Logo

ट्रम्पले सोधे- के छ नेपालको खबर



Spread the love

९ असाेज, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् । रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो । मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो ।’

अमेरिकाले उच्चस्तरीय सम्बोधन आरम्भ भएकै दिन हरेक मुलुकको टोली नेताको स्वागतका लागि रात्रिभोज दिने प्रचलन छ । रात्रिभोजमा १ सय ९० भन्दा बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख, मन्त्री, राष्ट्रसंघीय महासभा डेलिगेसन प्रमुखलगायत सहभागी थिए ।

७२ आंै महासभामा नेपालको तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटलको गेटमा पुगेर फर्कनुपरेको थियो । डेलिगेसन हेड तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो न्युयोर्क पुग्दा रात्रिभोजमा महरालाई पठाइएको थियो। तर, उनले प्रवेश पाएनन् । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्