Logo

काँग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन : नेता शर्मा



Spread the love

३ असोज, काठमाडौँ l नेपाली काँग्रेसले एउटा चुनाव जित्ने र अर्को चुनाव हार्दा देशले दु:ख पाएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

आज झापामा आयोजित पार्टीका कार्यक्रममा सहभागिता जनाउँदै नेता शर्माले सो कुरा बताएका हुन् ।

नेता शर्माले अब लगातार तीनवटा चुनाव जित्ने गरी नै काँग्रेसअघि बढ्ने पनि बताएका छन् ।

नेता शर्माले भने, “काँग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन । वीपीले १५ वर्षमा हरेक नेपालीलाई आफुजस्तो बनाउँछु भन्नुभयो । त्यसो भनेको १६ सालमा प्रधानमन्त्री भएका वीपीले ३१ सालमा शासन छोड्छु भनेको हो ? उहाँले भनेको के हो भने म सँग एउटा सपना छ । ५ वर्ष जिताउनुभयो । अब अर्को दुईवटा चुनाव जिताउनुभयो भने यो देशलाई एउटा ठाउँमा पुर्‍याउँछु भन्नुभएको हो ।”

नेता शर्माले वीपीले भनेको १५ वर्ष स्मरण गर्दै आगामी तीनवटा निर्वाचन जितेर देशलाई कहाँसम्म पुर्‍याउने हो प्रस्ट दृष्टिकोणका साथ अब काँग्रेस जनतामा जाने बताउँदै केपी ओली नेतृत्वको सरकार बनेपछिको डेढ वर्षमा सबैभन्दा बढी भ्रष्टाचार भएको नेता शर्माको आरोप थियो l

वाइडबडी, सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्मको उदाहरण दिँदै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको नेता शर्माले बताएका छन् l

नेपाली जनतालाई चुनावमा सपना देखाउने तर सरकारमा पुगे पश्चात् उक्त सपना पूरा नगर्दा सर्वसाधारणमा वितृष्णा आउने बताउँदै नेता शर्माले त्यसतर्फ सचेत हुन पनि सरकारलाई आग्रह गरेका छन् ।

नेता शर्माले सडकमा सरकारविरुद्ध नागरिकहरू व्यवस्थाकाविरुद्ध नभई अवस्थाकाविरुद्धमा निस्केको बताउँदै काँग्रेसले अब आफैभित्र सुधार गर्नुको विकल्प नभएको पनि उनको भनाई थियो ।

उनले भने, “काँग्रेसले बदलिनुको विकल्प छैन । जो बदलिन्छ उसले नेतृत्व लिन्छ । जो बदलिँदैन, उसले अब बिदा लिन्छ l”

प्रतिक्रिया दिनुहोस्