Logo

निष्ट एलपिएलको तयारी पूरा



Spread the love

१५ कार्तिक, धनगढी – शनिबारदेखि यहाँ सञ्चालन हुने ‘लिटिल फ्लावर प्रिमियर लिग’ (एलपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक संस्कार क्रिकेट एकेडेमीले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले मैदान, पिच, सजावटलगायत सबै काम सकिएको बताउनुभयो । उनले सहभागी हुने सबै टिम धनगढी पुगिसकेको जानकारी दिए । कात्तिक २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने शाहीले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १५ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरले जनही रु पाँच हजार तथा हरेक खेलका ‘म्यान अफ द म्याच’ले रु एक हजार ५०० पुरस्कार प्राप्त गर्ने छन् । लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० खेलाडी तथा चार १९ वर्षमुनिका राष्ट्रिय टोलीका क्रिकेट खेलाडी समावेश गर्न सकिने अयोजक संस्थाले जनाएको छ ।

विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले चार वर्षदेखि यहाँ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिँदै आएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा प्रतियोगिताको चौथो संस्करणको ट्रफी आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य विक्रम विष्ट तथा नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्