Logo

पुरु लम्सालसँग रंगमञ्चको कुरा – अन्शु खनाल



Spread the love

पुरु लम्साल नेपाली साहित्य तथा नाटकमा नौलो नाम होइन । नुवाकोटको हल्देकालीकाको वडा नम्बर  ९ मा जन्मिएका पुरु बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनका ठुलीका सपनाहरू नाटक सङ्ग्रह २०६७, आधा जलेको खप्पर गजल सङ्ग्रह २०६८, अर्को ओरालो नाटक सङ्ग्रह २०७१, देश हराएका मान्छेहरू नाटक २०७२, पानी घट्ट नाटक सङ्ग्रह २०७४, नौगेडी नाटक २०७५,वर्जित मान्छेहरू वृत्तचित्र २०७० लेखन, अनि हरिभक्त फर्किएनन् वृत्तचित्र २०७२, गाजल लगाइनछ्याै गजल एल्बम २०६८ आदि प्रकाशित छन्।

उनी बि.डी त्यागी नाट्य सम्मान २0६८, कपन बानेश्वर साहित्यिक साप्ताहिक, देशभक्त नाट्य सम्मान २०७४, देशभक्त गणतान्त्रिक मञ्च, व्यास कला सम्मान २०७५ व्यास नगरपालिका दमौली, सहयात्री सम्मान २०७५ सहयात्री दर्पण नेपाल, अन्तरङ्ग कला सम्मान २०७५ लमजुङ, भानु उत्कृष्ट सिर्जना सम्मान २०७५ काठमाडौँ, गीतल प्रभात राष्ट्रिय युवा पुरस्कार २०७५ तनहुँ, सांस्कृतिक संस्थान सम्मान २०७५ आदिबाट सम्मानित छन्।

उनले उत्कृष्ट गीतकार राष्ट्रिय जागरण गीत प्रतियोगिता रेडियो नेपाल २०७३, प्रथम अन्तर्राष्ट्रिय गजल प्रतियोगिता २०७५ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, द्वितीय राष्ट्रिय कविता महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठान २०७३, सान्त्वना पुरस्कार क्षेत्रीय नाटक प्रतियोगिता सांस्कृतिक संस्थान २०६२ आदि पुरस्कारहरू प्राप्त गरेका छन्।

उनले अहिलेसम्म जालीको जाल सोझाको काल, चेलीको वेदना, घर ज्वाइँ, पर्खाल भित्र पर्खाल, डा साइको, मेरा लासहरू, ठुलीका सपनाहरू, सालिकहरूको देश, गीतै गीतको गाउँ, हिउँ फुल्ने गाउँ, अर्को ओरालो, अमर मातृत्व, शून्य डिग्री, फड्के, पानी घट्ट, नौगेडी, याँमीत, टाँकीकाे फुल साथै दर्जनौँ नाटकहरूमा लेखन, निर्देशन तथा अभिनय पनि गरेका छन्।
साथै, उनको नाटक नौगेडी काठमाडौँको कालिका स्थान स्थित सर्वनाम थिएटरमा भाद्र २७ देखी असोज १२ सम्म मञ्चन भइरहेको छ।
प्रस्तुत छ उनै पुरु लम्सालसँग सल्लेरी खबरको लागि अन्शु खनालले गरेको कुराकानी:

नौगेडी नाटकको यात्रा कसरी तय भयो ? अलिकति भन्दिनुस् न ।

म नुवाकोटको एउटा गाउँमा हुर्केको मान्छे, जुन परिवेश मैले नाटकमा प्रस्तुत गरे त्यो परिवेश मैले बाचेको छु । बच्चा बेलादेखि नै म विद्रोही स्वभावको मान्छे थिए । म ब्राह्मण परिवारको मान्छे, मेरो मामाघरको हजुरबुबा पण्डित हुनुहुन्थ्यो । म जहाँ हुर्किए, त्यो समाज जातीय भेदभाव, छुवाछुत आदिको साङ्लोले बाँधिएको थियो । चाहेर पनि म ती कुराहरू एक्लै तोड्न सक्ने अवस्थामा थिइन । मलाई यो कुराले नमज्जा लागिरहन्थ्यो । म मामाघरमा बसेर हुर्किएको सबैले मलाई भान्जा भन्नुहुन्थ्यो, म लुगा सिउने मामाको पनि भान्जा थिए, म हँसिया बनाउने मामाको पनि भान्जा थिए । म त्यहाँको सबै जातजातिको भान्जा थिए ।मलाई के लाग्थ्यो भने म बाहुन मामाको घरमा भने खान हुने, लुगा सिलाउने मामा, हँसिया बनाउने मामाकोमा चाहिँ खान नहुने,  किन होला भनेर म सोचिरहन्थे। मलाई लामो समय देखि लागिरहेको थियो कि मैले यो चिजलाई कहाँ प्रस्तुत गर्ने ।अहिले पनि समाजको अवस्था त्यही छ, धेरै ठाउँमा छुवाछुत, भेदभाव जस्ताको तस्तै छ । जति नै आदर्शको कुरा गरे पनि मान्छेले त्यो कुरा चाहिँ व्यवहारमा उतार्न सकिरहेको अवस्था छैन । मलाई यही चिजले छोइरहेको थियो त्यसलाई अहिले कसरी सामाजिक कथावस्तुसँग जोड्न सकिन्छ त भनेर एउटा प्लट तयार पार्दै गर्दा त्यसमा वर्तमान राजनीति अलिकति जोडे, नुवाकोटको पूर्वी भेग चेलीबेटी बेचबिखनको प्रभावित क्षेत्र हो, त्यहाँका धेरै माइलीहरू बेचिएका छन् । पहिले पहिले त यति सम्म सुनिन्थ्यो कि छोरी जन्मेपछि घरमा भोज लगाउने किनकि छोरी हुर्किए पछि त बम्बै बाट आफ्नो शरीर बेचेर पैसा कमाएर पठाउँछे र घरमा टिनको छानो फेर्न पाइन्छ, चामलको भात खान पाइन्छ भन्ने सपना बाउआमाले देख्थे। यो खालको कुराहरू सुन्दा चरम गरिबीले मान्छेलाई त्यहाँसम्म सोच्न बाध्य बनाउँदो रहेछ सजिलै महसुस गर्न सकिन्छ । अझै पनि यी चिजहरू यथावत् नै छन् । मान्छेहरूको अलिकति चेतना विकास भए पनि त्यो समाज त्यही छ । परिस्थितिले मान्छेलाई त्यही ठाउँमा पुर्‍याइरहेको छ । त्यसलाई मैले कसरी लेख्ने भनेर सोचिरहन्थे । खासमा नौगेडी उपन्यास लेख्छु भनेर सुरु गरेको थिए पहिले तर मलाई लाग्यो नाटक लेखे भने प्रस्तुत पनि गर्न पाउँछु, त्यही कारण मैले यसलाई नाटक बनाए, नाटक लेखे।

नाटकले उठाउन खोजेको मुख्य मुद्दा के हो ?

जातीय छुवाछुत र पुरातन नेपाली संस्कार, सकिनै लागेको निष्ठा र आदर्शको राजनीति, बेरोजगार युवाहरूको अवस्था र वेश्यालयबाट फर्केर समाजमा पुनर्स्थापित हुन सङ्घर्ष गरिरहेकी महिला, यस्ता फरक-फरक पात्रहरू जो एउटै समाजमा बाचिरहेका छन् । यी चार मुद्दाहरू यस नाटकमा देख्न सकिन्छ।

नाटक लेखन र अभिनयमा सजिलो कुन ?

मलाई सबैभन्दा सजिलो लेख्न लाग्छ। सायद म अभ्यस्त भएर पनि होला। विषयवस्तुको उठान देखि कथावस्तुको छनोटका हिसाबले मलाई लेखन नै सजिलो लाग्छ।

नाटक र साहित्यको सम्बन्ध के छ र कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

नाटक पनि साहित्य कै एउटा विधा हो। कविता गजल संरचनाको हिसाबले छोटो हुन्छ, मान्छेले पढ्छ, चिया खादै गर्दा पनि सुनाएर कमजोरीहरू गर्नुपर्ने सुधारहरू सबै एकैपटकमा थाहा पाउन सक्छ । तर, नाटक चाहिँ दृश्य विधा भएको कारण लेखेर मात्रै नाटक पूर्ण हुँदैन । जब नाटक मञ्चन हुँदैन तबसम्म त्यो अपूर्ण नै हुन्छ । नेपाली साहित्यमा एकदमै कम लेखिने विधा नाटक तर रुचाउन चाहिँ एकदमै धेरै मान्छेले रुचाउँछन् । तर, नाटक पढेर केही अर्थ नरहने हुँदा हेर्ने दर्शकहरू चाहिँ अन्य विधामा भन्दा कम नै हुनुहुन्छ। साहित्य र नाटकको सम्बन्ध सुमधुर छ र हुनै पर्छ।

नाटक देश बाहिर पनि मञ्चन भइसक्यो देश बाहिर र देशमा मञ्चन हुँदा कस्तो फरक पाउनु भयो ?

हामी सीमित स्रोत र साधनमा काम गरिरहेका छौ । कलाकारको अभिनय, लेखकको लेखन र निर्देशकको निर्देशन मात्रै पनि नाटक होइन । प्राविधिक पक्षबाट पनि बलियो हुनुपर्छ । नेपालमा अझै पनि एउटा नाटक गर्ने टिम वा संस्थाले अर्को नाटक गर्ने टिमको अस्तित्व स्विकार्ने अवस्था छैन । तर, विदेशमा नाटक गर्दा मैले एउटा सिकेको कुरा एकअर्काको सम्मान हो । उमेरका हिसाबले मेरो बुवाको उमेरका निर्देशकहरुले पनि हाम्रो नाटक हेरिसके पछि खुट्टा ढोग्न आउनु भयो । त्यो कुरा मलाई नै राम्रो लागेन तर पनि हाम्रो टिमले राम्रो नाटक देखायो त्यो कारण हामीलाई सम्मान गर्न त्यस्तो गर्नुभएको हो । हामी कहाँ त्यो चलन छैन, हामी चाहिँ तिन महिनाको क्लास लिन्छौ, पचासौँ वर्ष नाटक गरिसकेका गुरुहरूलाई पनि चिन्दैनौँ, चिने पनि वास्ता गर्दैनौँ । यो गलत संस्कृति हो । बङ्गलादेश र कलकत्तामा नाटक गर्दा धेरै सिनियरहरूले हाम्रो नाटक मन पराउनु भयो । त्यसपछि मलाई लाग्यो प्रस्तुतिका हिसाबले हामीसँग धेरै टेक्नोलोजी त छैन । इन्टरनेशनल लेभलको नाटक घर पनि छैन, सीमित स्रोत र साधनमा नाटक चलाए पनि विषयवस्तुका हिसाबले नेपाली नाटकहरू बलिया छन् । हामीले हाम्रै संस्कृति हाम्रै परिवेशलाई ल्याउँदा बलियो नाटक बन्ने रहेछन् भन्ने महसुस भयो । नेपालमा चाहिँ नेपाली नाटक गर्नेलाई भन्दा विदेशी नाटक गर्नेलाई मात्रै राम्रो मान्ने चलन पनि छ । तर, वास्तवमा कला बुझ्नलाई चाहिँ देश बाहिर गएर देखायो भने अझै बुझिने रहेछ।

भेदभाव रहित समाज बनाउन अझै कस्ता काम हुनुपर्छ जस्तो लाग्छ ?

समाज एक वा दुई जनाले चाहेर बदलिँदैन । एक वा दुई जनाले त्यो अपेक्षा राख्नु पनि बेकार हो। जबसम्म मान्छेको चेतना, चिन्तन परिवर्तन हुँदैन समाज परिवर्तन हुँदैन । म बाचेको समाजले मलाई जे सिकायो म त्यही समाज बाचिरहेको हुन्छु । तर, अहिले पहिले भन्दा मान्छेहरू साक्षर भएका छन्, धेरै कुराहरू परिवर्तन भएको छ र समाज पनि बिस्तारै परिवर्तन हुँदै छ।

समाजको मानसिकता र अवस्था आज जहाँ छ त्यसमा लेखकहरूको योगदान/दोष के छ जस्तो लाग्छ ?

लेखकले आफ्नै परिवेश लेख्ने हो । उसले आफैले बाचेको परिवेशलाई कल्पना गर्छ । लेखक समाज प्रति सधैँ उत्तरदायी हुनुपर्छ । कहिलेकाहीँ लेखकले लेखेका कुराहरू उ आफैले पालना गर्न नसक्ला तर, उसले लेखेको रचनाले समाज रूपान्तरण र मान्छेको सोच परिवर्तन गर्छ वा गर्दैन यो कुरामा चाहिँ लेखक सचेत हुनुपर्छ।

तपाईँको लेखनलाई मूर्तरूप दिन के गर्नुहुन्छ ?

म लेखेका कुराहरूलाई सम्पादन गरिरहन्छु । नाटकहरू पढ्छु । कुन पात्र कसरी ल्याउने, के गर्ने, के नगर्ने त्यसमा काम गरिरहन्छु ।

तपाईँले अहिले नाटकको बजार कस्तो पाउनु भएको छ ?

नेपालमा व्यावसायिक रङ्गमञ्च भर्खरै बामे सर्दै गरेको अवस्था छ । तर, नाटक मात्रै गरेर मात्रै बाच्न सक्ने स्थिति चाहिँ तय भएको छैन । त्यसका साथसाथै नाटकमा लगानी गर्ने मान्छेहरू पनि नभएको कारण बजार कम भएको जस्तो लाग्छ। नेपालमा अझै पनि सांस्कृतिक, सामाजिक नाटकहरू जसरी आउनु पर्थ्यो त्यसरी आइरहेको छैन।

अहिले थिएटरमा मिटु लगायतका कुराहरू चलिरहेको बेला तपाईँको नाटकले बजारमा कस्तो छाप छोडेर जान चाहनुहुन्छ ?

हरेक पटक हिंसा हुँदा मात्रै बोल्ने गर्नु हुँदैन जस्तो लाग्छ । किनभने शोषण हरेक क्षेत्रमा हुन्छ जहाँ जति बेला हुन्छ त्यति बेला नै आवाज उठाऊ सक्नु पर्छ वा सम्बन्धित ठाउँमा पुर्‍याउनु पर्छ । जो माथि शोषण भएको छ त्यो गलत हो, जसले शोषण गर्नुभएको छ उहाँहरू गलत हुनुहुन्छ । काम गर्नु भन्दा पहिले म यो मान्छेसँग काम गर्दा सुरक्षित हुन्छु भन्ने भएपछि मात्रै गर्नुपर्छ । कसैलाई त्यस्तो शोषण भइरहेको छ भने आवाज उठाउन जरुरी छ त्यसमा हामी सबै लाग्नुपर्छ किनभने त्यो गलत हो । मैले नौगेडीमा पनि चेलीबेटी बेचबिखनको विषय उठाएको छु, त्यो पनि शोषण हो । म चाहिँ कुनै पनि किसिमको हिंसा नसहन भन्छु।

रङ्गमञ्चमा नयाँ आउने पुस्तालाई के भन्न चाहनु हुन्छ ?

यही तपाईँ रङ्गमञ्चमा धेरै समय दौडिन चाहनु हुन्छ भने त्यही खालको मानसिकता बोकेर आउनुस् । म सिक्छु म गर्छु भनेर आउनुस् । रङ्गमञ्च भनेको निरन्तरता हो, साधना हो, र रङ्गमञ्च भनेको सम्मान हो।

नाटकलाई माया गर्ने दर्शकलाई केही भन्दिनुस् न।

नाटकलाई माया गर्ने दर्शकलाई म के भन्न चाहन्छु भने हरेक नाटक हेरिसकेपछि कमीकमजोरी भन्दिने, रूपान्तरणको लागि यसरी पनि जान सकिन्छ भनेर धारणा राख्दिने बानी गरौँ । छलफल गरौँ, छलफल पछि बल्ल निचोड निस्किन्छ र हामी नेपाली नाटकलाई धेरै माथि लान सक्छौ।

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्