Logo

संसद महत आक्रोशित- छाउगोठका नाममा घर भत्काउने? बस दुर्घटनामा मान्छे मर्छन्, के आगो लगाउने?



Spread the love

१७ माघ, काठमाडौं । जुम्लाका नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउपडी गोठमा महिलाको मृत्यु भएको भन्दै छाउपडी गोठ भत्काउन थालेकोमा आपत्ति जनाएका छन् । उनले गैरसरकारी संस्था एनजीओले छाउपडी गोठ भत्काउने अभियान चलाएको भन्दै आक्रोश व्यक्त गरे ।

बैठकका सांसद गजेन्द्रले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाए । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको उनको आरोप छ ।

‘हाम्रो गाँउ घरतिर उखान छ । काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काइएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’ उनको प्रश्न छ ।

‘८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ, बस भत्काउँदै आगो लगाउदै हिँड्ने ? यो पनि तरिका हुन्छ ? चाँहिदो काम गर्नुपर्यो नि ।

जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन । पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनु छैन । ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तीनलाई कारवाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ । अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?’महतले सरकारलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्