Logo

तीन सुब्बा



Spread the love

–गाेपाल पराजुली

दृश्य १

भ्रष्टहरु मुख छोपेर हिँडिरहेको बेला शेखरले
चोकमा पुस्तक पल्टाइरहेको सरोजलाई एउटा
कविता देखायोः

यो देशमा इमान राखेर हिंड्नेहरु
यो देशलाई सगरमाथा छोडेर जान्छु भन्नेहरु
देशलाई शुभ समाचार सुनाउनेहरु
अगाडि आउन थालेका छन्
देशाअगाडि आउनेहरु
नयाँ जीवनमा
यात्रा गर्न थालेका छन्
देशको भार सम्हाल्नेहरु
शक्तिधारण गर्न थालेका छन्
योद्धाहरु घटनामा जन्मन थालेका छन्
न्यायको याचना गर्नेहरु
खुसी बाँड्न थालेका छन्
बाह्र वर्षसम्म भोकमा बस्नेहरु
ब्रेकफास्ट खान थालेका छन्
सडकमा पछारिनेहरु
उठ्न थालेका छन्
अकाल मृत्युको भयमा पर्नेहरु
चिन्तामुक्त हुन थालेका छन्
धैर्य गर्नेहरु बरदान पाउन थालेका छन्
बरदान दिनेहरु
जनतालाई आयुष्मान भव भन्न थालेका छन्
अवतार लिनेहरु
भूमिको रक्षाको लागि
आदेश दिन थालेका छन्
आमाहरु बच्चाहरुलाई
प्यार गर्न थालेका छन्
भ्गवानको विश्वास गर्नेहरु
संकटको बिरुद्ध
उभिन थालेका छन्
जनतालाई दुखित पार्नेहरु
दुखित हुन थालेका छन्
सत्य बोल्नेहरु
आश्वासन दिन थालेका छन्
जनता
आफ्नो आफ्नो आसनमा बसेर
प्रिय पात्रको
उपासना गर्न थालेका छन्
लुटेराहरु देश फिर्ता गर्न थालेका छन्
चोरहरु
इतिहास फिर्ता गर्न थालेका छन्
भगवान् र भक्तको
एकता भङ्ग गर्नेहरु
भयले काँप्न थालेका छन्
भ्रष्टको पूजा गर्नेहरु
दण्डित हुन थालेका छन्
भक्तहरु
भगवानहरुलाई धन्यवाद दिन थालेका छन्
लुम्बिनी
बुद्धको स्वागत गर्न थालेको छ
गुराँस
हिमालको शोभा दिन थालेको छ
देशमा कोही आउने हल्ला
साँचो हुन थालेको छ ।

दृश्य २

घण्टाघरले ठीक समय देखाउन थालेको बेला बसमा सजलले समीरलाई पत्रिका पल्टाएर एउटा कथा देखायोः

–भ्रष्टहरुलाई छातामा राख्नेहरुको हातबाट छाताहरु खस्न थालेका छन् ।
–पैसामा अनुशासन हुँदैन भन्नेहरु कारबाहीमा पर्न थालेका छन् ।
–भ्रष्टाचारीहरुले देश कसरी बनाउने बालकहरु प्रश्न गर्न थालेका छन् ।
–चप्पल लगाउनेहरुले पजेरो चढेर एक्सिडेन्ट हुन थालेका छन् ।
–राति हिंड्नेहरु धन गाड्न थालेका छन् ।
–इसारा गर्नेहरु आर्थिक आचरण छैन भन्न थालेका छन् ।
–भिनाजुका भाइहरु गाडधन खान थालेका छन्
–सम्पत्तिको सान देखाउनेहरु लज्जित हुन थालेका छन् ।
–धाक देखाउनेहरु मुर्दावाद खान थालेका छन् ।
–मालपोतबाट खर्दारहरु भाग्न थालेका छन् ।
–भन्सारबाट सुब्बाहरु गायब हुन थालेका छन् ।
–करबाट सेक्सन अफिसरहरु बिदा लिन थालेका छन् ।
–मन्त्रालयबाट सचिवहरु पद त्याग्न थालेका छन् ।
–ब्वाँसाहरु खोरमा पर्न थालेका छन् ।
–बाघहरु खोर तोड्न थालेका छन् ।
–चमेराहरु नीति फेर्न थालेका छन् ।
–हीरा पहिरनेहरु औंठी फुकाल्न थालेका छन् ।
–छल गर्नेहरु पाताल गिर्न थालेका छन् ।
–नेताहरु सज्जनको हूलमा छिर्न थालेका छन् ।
–पैसा खानेहरु अय्या भन्न थालेका छन् ।
–सुन खानेहरु कोर्रा खान थालेका छन् ।
–कर्मचारीका घरहरु अभियुक्तका घरहरु बन्न थालेका छन् ।
–नेताहरु व्याङ्कखाता सार्न भ्रमण गर्न थालेका छन् ।
–ठुला घरमा बस्नेहरु गरगहना लुकाउन थालेका छन् ।
–नेताहरु देश लुकाउन थालेका छन् ।
–सापटी, चन्दा, बकस दिनेहरु लुक्ने ठाउँ माग्न थालेका छन् ।
–उच्च जीवनयापन गर्नेहरु सडकमा झर्न थालेका छन् ।
–अस्वभाविक जीवनशैली प्रदर्शन गर्नेहरु घाँटीको हार झिक्न थालेका छन् ।
–अवैध सम्पत्ति आफ्नो भन्नेहरु घरबार त्याग्न थालेका छन् ।
–अवैध आर्जन गर्नेहरु अर्को ढंगले हिंड्न थालेका छन् ।
–लुकीछिपी सम्पत्ति कमाउनेहरु सिङ्गमरमरमा लड्न थालेका छन् ।
–अभियुक्तहरु माथिकालाई पोल्न थालेका छन् ।
–बगलीमा देश राखेर हिंड्नेहरु ज्योतिषीलाई भेट्न थालेका छन् ।
–अख्तियार हुनेहरु छापा मार्न थालेका छन् ।

दृश्य ३

पजेरोहरु अगाडिबाट कुदिरहेको बेला बिक्रमले
प्रमोदलाई सडकमा एउटा नाटक देखायो :
त्यो पजेरोमा जाने नेता हो !
कुन नेता ?
यो शहरमा सबभन्दा बढी भाषण गर्ने नेता !
यस नेताको परिचय जनतालाई कसरी दिने ?

जनताले यस नेतालाई चिनेको छ !
मैले चिनेको छैन ।
तिमी जनता हौ ?
जनता हुन हक प्राप्त गर्दैछु ।
तिमी त्यो प्राप्त गरुन्जेल म तिमीलाई त्यस नेताको
परिचय दिन्छु ।
परिचय ?
प्रथम परिचय ।
प्रथम परिचय ?

त्यो नेता ब्रेकफास्टमा एउटा कुरा बोल्छ ।
ब्रेकफास्टमा एउटा ?
लन्चमा एउटा कुरा बोल्छ ।
लन्चमा एउटा ?
डिनरमा एउटा कुरा बोल्छ
डिनरमा एउटा ?
कक्टेलमा एउटा कुरा बोल्छ
कक्टेलमा एउटा ?

यो उसको प्रथम परिचय !
नेता भएर यति धेरै कुरा बोल्न पाइन्छ ?
यो उसको प्रथम परिचय हो ।
म उसको द्धितीय परिचय पाउन चाहन्छु ।
म नेताको तृतीय परिचय पाउन चाहन्छु ।
म नेताको तृतीय परिचय पाउन चाहन्छु ।
म नेताको चतुर्थ परिचय पाउन चाहन्छु ।
म नेताको पञ्चम परिचय पाउन चाहन्छु ।
म नेताको अन्तिम परिचय पाउन चाहन्छु ।
यो परिचय दिनु हुँदैन ।
किन हुँदैन ?
नेताको अन्तिम परिचय हुँदैन ।
नेपथ्यः १,२– हामी दर्शक हौँ, नाटक गर्नेहरुले केके गर्छन्, हामी हेर्दै जाऊँ ।
नेपथ्यः १७– यो काम नाटकका मात्र सीमित हुन्छ ।
(टिभीमा ) एउटा संवाद चलिरहेको थियो :

– हाम्रो पार्टीमा कोही पनि भ्रष्टाचारी छैनन् ।
–हाम्रो पार्टीमा कोही पनि भ्रष्टाचाी छैनन् ।
–हाम्रो पार्टीमा कोही पनि भ्रष्टाचाी छैनन् ।
–हाम्रो पार्टीमा कोही पनि भ्रष्टाचाी छैनन् ।

(प्रश्नकर्ताले मुसुमुसु हाँसेर जनतातिर फर्केर भन्योः देख्नुभो दर्शकहरु, हाम्रा नेताहरु के भन्दै हुनुहुन्छ ?)
(प्रश्नकर्ता मौन बस्यो ।)
(वक्ताहरु बोल्दै गए ।)
(प्रश्नकर्ताको मौनताले जित्यो ।)
(तीन सुब्बा भ्रमण आदेश स्वीकृत गराएर सडकबाट हिँडिरहेका थिए ।)

प्रतिक्रिया दिनुहोस्