२२ मंसिर, काठमाडाैँ – सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नै परीक्षाको मर्यादा नराखेको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई लेख्न लगाइएको पाइएको छ ।
बाहिर अन्य व्यक्तिलाई नै लेख्न लगाइएको उत्तरपुस्तिकापछि वास्तविक कभरपेजमा नत्थी गरी गैरकानूनी काम गरेको अभियोगमा आयोगले आज चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक तेजनारायण चौधरीमार्फत उत्तर पुस्तिाका साटेर गर्न लगाएको पाइएको छ ।
चौधरीले सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी पुस्तिका साटफेर गरेको पाइएको छ । परीक्षार्थी आलेमगर र कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरेको आयोगको अध्ययनमा फेला परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उत्तरपुस्तिका साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिने दिलाउने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।