२१ कात्तिक, काठमाडौं । इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
युभेन्ट्सले खेलको तेस्रो मिनेटमा राम्सीको गोलबाट सुरुआती अग्रता लिएको थियो । खेलको १२ औँ मिनेटमा घरेलु टोलीका लागि अलेक्सी मिरान्चुकले बराबरी गोल फर्काएका थिए । खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्याउन सहयोग गरे । समूह ‘डी’मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको छ । मस्कोको मात्र ३ अंक रह्यो ।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ । पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा च्याम्पियन्स लिगमा लिभरकुसेनले ३ अंक जोडेर तेस्रो स्थानमा छ ।