–हरि न्याैपाने
जब थला परेको उन्नाईस दिनपछि कोठाबाट झिकेर तुलसीको मठ नजिकै सुताइयो तब उसले नैतिक दबाबमा आफ्नो बाँच्ने इच्छा मरेको घोषणा गर्यो । त्यो पनि आफूले आफैसँग ।
अब बाँच्नु भनेको पाप हो । मर्नै लाग्दा अब केही दिन बाँचेर अलच्छिना हुन उसको मनले मानेन । मानोस् पनि कसरी ? बुहारी नाता नातिनिले डाँको छाडिसकेका थिए । पार्टीको क्षेत्रीय भेलाबाट आज बिहानै फर्केको छोरोलाई अलि पर आफन्तीले खासखुस गरेर केही सम्झाउदै थिए ।
घामले क्षितिजलाई छुने हतारमा छिटोछिटो पाइला चालिराखेको थियो ।
“विधि पुर्याउन पनि त समय लाग्ला । बाँस चाहियो, बाध्ने डोरी बाट्नु पर्ला । खोलो नि परै छ । अब नि सास नछोडे मलामीलाई फर्कंदा ढिला हुन्छ,” उसले मनमनै आफैलाई भन्यो ।
ऊ किक्लिक किक्लिक गर्न थाले पछि डाँकोको आवाज ह्वात्तै बढेर गयो । जम्मा भएका आफन्तीले पालै पालो मुखमा पानी चुहाइदिन थाले । पानी सर्किएपछि बुढाको प्राण ज्यान छाडी वायुमण्डलमा तैरियो । उसले त्यहींबाट आफ्नो अन्तिम संस्कार चियाउन थाल्यो ।
केही हरिया बाँस ल्याइयो । “कति महङ्गो हो बाँस ? एक घना कै डेढसय रे !” कसैले छोरोलाई सुनाएपछि उसले आफ्नो निधारमा तीन चारवटा समानान्तर रेसा बनायो । “घनाको डेढसय” छोराले मन मनै दोहोर्याएका उसका ओठहरु चलेको देख्दा वायुमण्डलमा तैरिराखेको बाउ खिन्न भो । करिब पच्चीस बर्ष पहिले छोराको प्रचण्ड इच्छापछि एउटा दुई बित्ताको मुरली सय रुपैयाँमा किनिदिँदा नि उसलाई महङ्गो लागेको थिएन ।
“दाइले मरे पछि देवघाटमा अन्तिम संस्कार होस भन्ने इच्छा राख्नु भको थियो बाबु, कति नै टाढा हो र ? त्यहीं सय सवासय किलोमिटर त होला । अन्तिम इच्छा पुरा गर्दिने कि ?” काकाको कुरा सुनेर छोरोको कन्चट तातेर आयो ।
सायद बाउले जिन्दगीभर आफ्नो लागि गरेको कामको एक प्रतिशत मात्र नि सम्झन सकेको भए देवघाट पुर्याउनु सामान्य कुरा हुन्थ्यो तर आधुनिक साम्यवादी पार्टीको सक्रिय सदस्य भएको र आफ्नो पार्टीको अथक प्रयासले मात्र शासकीय व्यवस्थामा परिवर्तन आएको अन्धविश्वासमा चुर्लुम्म डुबेको छोराले काजकिरिया गर्नु पनि आफ्नो पार्टीको नीति विपरित हुने भनी आफ्नो पार्टीको सिद्धान्त विरुद्ध आफू नजाने भन्दै कड्कियो ।

उसको गर्जनले उपस्थित सबै स्तब्ध भए । कथित कम्युनिस्टका ढोंगी सिद्धान्तका सामु समाजको सनातन धर्म–संस्कृति निरीह बन्दै थियो । बुढापाकाहरु कलियुग छिप्पिदै गएकाले सुस्केरा फाले अनि जवानहरु आधुनिकता भित्रिएको हो कि भनी अक्क न बक्क परे ।
बाउ जीउँदै हुन्थ्यो त ऊ आफ्नै आँसुमा चुर्लुम्म डुब्थ्यो होला। तर आत्माका आँसु आएनन । न त ऊ डाँको छोडेर रुन सक्यो । आफ्नो अन्तिम संस्कार विधि अनुसार भए स्वर्ग जान पाइने विश्वासले तीन छोरीमुनि जन्माएको छोरोले आज आफ्नै आशलाई थप्पड हिर्काएको थियो । त्यहीं छोरो जन्माउँदा प्रसव पीडाले परलोक भएकी आफ्नी पत्नीलाई सम्झ्यो उसले । श्रीमतीको त राम्रैसँग अन्तिम संस्कार गरेको थियो, स्वर्गमा बास नै पाउने गरेर । मरेपछि श्रीमतीसँगै बस्ने उसको इच्छामाथि ठुलो घात लागेको थियो । अन्तिम संस्कार नि पूरा नभए खै कसरी स्वर्गमा बास होला र ? सम्झेरै उसले उदेकको सास फेर्यो ।
हरियो बाँसमा बाँधेर सेतो कात्रो ओडाएपछि उसलाई आर्यघाट लैजान उठाइयो । क्षेत्रीय भेलामा थाकेको हुनाले बोक्न नसक्ने भन्दै छोराले लास बोक्न इन्कार गर्यो । शङ्ख फुक्दै बुढाहरु अघि लागे भने टिला टिप्न पाउने आसमा भुराभुरीहरु लासको पछि पछि दौडिए ।
स्वर्ग जान पाइने बुढाको आस बिस्तारै मर्दै गयो । सायद कम्युनिस्टहरुको कुनै स्वर्ग हुँदैन । उनीहरुका कुनै ईश्वर हुँदैनन, न त धर्म नै हुन्छ । त्यसैले जिउँदो छँदा गरेको पापको सजाय मरेपछि उनिहरुले भोग्नु पर्दैन । उनीहरु खोक्रो सिद्धान्तमा चल्छन् जुन सिद्धान्त उनीहरुको इच्छा अनुसार परिवर्तन हुन्छ । सायद सनातन धर्म उनीहरुको चाहना अनुरुप परिवर्तन हँुदैन । त्यसैले समाजको अधोगति हुनुमा सम्पुर्ण दोष उनीहरु धर्मलाई दिन्छन्, उपहास गर्छन, आस्थालाई पोलेर खान खोज्छन् । रीति–रिवाजको धज्जियाँ उडाउँछन् । न ब्रतबन्ध गर्छन्, न दशै मनाउँछन्, न त काजकिरिया नै गर्छन् ।

दसैंमा लगाएका जमरा टीका, रक्षाबन्धनमा लगाएका जनै, देवालीमा बाँधिएका धजा र तिजमा गरिएको शृङ्गार उनीहरुलाई नेपाली गरिब हुनुको मुल कारण लाग्दछ । समृद्धिको सपना देखाउँदै गरिएको गृहयुद्धले हजारौँ विधवा, हजारौं टुहुरा र हजारौँ अपाङ्ग मात्र उत्पादन गरेन नेपालीलाई धर्म रीति–रिवाज र सांस्कृतिक रुपमा कंगाल बनाउन पनि खोज्यो । सनातन धर्म नै मासिए कसरी बाँच्छ नेपाली मन ? चितामा चढाउदै गर्दा बुढाले मन मनै आफैलाई प्रश्न गर्यो ।
चितामा जल्दै गर्दा उसलाई चिताको ज्वालाले भन्दा आफ्नो बीउबाट कुलंगार जन्मिएको पश्चातापले बढी पोल्यो । उसलाई आफुले गरेको सबैभन्दा ठुलो पाप यहीं हो जस्तो लाग्न थाल्यो । जुन पाप अक्षम्य छ । लास जल्दै जाँदा बिस्तारै उसको आत्मा आकाशतिर उड्न थाल्यो । उसले एक नजर धर्तितिर लगायो । त्यहाँ सबै थिए, मात्र छोरो थिएन । सायद सम्पत्ति खानलाई लाज नहोस् भनेर दाग बत्ती मात्र दिन आएको थियो । यस्तासँग तेह्रदिने काजकिरियाको आश गर्नु मुर्खता बाहेक अरु केही हुँदैन थियो । उसले यमराजलाई सम्झियो । सजाय दिनका लागि बनाइएका तेल तताउने कराइ सम्झियो, सम्झियो पापीहरुलाई काट्न धार लगाएर राखिएका हतियारहरु । नर्कमा अनेक सजाय भोग्नुपर्ने डरले उसको होस हवास सबै उड्यो । उ करिब–करिब बेहोसीको हालतमा पुग्यो ।
एक्कासि निदबाट उठ्दा उ आफ्नी श्रीमतीको काखमा सुतिराखेको थियो । मिठो मुस्कानसँगै श्रीमतीले उसलाई स्वर्गमा स्वागत गरिन् । छोरीहरुले अन्तिम संस्कार पुरा गरिदिएको कुरा सुनेपछि उसका आँखा एक्कासि रसाएर आए । उसले बलिन्धारा आँशुसहित रुँदै भन्यो, “मैले छोरोलाई मान्छे बनाउन सकिन ।”
“हाम्रो छोरो भिरबाट खस्न लागेको गोरु हो, राम राम भन्न बाहेक केही गर्न सकिन्न,” श्रीमतीले सम्झाउने प्रयास स्वरुप भनी ।
बुढाले सशंकित हुँदै प्रश्न गर्यो, “अनि हाम्रो सनातन धर्म के होला ?”
“ हाम्रो धर्म संस्कृति घना जङ्गल हो । एउटा गोरु भिरबाट खस्दा दुईचार रुख भाँचिने मात्र हुन। ती फेरि पलाउँछन् । चिन्ता नगर्नुस् जति गोरु भिरबाट खसे पनि एउटा घना जङ्गल कदापि नष्ट हुँदैन, ” श्रीमतीको उत्तरले बुढाको मन हलुका भयो र भन्यो, “स्वर्ग कस्तो रहेछ, हेर्ने इच्छा छ । यस्सो घुमाइदेउ न ।”