५ पुस, काठमाडाैँ – नेपाल सरकार राष्ट्रिय योजना आयोगले खोटाङ जिल्लालाई आर्थिक वर्ष २०७६÷७७ का लागि रु २६ करोड ५९ लाख १२ हजार ९२८ बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानबापत विभिन्न १४ वटा योजना सञ्चालन गर्ने गरी उक्त बजेट थप गरेको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार समपूरक अनुदानमार्फत पूर्वाधार क्षेत्रमा बाक्सिला–सप्तेश्वर–कादेल सडकका लागि रु एक करोड ३६ लाख, विद्युत् विस्तार गर्न हलेसी तुवाचुङ नगरपालिका–२ बाहुनीडाँडाका लागि रु एक करोड ७७ लाख, बाटोफेदी मोटरेबल पुलका लागि रु एक करोड १२ लाख बजेट छुट्याइएको छ ।
यस्तै, विद्युत् सेवाबाट वञ्चित रहेका क्षेत्र र समुदायमा विद्युत् सेवा उपलब्ध गराउने योजना तथा कार्यक्रमका लागि रु ६८ लाख, बराहापोखरी तालको पदमार्ग निर्माणका लागि रु २७ लाख र पोखरी क्षेत्रभित्र भवन निर्माण शीर्षकमा रु २१ लाख बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र शीर्षकअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत वडा कार्यालय भवनहरु निर्माण आयोजनामा रु एक करोड २५ लाख र गाउँपालिका भवन निर्माणका लागि रु ७१ लाख विनियोजन भएको राष्ट्रियो योजना आयोगले जनाएको छ । यस्तै, समपूरक कोषअन्तर्गतकै आर्थिक क्षेत्र शीर्षकमा इन्द्रेणीपोखरी पर्यटन क्षेत्र विकासमा रु २२ लाख बजेट परेको छ ।
आयोगले सार्वजनिक गरेको विज्ञप्तिअनुसार विशेष अनुदानअन्तर्गत शिक्षा शीर्षकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र न्यून साक्षरता भएका क्षेत्रको शैक्षिक विकासका लागि विद्यालय क्षेत्र पूर्वाधार सुधार आयोजनाअन्तर्गत रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
खानेपानी शीर्षकमा लिच्किराम्चे खानेपानी योजना खोटेहाङका लागि रु २५ लाख, जन्तेढुङ्गा खानेपानी योजनाका लागि रु एक करोड, रावाबेँसी गाउँपालिकामा ठाडोखोला–हरमटार मुहान, खार्पा खानेपानी योजना, पालिकास्तरीय खेल मैदान शीर्षकमा रु ५० लाख विनियोजन भएको छ ।
खोटेहाङ गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि रु २० लाख बजेट विनियोजन भएको योजना आयोगको आधिकारिक वेब साइडमा उल्लेख छ । बजेट विनियोजन भएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खुशी व्यक्त गरेका छन् ।