आज फेरि मन अमिलो भयो ? आखिर किन मन दुख्छ ? के का लागि दुख्छ ? के मेरो भोलिदेखिको दिनचर्यामा केही सुधार आउँछ ? यदि सुधार आउँदैन भने किन मन अमिलो हुन्छ ?
कहिलेकाहीँ मन निकै हतासिन्छ । अनि एकचोटि आफ्नो जीवनलाई फर्केर हेर्न मन लाग्छ । मैले के आश गरेको थिएँ र प्रगति गर्नलाई ? जसरी कालीगन्डकीले खस्रा ढुङ्गालाई थिचेर शालिग्राम बनाउँछ त्यसरी नै मैले जीवनमा कुनै साधना गरेँ र ? होइन भने यी सब बकवास कुुराहरु मनमा किन आउँछन् ? म दिनदिनै यी प्रश्नहरुबाट गुुज्रिरहन्छु । आफैले आफैलाई खियाउँछु ।
घरीघरी मलाइ चिन्ताले चिता पुर्याउँछ भन्ने लोकोत्तिको याद आउँछ । म हातको रेखामा विश्वास गर्दिन । लाग्छ मलाइ मेरो जीवनको रेखा मसँग छैन या ती रेखाहरु बिस्तारै हराउँदैछन् । यानेकी म यस विचित्रको संसार छाडेर जाँदैछुु । अनि उमेर नपुग्दै माथि पुग्नलाई मैले के नै पो गरेको छु र ?
मैले जानेअनुुसार अधिकांश नाम कमाएका मानिसहरु उमेरमै मरेका छन् । बाँचेका छन् त केवल बोझहरु मात्र जो आफ्नो बाहेक अरुको बारेमा केही सोंच्न सक्दैनन् । अनि म आफूले आफैलाई हेर्न मन लाग्छ । आखिर तैंले के नापिस् र ? के गरिस् ? हुने बिरुवाको चिल्लो पात भनेझैँ सानोबाट लक्षण देखिन्छ । तैंले के लक्षण देखाइस् त ? के छ तँसँग त्यस्तो ? बल्ल मन शान्त भयो । यानेकी म धेरै बाँच्नेछु । बाँच्नु पनि के भन्नु र खोइ ? अङ्ग्रेजीमा के भन्छ अँ सफर भन्छ क्यारे । बाँच्नु भनेकै सफर गर्नु त हो होइन र ? सफर पनि कस्तो कस्तो के नमिलेजस्तो । घरीघरी सिसिफसको कथाजस्तो लाग्ने, घरीघरी इडिपसजस्तो । अझ समग्रमा भन्दा ती भन्दा अझै निर्दयी भनम् न । वाक्क लागेर मर्न पनि त कहाँ सकिएको छ र ? हामी सबैलाई थाहा छ कि बाँच्नुु भनेको भविष्यमा मर्नु हो । जन्मेसँगै मर्नुपर्ने कुरा पनि सँगै आउँछ तर पनि हामीलाई मर्न डर लाग्छ । अझै धेरै बाँच्न मन लाग्छ ।
विकृतिपूर्ण जीवनमा संगति खोज्दै बाँच्नुको पनि मजा छुुट्टै नै छ । अधिकाँश मानिसहरुलाई अझै पनि जीवनको संगति भन्ने थाहा छैन । हुुन त सबैलाई कहाँ थाहा हुुन्छ र ? म आफूलाई अरुभन्दा पृथक ठान्दिन । म पनि अरुजस्तै हाडछालाले नै बनेको मानिस हुँ । अरुले जस्तै सास म पनि फेर्छुु । तर आफ्नो सिद्धान्तमा रहेर बाँच्न निकै गाह्रो छ । हामीलाई आफू अनुसार चल्ने अधिकार समाजले बन्चित गरेको छ । समाजको इशारामा चल्ने कठपुतली बनिएको छ । फलानो गर ढिस्कानो गर, त्यसो नगर उसो नगर ब्ला ब्ला ब्ला ।
मनमा अनेक किसिमका सोंचहरु आउँछन् । ती सोंचहरुलाई हामीले नियन्त्रण गर्नसक्नुपर्छ । तर नियन्त्रण भन्ने कुरा सबैको वसमा हुँदैन । अनेक किसिमका सोंचहरु आउनु राम्रो कुरा हो तर अनेक किसिमका सोच ती व्यक्तिलाई मात्र आउनुु जरुरी छ जसले ती विचारहरु केलाएर निष्कर्षमा पुग्न सकुन् ।
कुुराको चुरो पत्ता लगाउन नसक्ने मानिसहरुलाई त सामान्य जीवन नै सही । आनन्दले सुत्न त पाइन्छ । बेकारमा किन कपाल फुलाउने ? किन छाला चाउरी पार्ने ? किन दुखी हुने ?
निष्कर्षविहीन कुराको कुनै तुक छैन । तर गएका केही वर्षयता ममा यस्ता खालका बकम्फुसे कुराहरुले एकक्षत्र राज गरिरहेका छन् । यस्ता खालका तुकहरु आउँदा अगिल्लो जन्ममा म सिसिफस र इडिपस थिएँ जस्तो लाग्छ । तिनीहरुले गरेको पाप त्यो जन्ममा पखाल्न नसकेर अहिले मैले पखाल्न खोज्दैछु । फरक छ कि मैले ढुङ्गा बोक्न परेन, आँखा घोंची अन्धो भइ मर्न परेन ।
जीवनमा सबैभन्दा बढि आवश्यक पर्ने चिज के हो ? भोजन ? प्रेम ? यौन ? व्यक्तिपिच्छे फरकफरक उत्तर आउनसक्छ । यी सबै कुुराले जीवनमा ठुुलो प्रभाव पार्छन् । व्यक्तिको हर कुुराको निर्धारण यी चिजले गर्छन् जस्तो लाग्छ मलाइ ।
सबैभन्दा अचम्मको कुरा यो लाग्छ कि मानिसहरुले नियम बनाउँछन् यद्यपि यहाँ कुनै नियम छैन, कुनै पर्खाल छैन । कुनै जात छैन, धर्म छैन । जे जे बने ती सबै व्यक्तिले बनाए । अधिकांश बनेका नियमहरु निश्चित वर्गलाई प्रत्यक्ष फाइदा दिने बने । लुट्न सक्नेले मजाले लुटे, लुट्न नसक्नेले हेरेर बसे ।
मानिसहरु जीवनको बारेमा अनेक कुुरा गर्छन् । यस्तो उस्तो भन्दै । म अरुको परिचय सुन्दासुुन्दा वाक्क भइसकेँ । कसैले चित्तबुुझ्दो कुुरा गर्दैनन् । आफूलाई भने यो मानव जीवन केही पनि लाग्दैन । यो कपडाले ढाकेको मानवीय सभ्यता सब बकवास लाग्छ । धेरै कुरा बुझेर हो कि धेरै कुरा बुझ्न नसकेर हो पत्तो पाउन सकेको छैन । सायद मेरो तेस्रो आँखा धेरै चलेर हो कि ?
गन्तव्यविहीन विचारको यात्रापथमा हिँड्दाहिँंड्दै म थाकिसेको छु । यद्यपि म आफ्नो जीवनबाट भने थाकेको होइन । जीवन जीउन त्यति गाह्रो छैन, जति मानिसहरुले सोच्छन् । मानिसहरुले आफैले जीवनलाई भारी बनाएका हुन् । जीवन सरल नै हुुनुपर्छ । तर विचार भने सरल भएनन् । विचार र जीवनबीचको तालमेल कता कता नमिलेजस्तो लाग्यो । आफ्नै मनमा आउने विचारहरुलाई मैले नियन्त्रण गर्न सकिंन । यहीं पढ्दा पनि थाहा पाउनुुभएको होला कि म कति बगिरहेको छुुु । विचारलाई काबुुमा पार्न नसक्दा म भित्रभित्रै शैतान भइसकेको छु । त्यहींभर आजकल म आफूलाई शैतानको उपमा दिएको छु ।
अझ मेरो मभित्रको जुन घृणा छ त्यो बाहिर देखियो भने के होला ? धन्न म घृणालाई भने दबाउन सफल भएको छुु । मानिसहरू भन्छन्, घृणा लुकाउ प्रेम देखाउ तर पनि कहिलेकाहीँ जान्दाजान्दै घृणा प्रकट हुुन्छ । आखिर प्रेम कहाँ हुुन्छ ? हृदयमा ? अनि घृणा ? घृणा कता बस्छ मलाइ थाहा छैन । दिमागलाई थाहा छ घृणा राख्नुहुन्न भनेर । दिमागलाई कसले सम्झाउँछ ? दिमागले मान्ने भए म यो तुकबिनाको विचारको यात्रापथबाट उहिल्यै बाहिर निस्किने थिएँ ।