गैर-दलित साहित्यकारहरूले हामीलाई कमजाेर पात्रमा राखिदिन्छन् ।
वि.स. २०४३ साल भदौ २० गते बेथान-४, रामेछापमा बुबा गाेपाल नेपाली र आमा सुकुमाया नेपालीको कोखबाट जन्मिएका विक्रम पवन परियार नेपाल आर्मीमा कार्यरत छन्। उनी नेपाली सेनामा रहेर पनि नेपाली साहित्यलाई निकै माया गर्छन्। उनी निकै सशक्त कविता लेख्छन्। उनका “जलेकाे मुटु (गजल सङ्ग्रह -२०६८)” र “माैन सालिक(खण्डकाव्य- २०७२) प्रकाशित छन्। साथसाथै उनका विभिन्न पत्रपत्रिकामा फुटकर कविता, गजल गीत प्रकाशित छन् ।
उनी कविता र गजलसँगसँगै गीत लेखनमा पनि उत्तिकै सक्रिय छन्। उनका ‘सुस्ता घट्याे, टिस्टा घट्याे’, ‘मृत्यु शैय्या’, ‘जिन्दगीमा आयाै’ जस्ता गीतहरु रेकर्ड भएको छ र केही गीतहरू रेकर्डिङकाे क्रममा रहेकाे छ।
कवि/गीतकार विक्रम पवन परियारको प्रकाशित कृतिहरू : ‘जलेको मुटु’ र ‘मौन सालिक’
प्रस्तुत छ : अक्षर संवादका लागि कवि/गीतकार विक्रम पवन परियारसँग सल्लेरी खबरका अन्शु खनालले गरेका कुराकानी:
अन्शु- तपाईको लेखन यात्रा कसरी शुरु भयो ? र, पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
विक्रम- सर्वप्रथम त कवि, पत्रकार अन्शु खनाल बहिनीलाई धन्यवाद छ ।
भन्नू पर्दा मेराे लेखन यात्रा निमावि तहबाटै शुरु भएकाे हाे । म सात/ आठमा पढ्दा देशमा द्वन्द्व थियाे । मैले त्यहि समयमा जनवादी गीत लेखेँ । त्याे गीत स्कुलमा हुने प्राेगाममा धेरै गाइन्थ्याे । मन खुसी पनि हुन्थ्याे ।
अझ भन्नू पर्दा- मेराे विगत भनाैँ, जब आमाकाे मृत्यु म तीन बर्ष हुँदा नै भयाे तब मलाई आमाकाे अभाव भयाे । बिस्तारै बुझ्ने भएँ । आमाकाे यादमा तड्पिरहेँ । त्यसपछि लेख्न र पढ्न जान्ने भएपछि त धेरै जसाे आफ्नाे दु:ख पीडा कविता र गीतमा उतार्न लागेँ । त्यसपछि साहित्य नै मेराे साथी भयाे । अझै पनि मेराे साथी साहित्य नै हाे, जसले मलाई बुझेकाे छ । म अहिले देशकाे सुरक्षा तल्लिन छु । लेख्न चाहिँ अलि सुस्ताएकाे छु ।
अन्शु-तपाईं नेपाली सेनामा हुनुहुन्छ,ब्यारेक भित्र रहेर लेख्न कति सहज छ,अनि सेना भएकै कारण तपाईंको लेखनमा असर पुगेको छ र ?
विक्रम- ब्यारेक भित्र बसेर लेख्न कठिन छ । किन कि हामीलाई कानुनले बाँधेकाे हुन्छ । तर खुसी छु । नेपाली सेना यस्ताे संस्था हाे जसले देशलाई आफ्नाे छातीमा राखेकाे छ । म पहिला नेपाली सेनाकाे कर्तव्य निभाउँछु अनि फुर्सदकाे समयमा साहित्यमा पाेखिन्छु । सेनामा बसेर लेख्न कठिन छ किन कि लेख्नकाे लागि समय कमै हुन्छ, तैपनि म खुसी छु ।
अन्शु-लेखनमा के को मुद्दा उठाउन रुचाउनु हुन्छ ?
विक्रम- म आफ्नाे लेखनमा आफ्नै मुद्दा र आफू जस्तै भुइँमान्छेकाे कथा, ग्रामीण समुदायकाे कथा र देश र जनताकाे विषय आफ्नाे कविता र आर्टिकलमा उतार्न भरपुर प्रयास गर्छु । भुइँमान्छेकाे कथा, कविता वा साहित्यमा उतार्न जटिल छ । मलाई जटिलतासँग समाना गर्न मन लाग्छ । फेरि लेख्नकाे लागि यहि मुद्दामा केन्द्रित भएर लेख्छु भन्ने कुरा पनि हैन नि ! जति बेला जुन घटनाले छुन्छ त्यहिबेला कविताकाे पृष्ठभूमि तयार गर्छु अनि पछि लेख्छु ।
म आफ्नाे लेखनमा आफ्नै मुद्दा र आफू जस्तै भुइँमान्छेकाे कथा, ग्रामीण समुदायकाे कथा र देश र जनताकाे विषय आफ्नाे कविता र आर्टिकलमा उतार्न भरपुर प्रयास गर्छु । भुइँमान्छेकाे कथा, कविता वा साहित्यमा उतार्न जटिल छ । मलाई जटिलतासँग समाना गर्न मन लाग्छ ।
अन्शु- भनिन्छ नि, – ‘एउटा राम्रो कवितामाथि एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ ।’ नेपाली समालोचनाको अवस्था के कस्तो पाउनुभएको छ ?
विक्रम- हाे, राम्राे कवितामाथि राम्रो समालोचनाकाे खाँचाे छ तर नेपाली साहित्यमा एकाध बाहेक राम्रो समालोचक नै छैन भन्दा फरक नपर्ला । तपाईं आफैँ पनि कविता बुझेकाे मान्छे, कवितालाई कविताकै आँखाले हेरियाेस् भन्ने कवि हुनुहुन्छ । अझ मैले भन्दा बढी नियाल्नु भएकाे हाेला ।
नेपालमा समालाेचना गर्न सजिलाे ठान्नेहरू धेरै छन् । समालाेचनाकाे नाम दिएर धेरैले कुण्ठा पोख्ने गरेका छन् । तर त्यसाे गर्नु राम्राे हैन । याे किन पनि यस्ताे भयाे भने बजारमा साहित्यकाे गुट उपगुट ज्यादा भयाे । एउटा गुटले अर्काे गुटका कविहरूकाे कवितालाई स्विकार गर्नै सक्दैन । अब भन्नुस् त नेपालमा समालाेचक छन् ? फेरि याे पनि साेचाैँ कि कविताकाे मुल्यांकन समालोचककाे ट्याग भिरेकाले मात्रै गर्न सक्छ भन्ने हाम्रो जुन मानसिकता छ- त्याे हाम्रो भ्रम हाे । आफ्नाे कविताकाे पाठक भने पनि समालोचक भने पनि स्वयम् लेखक नै हाे । मलाई लाग्छ- साहित्यकाे सामालाेचक भनेकै पाठक हुन् । र, हामीले यत्ति बुझाैँ कि समालाेचना नै अन्तिम सत्य हैन ।
अन्शु-नेपाली साहित्यमा अहिले कविताको बजार कस्तो पाउनु भएको छ ? के यहाँ जे बिक्छ, त्यो टिक्छ ?
विक्रम- नेपालमा कविताले बजार राम्रै पाएकाे तर याे बजार हल्लाकाे पिछा गरेर हिँड्यो र खास कविताले बाजार लिन सकेनन् । किन प्रायजसाे बजारले हल्ला र पत्रपत्रिकामा आएकाे समिक्षालाई मुख्य आधार बनायाे ? यहीबाट शुरु भयाे- चामल भन्दा कनिका बढी बिक्याे ।
यहाँ याे पनि भयाे कि कविहरू बजारमा जे चल्छ, त्यहि लेख्न थाले । याे कविहरूकाे गलत साेच र गलत प्रवृत्ति हाे । अब कविहरूले के साेच्नु पर्छ भने कविता लेख्ने कि बजार लेख्ने ? जबसम्म कविहरूले बजार नसाेचेर कविता- कविताजस्तै लेख्दैनन् तबसम्म वास्तविक कविताहरू पछाडी पर्छन् ।
यहाँ कविता बिकाउनकाे लागि लेखिए तर ‘कवित्वपन’ टिकाउनकाे लागि लेखिएन् ।
अन्शु-भाषा, शैली, अभिव्यक्ति र जाती देखि कति टाढा र नजिक रहन्छ कविता ?
विक्रम- याे अत्यन्तै गम्भीर प्रश्नकाे लागि तपाईंलाई धन्यवाद छ । भाषा शैली र अभिव्यक्ति र विचारबाट कविता टाढा रहँदैन । जब पनि जातीका कुरा छ, कविता टाढा हुन्छ । कविताले न जाती भन्छ, न दलित भन्छ । कविता त सबै जातीलाई अंगालेर राख्ने एउटा ग्रन्थ हाे, दर्शन हाे, मन्दिर हाे । त्यसैले कवितालाई जातीसँग जाेडेर टाढा र नजिक भनेर मुल्यांकन नगर्दा कवितामाथि न्याय हाेला ।
कविता त सबै जातीलाई अंगालेर राख्ने एउटा ग्रन्थ हाे, दर्शन हाे, मन्दिर हाे । त्यसैले कवितालाई जातीसँग जाेडेर टाढा र नजिक भनेर मुल्यांकन नगर्दा कवितामाथि न्याय हाेला ।
अन्शु- साहित्यकार आफैमा एक समाजिक अभियान्ता हो ? समाजको मानसिकता र अवस्था आज जहाँ छ, त्यसमा लेखकहरुको योगदान/ दोष के छ जस्तो लाग्छ ?
विक्रम- मेराे बुझाइमा साहित्यकार सामाजिक अभियान्ता पनि हुन् । जसका अक्षरहरू नै सामाजिक परिवर्तनका लागि लेखिएका हुन्छन् । जसका सृजनाहरूले समाज परिवर्तनका मुद्दा उठाउँछ भने साहित्यकार पनि त अभियान्ता भइहाल्याे । देश निर्माणमा साहित्यकारकाे भूमिका नै नहुने हाे भने त सक्किगाे नि !अर्काे कुरा छ- लेखक समाजकाे मानसिकता र अवस्था । जबसम्म आफ्नाे सृजनाले देशकाे कुरा गर्दैन, तबसम्म साहित्य समाज र देशकाे ऐना बन्न सक्दैन । जबसम्म साहित्यकारहरूले समाजकाे मानसिकतालाई बुझेर लेख्न सक्दैनन्, तबसम्म समाज र लेखकबिच ठूलै खाल्डाे भइरहनेछ । यदि लेखकहरू उठ्न चाहन्छन् भने हामी सबैभन्दा पहिला लेखक स्वयं बदल्नु पर्छ ।
अन्शु-नेपालमा अझै पनि छुवाछूत,जातिय भेदभाव आदि कुरा अन्त्य भएको छैन । यस्तो अवस्थामा यी कुराहरु परिवर्तन गर्न लेखकको तर्फबाट के-के गर्न सकिन्छ जस्तो लाग्छ ?
विक्रम- म दलित समुदायमा जन्मेकाे एक मानिस हुँ । मलाई याे पीडा महिनावारी भएकाे महिला छाउघरमा बसेकाे भन्दा ज्यादा छ । म/ हामी मान्छे भएर पनि मान्छेबाट अपहेलित मान्छे हुँ/हौँ । गाउँमा मात्रै हैन । कलेज पढ्न आउँदा दलित भएकै कारणले काठमाडौंमा काेठा नपाएकाे अनुभव पनि छन् मसँग । अब साेच्नुस त कति सकस रहेछ हामीलाई ?
यस्ताे कुराहरू साहित्यमा कमै आएका छन् । हरेक विधामा हामीलाई प्रयाेग गरियाे । दस वर्षे जनआन्दाेलनमा पनि हामीलाई प्रयाेग गरियाे । हामी याैटा मुद्दा बन्याैँ । हामी साधान भयाैँ । कवि र साहित्यकारहरूले पनि हामीलाई प्रयाेग गरिरहेका छन् । अहिले साहित्यकारहरू आफ्नाे सृजनामा कला भर्न हामीलाई प्रयाेग गर्छन् । अब भन्नुस् त के हामी साधान मात्रै हाैँ त ? यदि हामीलाई न्याय दिनु छ भने हाम्रो आवाज ज्यादा तर विद्राेही पात्रमा लेखियाेस् । गैर-दलित साहित्यकारहरूले हामीलाई कमजाेर पात्रमा राखिदिन्छन् । कमजाेर पात्रामा प्रयाेग गर्न मात्रै हामीलाई छुस्स एक लाइन लिइन्छ । हाम्राे जीवन एक लाइन त हैन नि । प्राय लेखकले हाम्रो समुदायलाई निम्नस्तरकाे पात्र बनाएर लेख्छन् । के हामी ‘बरा ! बिचरा !’ मात्रै हाैँ ? जबसम्म साहित्य र गैर-साहित्यमा हाम्राे आवाजहरू लेखिँदैन तबसम्म समाज परिवर्तन हुँदैन । त्यसैले लेखकहरूले यस कुरामा ध्यान दिनुपर्छ ।
अन्शु- मनस्थिति नै बदल्ने कुनै पुस्तक पढ्नुभएको छ ?
विक्रम- वास्तवमै भन्नूपर्दा म किताब कम पढ्छु । तर कविता चाहिँ र केही प्रिय लेखकका आख्यान चाहिँ नछुटाइ पढ्छु । पढ्दा पत्रपत्रिकाकाे समिक्षा पढेर पढ्दिनँ । किनकी समालोचना नै अन्तिम सत्य हैन । जहाँसम्म मनस्थिति बदल्ने पुस्तककाे कुरा छ, त्यस्ताे मनस्थिति नै बदल्ने खालकाे किताब पढेकाे छैन । पढे पनि सायद बदलिँदैन । म पढ्न चाहिँ ओशाेलाई पढ्छु । उनकाे जीवनदर्शन खुब मन पर्छ । र, हामी प्रत्येककाे जीवन नै एउटा सिङ्गो दर्शन हाे । मलाई म जे छु, ठिक छु जस्ताे लाग्छ । मलाई कुनै पनि किताब पढेर बदल्नु छैन पनि । मलाई म भएर बाँचेकाे समय नै एउटा ग्रन्थ लाग्छ ।
मलाई म जे छु, ठिक छु जस्ताे लाग्छ । मलाई कुनै पनि किताब पढेर बदल्नु छैन पनि । मलाई म भएर बाँचेकाे समय नै एउटा ग्रन्थ लाग्छ ।
अन्शु-पुस्तक पढ्ने नयाँ पुस्तालाई कस्ता पुस्तक सजेस्ट गर्नुहुन्छ ?
विक्रम- म कुनै विज्ञ त हैन, तैपनि यत्ति भन्छु । बजारमा हल्ला गरिएकाे किताब मात्रै दमदार वा पढ्न लायक छ भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यागी दिनुस् । र, किताब खाेजेर पढ्नुस्, जीवन सार्थक बनाउनुस् ।
अन्तमा साहित्यमाथि मलाई आफ्नाे दृष्टिकोण राख्ने अवसर दिनु भएकाेमा तपाईं अन्शु खनाल लगायत सल्लेरी खबर परिवारप्रति आभारी छु ।
०००