उनले कहिल्यै सोचिनन्, अधिकारकर्मी, पत्रकार या लेखक बन्छु भनेर। काठमाडौँको चाबहीलमा जन्मिएकी अमृता लम्सालको लेखनमा लैङ्गिक समानता, वर्गहीन समाज, समावेशी सिद्धान्तको पक्षधरता पाइन्छ। नेपाल प्रेस इन्स्टिच्युटको आठौँ ब्याचको पत्रकारिताबाट शुरु भयो – उनको लेखन यात्रा।
नियमित रूपमा जनमञ्च, पुनर्जागरण, दृष्टि, हिमालयन टाइम्स र अन्य पत्रपत्रिकामा स्तम्भ लेखेकी उनले चौथो विश्व महिला सम्मेलनको पूर्वतयारी कमिटीमा रही २१७ एन.जी.ओ. को नेटवर्कमा सचिव भएर पनि काम गरिन्। सञ्चारिका समूहको संस्थापक सचिव उनी महिला तथा सुरक्षा दबाब समूहका शुरुका दिनहरूमा पनि उत्तिकै सक्रिय थिइन्। उनी प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन र नवनारी म्यागेजिनबाट सम्मानित छिन्।
सञ्चारिका र प्रेस इन्स्टिच्युटबाट प्रकाशित छापामा महिलाको सम्पादन मण्डलमा रहेकी उनले सञ्चारिकाबाट प्रकाशित महिला लेखमालाको सुरुवात गरिन्। माओवादी जनयुद्धले महिलामा पारेको असर र प्रभावबारे अध्ययन गर्न २०५५ सालमा उनले पश्चिम नेपालका विभिन्न क्षेत्रहरूको स्थलगत निरीक्षण गरी रिपोर्ट तयार पारिन् । जुन रितामान चन्दाको सम्पादनमा ‘Where there are no men: Women in the maoist insurgency in Nepal’ शीर्षकमा प्रकाशित छ।
हाल उनी सेतोपाटी अनलाइनमा ‘हजुरआमाको कथा’ शृङ्खला अन्तर्गत हजुरआमाहरूको जीवन अनुभव बारे नियमित रूपमा लेखिरहेकी छिन्। साथसाथै २0७६/०६/०४ अर्थात् भोलि (शनिबार) उनको किताब ‘हजुरआमाको कथा’ विमोचन हुँदैछ ।
प्रस्तुत छ, उनै अमृता लम्सालसँग सल्लेरी कोलाजको लागि अन्शु खनालले गरेकी कुराकानी :
हजुरआमाको कथा यसको सोच कसरी आयो ?
सन् २०१७ बाट मैले यो कुरा सोचेको थिए। मेरो मामाघरको हजुरआमा अब ९६ वर्ष पुग्नुहुन्छ। म हजुरआमासँग बस्थे। कुराकानी गर्ने गर्थेँ। पुराना कुराहरू घर माइतीको कुरा सोध्थे। अर्को कुरा हाम्रो मामा हामी भन्दा कान्छो हुनुहुन्छ, म हजुरआमालाई जिस्क्याउँथे, कि छोरी भन्दा पछिसम्म बच्चा पाउन असहज लागेन? यस्तै कुरै कुरामा उहाँले भन्नुभो, “जुद्ध शमशेरको शासनमा विवाहमा तडक भडक गर्नु हुन्नथ्यो, लुगा पनि यस्तो लाउँथ्यौ । कपाल काटेर आउँदा खेरि अरूको घरमा बस्ने बाहुनले कपाल काटेको देखेर धुन्धान गाली गरे”, आदि इत्यादि कुरा गर्नु भो।
म त सधैँ महिलाहरूसँग सम्बन्धित मुद्दा उठाइरहने मान्छे, मलाई लाग्यो यो त परिवर्तनका कुराहरू हो। त्यो समय र यो समय तुलना गर्यो भने त हामीलाई कति कुरा थाहा हुँदो रहेछ। ल यसलाई चाहिँ रेकर्ड गर्छु भनेर सोचे। रेकर्ड गर्छु भनेर भन्दा हजुरआमा मैले सबै कुरा बिर्सिसके भन्नुहुन्थ्यो। छैन भन्नुहुन्थ्यो। दुई महिनापछि आऊ नयाँ कुरा भयो, सम्झे भने भन्छु भन्नुहुन्थ्यो।
मैले कहिलेकाहीँ भन्नुभएको कुराहरू रेकर्ड गर्न थाले। मैले अब यसलाई लेख्छु भने । लेख्छु भन्नलाई पनि कम्तीमा मैले तीन जनाको लेख्नुपर्छ। तीन जनाको रेकर्ड गरेर राखे भने चौथो व्यक्ति खोज्न समय मिल्छ भन्ने सोचे। पहिला निर्वाचन आयोगको हुनुहुन्थ्यो- उहाँ भोजराज पोखरेल । उहाँले सामाजिक सञ्जालमा बुढो बुवा र आमाको फोटोहरू राखी रहनु हुन्थ्यो। मलाइ उहाँहरूले फोटोले सधैँ आकर्षण गर्थ्यो। म उहाँलाई बुवाआमाको बारेमा सोधी रहन्थे। मैले भोजराज दाइलाई भने, “म आमाको कथा लेख्छु, उहाँसँग कुरा गर्छु ।”
भोजराज दाइ त बाहिर हुनुहुन्थ्यो तर उहाँले भाइलाई भन्दिन्छु गएर कुरा गर्नु न भन्नु भो। त्यसपछि मैले दोस्रो रेकर्डिङ उहाँको गरे। साहित्यकार शङ्कर लामिछानेको छोरासँग फेसबुकबाट चिना परिचय भएको थियो। मैले हजुरआमाको कथा गर्न लाएको भन्दा उहाँले मेरो ममी पनि हुनुहुन्छ नि भन्नु भो। मैले असी कटेका आमाहरूको मात्रै लेख्ने सोच बनाएको थिए। मैले शङ्कर लामिछानेको श्रीमतीको पनि रेकर्ड गरेर राखे। त्यही बेला मलाई एउटा म्यागेजिनको सम्पादकले मेसेज गरेर हाम्रोमा पनि लेख्नुस् भन्नुभएको थियो । मैले उहाँलाई हजुरआमाको कथाको कन्सेप्ट सुनाउँदा हुन्छ लेख्नुस् भन्नुभएको थियो । जब मैले उहाँहरूलाई पहिलो ड्राफ्ट बुझाए उहाँले मलाइ रेस्पोन्स दिनुभएन, मलाई दुई महिना यस्सै केही रेस्पोन्स नदिई छाड्नु भो। पछि उहाँले यो त मोनोटोनस जस्तो भयो भनेर टार्नु भयो। मलाई एकदमै नराम्रो लाग्यो कि उहाँले हुन्छ भनेर फेरि पछि बहाना बनाउनु भयो।
म त्यस बिचमा म इन्डिया तिर घुम्न गए। इन्डियाबाट फर्केपछि म फेरि अमेरिका गए। मैले पहिलेका सबै कुरा बिर्सी सकेको थिए। मसँग तीन वटा रेकर्ड थिए। रेकर्ड हुँदाहुँदै पनि मेरो मन मरिरहेको थियो। म अमेरिका हुँदा भोजराज दाइको बुवा बित्नु भएछ। अनि भोजराज दाइले मलाई म्यासेज गर्नु भो, “आमाको कथा लेख्छु भन्नुभएको थियो । बुबा स्वर्गीय हुनुभयो । यो दिन चाहिँ तेह्र दिन हो, केही राख्न लेख्न चाहनुहुन्छ भने लेख्नुस् ।” मैले पुरानो रेकर्डबाट फेसबुकमा केही लेखे।
त्यसको केही हप्तामा म काठमाडौँ आए। भोजराज दाइको आमालाई भेट्न गएँ। भेट्न जाँदा त आमालाई डिमेन्सिया भइसकेछ। पहिलाको कुरा त उहाँले लगभग बिर्सिनु भएछ। मलाई त्यति बेला पछुतो लाग्यो। लेख्छु भनेर त्यत्रो बसेर कुरा गरे । आमालाई पनि यस्तो भएछ, अब मैले नलेखी हुँदैन भनेर सोचे। यसैपछि सेतोपाटीको अमितजी सँग कुराकानी भयो । उहाँलाई मैले कुरा गर्दा उहाँलाई यो कुरा मन पर्यो र पन्ध्र दिनमा एउटा छाप्ने भयौ र छाप्यौ।
पहिलो कथा मेरो आफ्नै हजुरआमाको छाप्यौ। दोस्रो रत्ना राईको छापियो। त्यसपछि मान्छेहरूलाई ‘ओहो ! शङ्कर लामिछाने’ भन्ने भयो। उहाँले गरेको अन्यायको कुरा कसैलाई थाहा थिएन। त्यसपछि मान्छेहरूलाई झन् चाहाना बढ्न थाल्यो, त्यसपछि त मेरो आमाको,मेरो हजुरआमाको लेख्नु भन्नेहरूआउन थाल्नु भो र मैले निरन्तरता दिइरहे। लेख्दै गर्दा धेरै जनाले भन्नुभयो,- “यो त किताब निकाल्नु पर्छ ।” मलाई पनि लाग्यो यसमा त धेरै इतिहासमा लुकेको कुरा पनि आएको छ । किताब त ल्याउनै पर्छ ।
कथाहरूलाई पछ्याउँदै जाँदाको सबै भन्दा यादगार अनुभव सुनाउनुस् न !
सबैभन्दा मलाई मार्मिक लागेको कथा रजिया बेगमको हो। उहाँको मारवाडीसँग विवाह भएको, बिहे गर्ने बेलामा उहाँको श्रीमानले मुस्लिम बनेर विवाह गर्नुभएको रहेछ। उहाँको घरमा पहिल्यै मारवाडी श्रीमती रहेछ। त्यो कुरा रजियालाई थाहा थिएन। दश वर्ष त राम्रो नै चल्यो, दुईवटा बच्चा भयो, अर्को बच्चा पनि पेटमा हुर्किँदै थियो। त्यही बखत उहाँको श्रीमानको बाहिर अरूसँग सम्बन्ध रहेछ र ऊ पनि बच्चाको आमा बन्ने वाला रहेछ। त्यसपछि दुईवटा हातमा दुईवटा बच्चा र पेटमा हुर्किँदै गरेको बच्चा सहित धोतीको टुप्पोमा पाँच रुपैयाँ बाँधेर उहाँले घर छाड्नु भयो। जिन्दगीभर दु:ख गरेर बच्चा हुर्काउनु भयो। उहाँको कथा सिनेमा नै बनाउन हुने कथा छ। त्यो कथाले मलाई एकदमै छोएको हो।
यहाँको विचारमा महिलावाद?
मेरो विचारमा ‘महिलावाद’ छोरालाई प्रदान गरिने हरेक आर्थिक, सामाजिक, राजनितिक अधिकार छोरीलाई पनि दिनुपर्छ भन्ने हो। त्योभन्दा बाहेक मैले महिलावाद केहि पनि देखेको छैन। छोरा र छोरीमा एउटाले बच्चा पाउन सक्ने र अर्कोले नसक्ने बाहेक अरू अन्तर त छैन।महिलावाद भन्ने बित्तिकै पुरुषलाई देखि नसक्ने मान्छे पनि हुन्छन्। त्यो महिलावाद होइन। खालि सामाजिक, राजनैतिक र आर्थिक अधिकार चाहिँ बराबर हुनुपर्छ त्योभन्दा फरक, त्योभन्दा बाहेक केही पनि होइन ।
लैङ्गिक समानतायुक्त समाजमा परिवार र समाजलाई कसरी लाभ हुन्छ ?
म मेरो आफ्नै घरको उदाहरण दिन चाहन्छु। मेरो मम्मीले बिहा गर्नुभन्दा अगाडि एसएलसी पास गर्नुभएको थियो। बिहापछी घरमा हजुरबुबाले पढ्न जान दिनु भएन। तर मेरो बुवाले मम्मीलाई कलेज पठाएर पढाउनु भयो। त्यस कारण मम्मीले पढ्न पनि पाउनु भयो। मम्मी सक्षम हुनुभयो। यो सबै कुराले मम्मीमा मात्रै होइन, हामी छोरीहरूमा पनि साहस जगायो। मैले सम्झिने भए देखि ममीले घरबाहिर काम गरेको देखेर मलाई प्रेरित गर्यो । एउटा परिवारमा लैङ्गिक समानता भयो भने सकारात्मक ऊर्जा,आर्थिक लाभ, मानसिक रूपमा आत्मनिर्भर हरेक कुरा हरेक व्यक्तिलाई दिएको हुन्छ।
तपाईँ कति पत्रकार कति अधिकारकर्मी अनि कति लेखक ?
यो चाहिँ म आफैलाई थाहा छैन। म कहिल्यै अधिकारकर्मी हुन्छु भनेर लेख्न थालेको होइन। मेरो करियरको सुरुवात बैङ्कबाट भएको हो। मेरो शुरुको जागिर नेपाल राष्ट्र बैङ्कमा थियो। त्यही काम गर्दा गर्दै म नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिताको दश महिने तालिम लिए। लेख्न थाल्दा म बालबालिकाका मुद्दाहरू लेख्थे।
त्यसपछि बिस्तारै म महिलाको मुद्दामा लेख्न थाले। मैले भोगाइ धेरै लेख्छु। देखेर लेख्नु र भोगेर लेख्नु फरक रहेछ। मैले दुई जना महिलाहरू मेरो आँखा अगाडि मरेको देखेको छु। एउटा मेरो राष्ट्र बैङ्कको साथी, ऊ माथि हरेक दिन हिंसा हुने रहेछ। उसले एक दिन मलाई उसले भन्यो कि “म आइन भने मलाई केही भयो भन्ने जान्नु।´´अर्कोदिन ऊ आइन, त्यति बेला पर्सनल फोन हुँदैन थियो।
मैले उसको घरमा फोन गरे, तर उठेन। एकछिन पछि पाटन प्रहरीबाट फोनमा स्टभ पड्किएर ऊ जलेको कुरा खबर आयो। हामी हतार हतार उसलाई भेट्न पाटन गयौ।मलाई थाहा थियो ऊ स्टभले जलेको होइन,मलाई शङ्का थियो ऊ माथि केही त भएको थियो। तर हामीसँग प्रमाण थिएन । त्यही पनि त्यति बेला उसको श्रीमान् आर्मीमा हुनुहुन्थ्यो, त्यो समय आर्मीलाई केस लाग्दैन थियो ।सजाय भोग्नु पर्दैन थियो। हामी भेट्न जाँदा उसले हामीलाई हेर्यो मात्रै, हामी बोल्न सकेनौँ । ऊ त झन् बोल्न सक्ने स्थितिमा थिएन। केही दिनमा उसको मृत्यु भयो।
अनि अर्को घटना, २०५४ तिर मैतीदेवीमा बोक्सी भनेर २६ वर्षको महिलालाई ल्याएर चार दिन देखि बाँधेर, पिटेर, सिस्नो लगाएर, तातो पानी खन्याएर मरेतुल्य अवस्थामा पुर्याएछन्। कमलपोखरी पुलिसलाई खबर गरेर हामी घटनास्थलमा पुग्दा ती महिलालाई ढोका नभएको पर्दा मात्र झुण्डाइएको छतको सानो कोठामा भुस्सा खाँदेर बनाइएको चारपाटेमा सुताइएको रहेछ। उसको एउटा छोरा र एउटा छोरी थिए । उहाँकै छोरीको मद्दतमा हामीले उहाँलाई बोलायौ उसले `पा….नि´ भनेको अहिल्यै जस्तो लाग्छ। हामीले प्रहरीको मद्दतमा हातका डोरी काटेर उसलाई वीर हस्पिटल लगेका थियौँ।तर उसलाई बचाउन सकेनौँ।
यी यस्ता विभिन्न घटनाहरूले मलाई अधिकारीको बाटो तिर लगेछ। म पत्रकार/लेखक मात्रै हो भनेर हिंसाबाट टाढा बस्न सक्दिन। यी दुईवटा घटनाले मलाई लेखक, अधिकारकर्मी र पत्रकार सबै बनायो।
तपाईँ महिला अधिकारकर्मी पत्रकार र साहित्यकार पनि, धेरै तिरको अनुभव छ । नेपालमा काम गर्ने महिलाको पारिश्रमिक, स्थानहरू महिलामैत्री इत्यादिको अवस्था हाल कस्तो पाउनु भएको छ?
त्यो छ केही पनि छैन। पारिश्रमिकको कुरा गर्ने हो भने, म आफैले कति वटा पत्रिकामा बिना पैसा लेख्न परेको छ। हामी मरिमरी लेख्नेहरूलाई त दिँदैनन्,अरू क्षेत्रमा पनि त्यस्तै छ।
महिलामैत्री कुरा गर्ने हो भने पुरुषहरू सँगसँगै बस्दा उहाँहरू के बोल्नु हुन्छ, उहाँहरूलाई नै थाहा हुन्न। एकदमै भल्गर जोक्सहरू भन्ने, तिमीलाई भन्या होइन है, त्यो केटी चाहिँ यस्ती रहिछे भन्ने, त्यसले हामीलाई पनि असर गर्छ भनेर कहिल्यै सोच्नुहुन्न उहाँहरू। मान्छेहरूलाई मोटो, दुब्लो भन्नु,बुढी भएछौ भन्नु यी कुराहरू पनि अशिष्ट कुरा हुन्।
नजिक हुन खोज्ने, प्रतिकार नगरेसम्म ढाडतर्फ छुन खोज्ने यस्ता कुरा त आँखाले देखिएको छ। पारिश्रमिक त झन् केटा मान्छेलाई त छैन, केटी मान्छेलाई झन् त्यही हो। अहिले त लोकसेवा पास गरेर आउने महिलाहरूलाई जति सहज अरू क्षेत्रमा अलि छैन जस्तो लाग्न थालेको छ। जब सम्म महिलाहरू बोल्न सक्दैनन् तब सम्म पछाडि परिरहन्छन्।
महिला बाहेक नेपालमा तेस्रो लिङ्गी वा अन्य व्यक्तिहरूको अवस्था र कथाहरू के कस्तो पाउनु भएको छ ?
हामीलाई त यति लड्दा त गाह्रो छ, उहाँहरूलाई झन् कति गाह्रो होला। उहाँहरूको मुद्दा त झन् भर्खरै आउन थालेको हो। एकदमै अपमानजनक शब्दहरूले बोलाउने, होच्याउने आदि कुरा हेर्दा त उहाँहरूलाई त झन् गाह्रो छ। एकदमै धेरै लड्नु पर्ने छ तर खुसी चाहिँ यो हो कि सुरुवात भएको छ। सबै ठुलो कुरा सङ्गठित हुन जरुरी छ। एउटा एउटा मान्छेले कुरा उठाएर भन्दा मिलेर कुरा उठाउँदा सहज हुन्छ।
नेपालमा महिला हिंसा विरुद्धको अभियानलाई अझ सबल बनाउन के के गर्नुपर्छ ?
सबैभन्दा ठुलो कुरा महिलाहरू आर्थिक रूपले बलियो हुनुपर्छ। सक्षम भएपछि मान्छे बोल्न सक्ने हुन्छ। आर्थिक रूपले सक्षम भएपछि मान्छेलाई म एक्लै बाच्न सक्छु भन्ने आत्मविश्वास हुन्छ। जब मान्छे आत्मविश्वासी हुन्छ, उसलाई अरु व्यक्तिले केही गर्न सक्दैन।
महिला भएकै कारण यो क्षेत्रमा भोग्नुपरेको समस्या केही छन् ?
महिला भएकै कारण यस क्षेत्रमा मैले व्यक्तिगत रूपमा त खासै केही समस्या भोग्नुपरेको छैन। महिलालाहरु हार्ड न्युजको लागि काम गर्न सक्दैनन्। यिनीहरूलाई सफ्ट न्युजहरूमा पठाउनु पर्छ भन्ने कुराहरू देखि’राको हुन्छ यो क्षेत्रमा। अहिले पनि महिलाहरूको दिमागले सोच्नै सक्दैन भनेको जस्तो गर्छन्। महिलाले आफूलाई दुई पटक प्रमाणित गर्नुपर्छ, एउटा काम गर्न सक्छु भनेर र अर्को गरेर देखाएर। महिलाले गरेको काम तलमाथि भएको खण्डमा ‘आइमाई त हो के काम गर्न आउँछ र ?” भन्ने यो पनि अर्को समस्या नै हो ।
साहित्यकार आफैमा एक सामाजिक अभियन्ता हो ? समाजको मानसिकता र अवस्था आज जहाँ छ, त्यसमा लेखकहरूको योगदान/ दोष के छ जस्तो लाग्छ?
लेखकहरूको योगदान र दोष दुईवटै छ। वर्षौ देखि बध शिक्षा नै लेखेर आएको भए समाज अगाडि जाँदैन थियो होला। अब छक्का पन्जा जस्तो सिनेमाको स्क्रिप्ट लेख्नेले समाजलाई कता लगिराछ ? अगाडि लाने र पछाडि लाने भन्ने कुरा यही उदाहरणले प्रष्ट हुन्छ।
नयाँ पुस्ता जो पुस्तक पढ्न रुचाउँछ,उनीहरूलाई कस्तो पुस्तक पढ्न भन्नुहुन्छ ?
म यस्तो उस्तो भन्दिन। पढ्ने चाहिँ आफ्नो रुचिको कुरा हो। कसैलाई फिक्सन, कसैलाई नन-फिक्सन मन पर्छ। अरूले सजेस्ट गरेर पढ्नु भन्दा नि आफ्नो रुचिको पढ्न भन्छु।
अन्त्यमा,आउँदै गरेको पुस्तकको बारेमा केही भन्दिनुस् न।
कसैलाई लाग्ला पत्रिकामा आइरहेको कुरा किन किताब नै निकाल्या भनेर। मेरो यो किताब सिर्फ किताब मात्रै होइन। यसमा त्यो बेलाको संस्कृति, त्यो बेलाको समाज, त्यो बेलाको भोगाइ, पीडा सबै छ। आजको पुस्ताले त्यो भोगाइ सुन्दा त होइन भनेको जस्तो हुन्छ। त्यो त इतिहास हो नि त। समाज कस्तो थियो, सामाजिक व्यवहार कस्तो थियो,आर्थिक अवस्था कस्तो थियो, टेक्नोलोजीको कुरा कस्तो थियो भन्ने कुराहरू यो किताबको कथाले देखाउँछ। यो व्यक्तिको कथा मात्रै होइन, यो समाजको कथा हो।
सधैँ सिन्ड्रेलाको कथा पढेर हुर्किनु पर्दैन । आउने पुस्ता यस्ता कथाहरूले केही न केही त सिकाउँछ। त्यस कारण यो किताब बजारमा ल्याएको हुँ। यो किताबले आजको दिनमा केही नगर्ला तर अबको दश/बिस वर्षपछि पहिलेको समाज पढ्नको लागि धेरै सहयोग गर्छ जस्तो लाग्छ।