Logo

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार



Spread the love

७ असोज, दार्चुला – दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

उनीहरुको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिए । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माएकी हुन् । यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन् ।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेशिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताए । धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

सोमबार नै एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा आज बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए । “गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो”, उनले भने, कागजी प्रक्रिया मिलाउँदा आज बिहान मात्र स्वीकृत भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”

सरकारले समयमै महिला र नवजात शिशुको उद्धार गरेपछि सामाजिक प्रयोगकर्ताहरुले सरकारको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्