Logo

त्यसैले गाउँ फेरिएको छ !



Spread the love

 

खोई कुन कुराले हो हिन्दुहरुले दशै र तिहारलाई महत्त्वपूर्ण बनाए । तर, अहिले विश्वभरी फैलिएका नेपालीहरु जोड्ने ठुलो माध्यम बनेको छ । दशै र तिहार । अमेरिकाको ह्वाइटहाउस या आइफेल टावर वा बुर्ज खालिपाको अगाडि उभिएर खिचेको फोटो सामाजिक संजालमा ठूलो अक्षरमा क्याप्सन राखेर `ह्यप्पी दशै´ लेखेपनि गाउँमा दाउराले अगनोमा पाकेको खसीको मासुको स्वाद जस्तो सायद आउँदैन होला जस्तो लाग्छ ! सौभाग्यवश अहिलेसम्म यी दुई चाड गाउँघर भन्दा बाहिर मनाउनु परेकाको तितो अनुभव छैन । अनुभव नै नगरेको कुरा यस्तो होला उस्तो होला भनेर महाअनुभवी बन्न त अलि सुहाउँदैन होला । गाउँभन्दा बाहिर यी चाड मनाउन पर्छ कि  ? भन्ने कुरा सोच्दा पनि शरीर जिरिङ्ग हुने गरेकोले अलि गाह्रो हुन्छ कि ? भन्ने लागेको मात्र हो ।

अब अनुभवका कुरा गरौं । गाउँमा पहिले सबैका घरमा लौरु र बगेर्नु भैंसी हुन्थे । प्रायः भैंसी ब्याउने साउन र भदौमा हुन्थ्यो । प्राकृतिक रुपमा हुने भैसीको ब्याउने कुरा मान्छेले साउन भदौमा नै ब्याउने कुरा कसरी मिलाए होलान् । यो कुरा आजभोलि म अलि बढी सोच्छु ।
भैंसी लौरुबाट बगेर्नु हुन थालेपछि बैइ (हजुरआमा ) ले मेरो माइला अंकललाई `माइला भैंसी बगेर्नु खोज भन्थिन्´ । भैंसी किन्दा प्रायः किलो पुगेको किन्ने चलन थियोे । हामी लख्यालखी केराटी (केटाकेटी) लाई खास किलो पुग्ने भनेको केहो थाहा नै हुँदैन थियो । तर, घरमा ब्याउने भैसिको किलोपुग्ने मिति त थाहा हुन्थ्यो । भैँसिको किलो पुगेको दिनदेखि केराटीका लागि छुट्टै खुसीको दिन हुन्थ्यो । कसैलाई गफ दिनु पर्‍यो भने बडो छाती फुलायर भनिन्थ्यो `हाम्रो भैसिको किलो पुइगो´।

खासमा किलो पुग्ने कुरा अलि उमेर बढेपछि थाह भयो । व्याउने समय पुगेको रहेछ । भैंसी वा गाई व्याएपछि तीन दिनसम्म भैंसी को त पाँच दिनमा धार हाल्ने हुन्थ्यो । तीन दिनसम्म छिगौतो दूध खुब खान पाइन्थ्यो । तीन देखि पाँच दिन पछि धार हाल्ने ( देवालाई चढाउने ) काम हुन्थ्यो । बल्ल मोही वा दहि बनाउने काम सुरु हुन्थ्यो । भैंसी दुहुनो नहुने घर कम हुन्थे । ब्याउने भएको भैंसीको किलो पुगेको दिनदेखि राती ब्याउने हो कि जस्तो लाग्थ्यो । हरेक रात सुत्नुभन्दा अगाडी बाइ गोठ हेरेर आउथिन । प्राय रातिको सपना भैंसी ब्याएको देखिन्थ्यो । दहि र दुध त धेरै खाना पाइदैनथ्यो । तर मोहि भने जति पनि खाना पाइइने । कहिलेकाही दुध ठेगोमा राखेपछि बईले कुराउनी बनाउँथिन् । मकैको रोटीमा कुराउनी राखेर क्रीम विस्कुट जस्तै बनाएर खानुको मज्जा सायद अरु कुनै खानु छैन होला ।

केराटिको लागि दशैको मासु अर्को महत्त्वपूर्ण पर्व हुन्थ्यो । मैले कतिपटक बैशाख महिनाको सपनामा पनि दशैमा मासु खाएको सपना देखेको छु । अरु संङले (साथीहरुले) पनि मलाई यस्ता सपना देखेको कुरा सुनाउथे । हाम्रा लागि सपनाको दशै पनि कम्ती महत्वपुर्ण हुन्थेन । घरमा पलिएको बाख्रोले बोको पायो भने त्यो प्रायः दसैंको लागि भन्ने गरिथ्यो । त्यसलाई अरु भन्दा अलि बढी सेवा चाकरी गरिन्थ्यो । विद्यालय बिदा भएको दिन त्यही बोको मात्र लिएर पनि हामी चराउन जान्थ्यौं । गेडा लाग्न सुरु गरेको मकै काटेर खुवाउथ्यौ ! हाम्रो संस्कृतिको विकृतिको सुरुवात यस्तै कुराबाट हुन्छ जस्तो लाग्छ । जोसँग प्रत्यक्ष लाभ धेरै पाइन्छ त्यसैको धेरै चासो राख्न लगाउने बानिको सुरुवात यस्तै कुराले गर्दा भएको हो कि भन्ने शंका गर्ने ठाँउ देखिन्छ । दसैंमा पैसा दक्षिणा दिने चलन त्यती थिएन । दशै केटाकेटीको लागि मुख्य रुपमा मासुकै लागि थियो ।

त्यसपछिको दोस्रो महत्त्वपूर्ण थियो `तिहार´ । गाउँमा अहिले जस्तो दशथरी रोटी हुदैनथ्यो । मात्र फिनी हुन्थ्यो । फिनी बनाउने दिन केराटिको काम हुन्थ्यो , दाउरा खोज्ने । ठूलो उत्सव जस्तै हुन्थ्यो । फिनी प्रायः रातिमा बनाउने चलन थियो । अहिले गाउँमा न दाउरा छन् न फिनी बनाउने दिन दाउरा खोज्ने केराटि छन् । भैली खेल्ने टोलि पहिलेदेखि तयार हुन्थ्यो । त्यो करिब तीन महिना अगाडिबाट थपिने र छुटिने संख्या घटबढ भईरहन्थ्यो । त्यो कुरा टिमको मुख्य व्यक्ति भट्याउने र मादल बजाउनेसँगको व्यवहारले निर्धारण गर्थ्यो । शिक्षकका छोराछोरीको थप महत्त्व हुन्थ्यो । भैली लेख्ने काम शिक्षकले गर्ने र छोराछोरीले भट्याउने हुन्थ्यो ।

गाउँका हरेक घरहरु अहिले वृद्धहरुका आश्रयस्थल जस्तै छन् । लगभग सबै जसो घरका छोराछोरी सुखको खोजीमा दु:ख गर्न घर बाहिर छन् । कोही नेपालका विभिन्न ठाउँमा फिजिएका छन् । कोही अरब, कोहि युरोप, त कोही अमेरिकी मुलुक रुमलिएका छन् । युरोप र अमेरिकी मुलुक पुग्ने बाआमाको छुट्टै सान छ । छोराछोरीले प्रयोग गरिसकेपछिका आइफोन , आइप्याड पठाइदिएका हुन्छन् । अरब भुमिमा फस्ने र नेपालमा नेपाली मुद्रा कमाउनेहरुको हैसियतले आइफोन किन्ने औकात राख्दैन जस्तो व्यवहार ती वृद्धहरु गरिरहेका हुन्छन् भन्ने देखिन्छ ।

नेपाल र अरबमा बस्नेले पनि आफुले प्रयोग गरि सकेपछिका विभिन्न ब्रान्डका मोबाइल फोन पठाइदिएका छ्न् । दुरसञ्चार कम्पनीले दिएको विभिन्न अफर भ्वाइस प्याक लिएर हरेक दिन छोराछोरीसँग फोनमा कुरा गर्छन् । पुरुष वृद्धले डाडा प्याक लिएर फेसबुक पनि चलाउन जानेका छन् । मार्क जुकरबर्गले यस्तो चिज बनाए कि मान्छेहरुले अंग्रेजी भाषा र प्रविधिको ज्ञान तालिम बिना सिकाउने मंन्त्र नै बनाए । खास गरि अरबमा गएका छोराछोरीले घरमा एउटा टि. भि. पनि पठाइदिएका छन् । घरमा बाआमाको मुख्य काम भनेको मध्य दिउँसो जम्मा भएर तास खेल्ने यसो बेलुकी पख बोइलर कुखुराको मासुसँग टुच्छ लगाउने हुन्छ । आमाहरु विभिन्न बचत समुहका बैठक तथा डिसहोमको सहायताको टि भि हेर्नमा भुल्लिन्छन् ।

फेरिएको छ गाउँ आजभोलि । न किलो पुग्ने भैंसी छ, न बगेर्नो न लौरो भैंसी छ्न् । न बैशाखमा नै दसैंको मासु खाएको सपना देख्ने केराटी छन् । फारम भर्नुपर्दा पेशा कृषि लेख्ने किसान धेरै छन् । तर बिडम्बना खेतीपाती छैन । त्यसैले गाउँ फेरिएको छ !

प्रतिक्रिया दिनुहोस्