Logo

किताब इमान्दार साथी हुन् ।- बिना थिङ तामाङ



Spread the love

किताब इमान्दार साथी हुन् ।

म  आफ्नो अध्ययन र साहित्यबारे केही अनुभव सुनाउँछुु ।

एउटा कथाबाट शुरु गर्छु ।

एकपटक जनावर र पंक्षीहरुको बैठक भएछ । बैठकको विषय रहेछ- यो ब्रम्हाण्ड कत्रो छ ? बैठकले यो जिज्ञासा शान्त पार्ने जिम्मा लामखुट्टे र चीललाई दिएछ । जिम्मा पाउनसाथै लामखुट्टे उडिहालेछ । यसो यताउता भुनुनु घुमेछ अनि आएर भनेछ- “आम्मामा ! यो ब्रम्हाण्ड त निकै विशाल छ । अनन्त छ । रहस्य नै रहस्यले भरिएको छ ।”

चील पनि आफ्नो जिम्मेवारी पूरा गर्न उडेछ । ऊ भने वर्षौं लाएर परपर सम्मै उडिरहेछ । अन्त्यमा बुढो साथै थकित भएर फर्किएछ र भनेछ – “आम्मामा ! यो ब्रम्हाण्ड त निकै विशाल छ । अनन्त छ । रहस्य नै रहस्यले भरिएको छ ।”

जवाफ त लामखुट्टे र चीलको एउटै थियो । दुवैले ब्रम्हाण्डलाई विशाल र रहस्यमय भनेका थिए । तर लामखुट्टे र चीलले देखेको ब्रम्हाण्ड फरक छ ।

ठीक यस्तै हो, अध्ययन ।

हामीले आफैलाई एकपटक प्रश्न गरौं । हामी लामखुट्टे बन्ने कि चील ?

निष्कर्ष उस्तै सुनिए पनि चीलको ज्ञान लामखुट्टेको भन्दा कति हो कति गुणा बढी छ । र हामी पक्कै पनि चिलजस्तै बन्न चाहन्छौं । लामखुट्टेजस्तो होइन । यदि त्यसो हो भने हामीले आफूलाई अध्ययनशील बनाउनै पर्छ । तर यो त्यति सहज भने छैन ।

प्रश्न त शुरुमै आउँछ । अध्ययन भनेको के हो त ?

अध्ययन भनेको खोज हो । बोध हो । ज्ञान निर्माणको सिंढी हो । असन्तुष्टिहरुको बक्ररेखा हुँदै सन्तुष्टिको बिन्दुमा पुग्नु हो । नयाँ कुरा जान्नु मात्र होइन पुराना काम नलाग्ने कुरा फाल्नु पनि हो । हृदयमा वर्षौंदेखि जरो गाडेर बसेका पुराना, थोत्रामोत्रा चिन्तनलाई उखेलेर फ्याँक्नु हो । चिन्तनशिल हुनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक अन्धतालाई हुत्याउनु हो । आफूलाई समाजको कुन तप्कामा खडा गर्ने भन्ने निर्णय लिनु हो ।

अध्ययन भनेको खोज हो । बोध हो । ज्ञान निर्माणको सिंढी हो । असन्तुष्टिहरुको बक्ररेखा हुँदै सन्तुष्टिको बिन्दुमा पुग्नु हो । नयाँ कुरा जान्नु मात्र होइन पुराना काम नलाग्ने कुरा फाल्नु पनि हो ।


अध्ययन असिमित छ । यो कहिल्यै नटुङ्गिने यात्रा हो । एउटा लघुकथा वा मुक्तकबाट शुरु भएको हाम्रो अध्ययन समयसँगै इतिहास, भूगोल, कानुन, अर्थशास्त्र, प्राकृतिक विज्ञानसम्म पुग्नसक्छ ।

तर धेरैलाई यो यात्रा कहाँबाट थाल्ने भन्ने नै थाहा हुँदैन । सबैको सुरुवात एकै ठाउँबाट हुनुपर्छ भन्ने छैन । कसैले कथाबाट अध्ययन शुरु गर्छ भने कसैले इतिहासबाट । कसैले कविताबाट भने कसैले अर्थशास्त्रबाट । आफूलाई जेमा रुची लाग्छ त्यसैबाट शुरु गर्ने हो ।

जहाँबाट हुन्छ शुरु गरौं ।

फेरी पनि प्रश्न उठ्छ – पढेर चाहिँ के हुन्छ ?

मलाई लाग्छ धेरैसँग यो प्रश्नको ठोस उत्तर हुँदैन । सबैले आ–आफ्ना अनुभूती सुनाउने न हो । म पनि तपाईंलाई आफ्नो अनुभव सुनाउँछु ।

चालिसको दशकको मध्यतिर ।

त्यतिबेला हेटौडामा दुईवटा हल संचालनमा थियो । पुरानो देवी हल । नयाँ ॐ चलचित्र मन्दिर । सात, आठ वर्षकी थिएँ । आमाको पछि पछि लागेर फिल्म हेर्न जान कहिलेकाँही मात्र जुर्थ्यो । जे होस् फिल्मको रस बसिसकेको थियो । सधैँ सबै फिल्म हेर्न नपाएपछि हामीले उपाय निकालेका थियौं । जो जो साथी फिल्म हेर्न जान्थे तिनले साथीभाई भेला पारेर कहानी भन्ने । त्यसरी कहानी भन्दा हाउभाउ सहित फिल्मको वर्णन गरिन्थ्यो । फिल्मको हिरोले पाएको दुःख, भिलेनसँगको कुस्ती र अन्त्यमा हुने हिरोको जितले हामीलाई सुखानुभूति प्रदान गर्थ्यो । कहानी भनि नसक्नुजेल अन्नपानी सब बिर्सिदिन्थ्यौं । केही केही सम्झना आउँदैन थियो ।

कहानी भन्नेले फिल्ममा कस्तो सिन देख्यो त्यो त हामीलाई थाहा हुँदैनथ्यो । उसले बताउँदा भने हामी आफ्नै ढङ्गले मस्तिष्कमा चित्र बनाउँथ्यौं । आफैँ त्यस फिल्मको नायकमा रुपान्तरित हुन्थ्यौं । सारा दुःख कष्टका बावजुद अन्तयमा विजय हुँदा मनमा हर्षोल्लास छाउँथ्यो । त्यो क्षण बडो आनन्ददायी हुन्थ्यो ।

कहानी भन्नेले फिल्ममा कस्तो सिन देख्यो त्यो त हामीलाई थाहा हुँदैनथ्यो । उसले बताउँदा भने हामी आफ्नै ढङ्गले मस्तिष्कमा चित्र बनाउँथ्यौं । आफैँ त्यस फिल्मको नायकमा रुपान्तरित हुन्थ्यौं । सारा दुःख कष्टका बावजुद अन्तयमा विजय हुँदा मनमा हर्षोल्लास छाउँथ्यो । त्यो क्षण बडो आनन्ददायी हुन्थ्यो ।


यसरी कहानी सुन्ने बानी परेपछि हामीले फिल्मको तिर्सना मेट्न विरगंजबाट आउने ससाना पन्ध्रबीस पन्नाको कमिक्स किन्न थाल्यौं । त्यस्ता कमिक्समा पनि हिरो, भिलेन, फाइट सबै हुन्थ्यो । अझ केही कमिक्स त अहिलेको टेलिसिरियल जस्तै धारावाहिक हुन्थे । अर्को महिना आउने त्यसको सिरिज बडो व्यग्रताले प्रतिक्षा गर्थ्यौ ।

यसरी कमिक्सहरुले मलाई पढ्न बानी पारिदिए ।

अहिले म यसो सोच्छु, मलाई ती कमिक्स किन मन परे होलान् ?

मलाई लाग्छ, मान्छे जहिल्यै आफू बाँचेको परिवेश भन्दा पर जान खोज्दो रहेछ । नदेखेका दृश्य देख्न, नसुनेका कुरा सुन्न, नगाएको गीत गाउन मन पराउँदोरहेछ । कमिक्सले मलाई त्यस्तै गरे । मैले नदेखेको सीन देखाए । नसुनेका डायलग सुनाए ।

ओहो ती डायलग !

त्यो फाइट !

त्यो सस्पेन्स !

बाफ रे बाफ ! तिनले मलाई अर्कै दुनियाँमा पुर्याए । र म तिनैलाई पछ्याउँदै कहाँ कहाँ पुगे ।

र यसरी म कमिक्सको लति भएँ ।

पाँच कक्षामा पुग्दा मेरा अभिभावकले मलाई बोर्डिङबाट झिकेर सरकारी स्कुलमा राखिदिए । यो उहाँहरुको आर्थिक अवस्था ओरालो लाग्दै गएको लक्षण थियो । आर्थिक सिमितताका कारण उहाँहरु विस्तारै आफैमा सिमित हुदै जानुभयो । छर-छिमेक, समाजबाट अलग जस्तो ।

मान्छेसँग देखाउन र भोग्न त्यस्तो केही नभएपछि विस्तारै एक्लिदै जाँदो रहेछ । त्यसको ठीक विपरित मेरो घेरा भने फराकिलो बन्दै गयो । म बोर्डिङको साँघुरो चौरबाट सरकारी स्कुलको फराकिलो चौरमा पुगें । त्यहाँ विभिन्न भुगोलबाट आएका थुप्रै साथीभाई भेटिए । विविध परिवेशबाट आएका हुनाले उनीहरुको स्वाभावमा पनि विविधता थियो । उनीहरुको जीवनमा पनि विविधता भेटिन्थ्यो । ति मध्ये केही साथीहरु म जस्तै कमिक्स पढ्न रुचि राख्नेहरु थिए । त्यसमाथि सरकारी स्कुलमा पुस्तकालय पनि रहेछ । शुक्रबार पुस्तकालयको झ्यालमा उभिएर किताबको नाम लेखाएपछि एक हप्तालाई एउटा किताब पाईन्थ्यो । त्यसरी किताब पाएपछि म शुक्रबार साँझ र शनिबार दिनभर घरबाट निस्कन्न थिएँ । खासमा मलाई पसल जान, छिमेकमा पैंचो लिन जान अह्राईएको हुन्थ्यो । म त्यो कामबाट भाग्न चाहन्थेँ । त्यसको पनि आफ्नै कारण छ ।

गाह्रो थियो नि । पसल गयो । पसलेले तिम्रा बाले उधारो कहिले तिर्छन् भन्थे । छिमेकीकोमा गयो तिम्री आमाले कहिले पैचौं तिर्छिन् भन्थे । बाटोमा भेटेकाले तिम्रा बा–आमा झगडा गरेछन् हैन भनेर सोध्थे । मलाई सुन्नै दिक्क लाग्थ्यो । म भाग्न चाहन्थेँ । यी यस्ता यावत परिवेशहरुसँग । त्यतिबेला मेरा साथी किताब भइदिन्थे ।

धेरै पछि पो थाहा पाएको अर्नेस्ट हेमिंग्वेले भनेका रै’छन्, किताब सबैभन्दा भरपर्दा साथी हुन्छन् । तर मैले हेमिंग्वेको नाम नसुन्दै किताब मेरा भरपर्दा नजिकका साथी भइसकेका थिए ।

तिनले मेरो हात समाएर टाढाको दुनियाँमा लैजान्थे । जहाँ कसैले पनि मसँग उधारो, पैचों र झगडा कुरा गर्दैनथे ।

किताबको हात समाउँदै गएपछि मेरो सामुन्नेमा नयाँ र अपरिचित संसार उघ्रिन्थ्यो । कहिल्यै नदेखेका मानिससँग म कुराकानी गर्थें । उनीहरुको विचारले मलाई यथेष्ट सन्तुष्टी दिन्थ्यो । उनीहरुसँगको सम्बन्ध विश्वस्नीय र आश्चर्यजनक हुन्थ्यो । म जे जे कुरा यथार्थ जीवनबाट प्राप्त गर्न सक्दिन थिएँ, ती सबै मैले किताब पढेर पाउन थालेँ ।

यसले मेरो मनोबल उच्च बनाउँदै लग्यो । किताबमा भेटिने दुष्ट पात्रहरुको चित्रणका साथै तिनीहरुमाथि असल, सत्यनिष्ठ, कर्मशिल मानिसहरुले  विजय पाउँदा जुन आनन्द आउँथ्यो, त्यो अरुबाट पाइन्नथ्यो । म ती पात्रसँगै रुन्थें । हाँस्थे । कतिपय कथा मेरा लागि प्रेरणादायी हुन्थे । पात्रहरु मेरा सहयात्री बन्थे । यस्तो लाग्थ्यो मानौं ती मसँग रिसाएका छन् । म तिनीहरुलाई मनाउन चाहन्थे । तिनीहरु मसँग प्रेम गर्छन् । मैले पनि तिनीहरुको चित्त दुखाउनु हुदैन । यस्तै यस्तै लाग्थ्यो ।

संवेदनशिलताको माथिल्लो तहमा पुग्थें ।

अहिले सोच्छु, वास्वतमा ती किताबले मेरो मानसिक थेरापी गराउँदा रहेछन् । पुस्तक पढ्नु अघिको त्यो दुःखी केटी पुस्तक पढिसक्दाको क्षणमा खुसी हुन सिकिसक्थी ।

पाठक हुनुको एउटा मज्जा हुन्छ । लेखकले जुनसुकै परिस्थितिमा लेखोस् । पाठकले आफ्नै परिवेशसँग जोडेर कल्पना गर्न पाउँछ । मैले पनि त्यसै गरेँ । त्यो कल्पनाले मलाई आशावादी बन्न सिकायो । म बाँचेको जीवन मलाई चित्त बुझेको त थिएन तर म कस्तो जीवन चाहन्छु भन्ने कल्पना गर्न सक्थेँ । त्यस्तै जीवन बाँचेको महसुस गर्थेँ कल्पनामै ।

पुस्तकले मलाई साँघुरो घेराबाट फराकिलो संसारमा ल्याइपुर्यायो ।

सायद त्यही भएर हो जर्ज मार्टिनले भनेका – “एउटा पाठक मर्नु अघिसम्म हजारौं जीवन बाँचिसकेको हुन्छ । तर एउटा पनि किताब नपढ्ने मानिसले एउटा मात्र जीवन बाँच्छ ।”

स्कुल पढ्दै गर्दा मैले कमिक्सकै भए पनि धेरै जीवन बाँचिसकेको थिएँ । धेरै संसार देखिसकेको थिएँ ।

पढ्नु भनेको त लेखकले लेखेको विषय र परिवेश थाहा पाउने मात्र होइन रहेछ । किताबका पात्रलाई साथी बनाउनु रहेछ । त्यही पात्रहरुसँगै बाँच्नु रहेछ, मर्नु रहेछ ।

किताबले कल्पनाशक्ति बढाउँदो रहेछ । आशावादी बनाउँदो रहेछ । हरेक अप्ठ्यारामा पनि भोली आउने सुन्दर दिनका किरण देख्न सिकाउँदो रहेछ । यो नै साहित्यको तागत हो ।

फेरि दोहोर्याएँ, किताब सबैभन्दा इमान्दार साथी हुँदोरहेछ । किताबसँग तपाई जति गुनासोे गर्नुहोस् उसले कसैलाई भन्दैन । किताबसँग जति रुनुहोस् उसले तपाईंको आँसु लुकाएर राखिदिन्छ ।

किताब सबैभन्दा इमान्दार साथी हुँदोरहेछ । किताबसँग तपाई जति गुनासोे गर्नुहोस् उसले कसैलाई भन्दैन । किताबसँग जति रुनुहोस् उसले तपाईंको आँसु लुकाएर राखिदिन्छ ।


यसैगरी किताब मेरो एक्लोपनको साथी भयो । सद्मार्गमा लाग्न प्रेरित गर्ने पथ प्रर्दशक भयो । अँध्यारो र उज्यालोको भेद फुकाउने मन्त्र बन्यो । र, विस्तारै म किताबको दुनियाँमा हराउँदै गएँ । किताब मेरो दुनियाँ बन्दै गयो ।

अनि मैले किताब खोज्न थालेँ ।

शुरुशुरुमा मैले आफ्नो उमेर, परिवेश, रुचि अनुसारको पुस्तक छनौट गरें । जसले गर्दा मलाई पढ्न कहिल्यै अल्छी लागेन । झन्झटिलो महशुस भएन । विस्तारै मेरो चेतनाको तह बढ्दै जाँदा भुगोल, इतिहास, अर्थशास्त्र, विज्ञानका पुस्तकले मेरो दराज भरिन थाल्यो । यसरी मेरो अध्ययन गर्ने बानी निर्माण भएको हो । समयको बाक्लो तह बन्दै जाँदा मैले जानेको मसिनो कुरा यो हो कि, आफूलाई जेमा रुची लाग्छ शुरु त्यहीँबाट गर्ने रहेछ । विस्तारै किताब आफैले बाटो देखाउँदा रहेछन् ।

आखिर, किताब इमान्दार साथी न हुन् ।

प्रतिक्रिया दिनुहोस्