस्ने । अत्याधिक अल्कोहोलिक भएको कारण उनको स्वास्थ्य बिग्रिदै गयो । सन् १९१० जुन १० मा उनले यस संसार छाडेर गए । त्यति बेला उनी जम्मा ४७ वर्षका थिए ।
हेनरी छोटामिठा कथा लेखेर विश्व साहित्यमा उदाए । उनका कथा हर्ष–अमर्ष, आशा–निराशा, माया पिरतीले भरिन्थे । उनको छुट्टै आफ्नै शैली । विशेष गरी कथाको टुङ्गाइ उनको गजब हुन्थ्यो । सरल तरिकाले उनी कथामा कला भर्थे । अहिले पनि उनी विश्वका उत्कृष्ट कथाकारहरुको लाइनमा गौरवका साथ उभिन्छन् ।