१९ कार्तिक, काठमाडाैँ – मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको ५औँ पूर्ण बैठकले निर्वाचन परिचालन समितिसहितका विभिन्न उपसमिति गठन गरेको जानकारी दिए ।
घोषित कार्यक्रमअन्तर्गत कात्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्दै जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने, २३ गते पार्टी अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने उनले जानकारी दिए।
त्यस्तै २४ गते निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटै वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरिएको उनले बताए । बैठकले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेकोे छ भने ११ वडामा वडास्तरीय निर्वाचन कमाण्ड कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै श्रीनाथ बरालको संयोजकत्वमा जनवर्गीय मोर्चा सङ्गठन परिचालन कमिटी गठन गर्दै पार्टीले उक्त कमिटीअन्तर्गत आर्थिक व्यवस्थापन, प्रचारप्रसार, युवा परिचालनलगायत विभिन्न २६ वटा उपसमिति गठन गरिएको थापाले जानकारी दिए ।
अघिल्लो निर्वाचनमा आठ हजार ५४२ मत अन्तरले पार्टी विजयी भएको बताउँदै उनले यस निर्वाचनमा थप पाँच हजार मतसहित विजयी बन्ने दावी गरे ।
निर्वाचन परिचालन सम्बन्धमा निर्वाचन आयोगले तोकेको रु २५ लाखको परिधिमा रही प्रचारप्रसार गर्ने थापाको भनाइ छ । नेकपाले कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
यसअघि कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । नेकपाका उम्मेदवार भट्टराई स्व अधिकारीकी धर्मपत्नी हुन् ।