कपोल
झन्डै एक वर्ष अघि । साँझको ७ बजे । पशुपतिमा आरती हुने तयारी हुँदै थियो । साथी लोकेन्द्र र म पारिपट्टि (मन्दिरको अगाडि) बसेर बाग्मतीसँगै गफमा बगिरहेथ्यौँ । यत्तिकैमा उसले फ्याट्ट प्रस्ताव गर्यो– ‘कि इन्डिया गइदिने हो त यो दशैंमा ?’ म अलमल्ल जस्तो परेँ ।
उसले अझ थप प्रस्ट्यायो । ‘बुद्धिराज अङ्कल हुनुहुन्छ उतै । बस्न खानको समस्या हुँदैन । उहाँको फुर्सद मिले उहाँकै गाडीमा घुम्न पाइन्छ, सरर । एक हप्ता जति बसेर दशैंमा ठ्याक्क घर आउँला ।‘
मैले ‘हुन्छ’ भनेर मुन्टो हल्लाएँ ।
दसैँ सुरु भइसकेथ्यो । फोनमा हरेकपल्ट आमा सुनाउनुहुन्थ्यो– ‘प्रतीक्षा बैनीहरू त आइसके । तिमी कहिले आउँछौ घर ? ढिला गर्दा गाडी भिड हुन्छ ।’
‘हुन्छ, आमा । एक दुई दिनमा आउँछु’ भने पनि यता साथी लोकेन्द्र र म भने इन्डिया टुर जाने योजनामा थियौँ । उत्तराखण्डमा बुद्धिराज अङ्कल हुनुहुन्थ्यो । उहाँ हामीलाई कुरैपिच्छे ‘केटा हो कहिले आउँछौ यता घुम्न ?’ भनेर सोधिरहनु हुन्थ्यो । हामी पनि टार्दा-टार्दा आजित भइसकेका थियौँ । यसपल्ट जे पर्ला-पर्ला भनेर हामी तम्सियौँ । हामीलाई थाहा भएसम्म उत्तराखण्डमा देहरादुन पर्थ्यो । त्यतै कतै बाटोमा नैनीताल पर्थ्यो । र हामी सोचिरहन्थ्यौँ– सम्भव भए नालापानीसम्म पनि पुग्न पाए ! आखिर हाम्रा वीर बलभद्र कुँवर लडेको गण पो हो त ।
काठमाडौंदेखि म बसमा अमेलिया पुगेँ । लोकेन्द्र सल्यानबाट त्यतै आइपुगे । हामी जाने सवारी नेपालगञ्जमा हामीलाई नै पर्खिरहेथ्यो । अङ्कलले उतैबाट व्यवस्था गरिदिनु भएको । अङ्कलका छोराछोरी (जो नेपालमा नै बसेर स्कुल पढिरहेका छन् ) पनि हामीसँग त्यसै गाडीमा जाँदै रहेछन् । बेलुका करिब ६ बजेतिर रुपैडिया नाका हुँदै भारत प्रवेश गर्यौँ । यो मेरो पहिलो यात्रा थियो छिमेकी देशको । साथी लोकेन्द्र त महिनौँ लामो टुरका क्रममा जम्मै भारत घुमेर खाइसकेका थिए ।
भारत (उत्तर प्रदेश) मैले सोचेको भन्दा खासै फरक रहेनछ । नेपालको तराई जस्तै-जस्तै । साना साना बजारहरू, साना साना घरहरू । अरू त रातिको बेला के नै देख्नु ! बाटामा झ्याल्याक झुलुक बस्तीहरू देखिन्थे, खेतहरू देखिन्थे ।
निदाउँदै–उठ्दै झ्यालबाट बाहिर हेर्दै हामी अर्को दिन बिहान ६ बजेतिर कोटद्वारा पुगियो । यहाँबाट तराई सकिएर पहाड सुरु हुँदो रहेछ । त्यहाँबाट घुमाउरो पहाडी बाटो छिचोल्दै, नेपालतिरकै जस्तो बस्ती गाउँहरूलाई पछि छाड्दै हामी १० बजेतिर ‘पौडी’ भन्ने ठाउँमा पुग्यौँ । बुद्धिराज अङ्कल त्यही बस्नु हुँदो रहेछ ।
पौडी खासमा उत्तराखण्डको एउटा जिल्ला रहेछ । सदरमुकामको नामबाटै जिल्ला बनेको । पहाडमा लटरम्मै घरहरू देख्दा हाम्रै तानसेनको याद आउने । भिरालो जमिन । तल्लो बाटोदेखि माथिल्लो बाटोसम्मै एउटै घर । घरैपिच्छे जस्तो कार । सडकसँग जोडिएको घरको छतमा सटर नराखेर कार पार्किङ गर्ने अनौठो चलन । पहिलो दिन भएर पनि होला, बेलायती वास्तुकलामा आधारित केही घरहरूले पनि राम्रै लोभ्यायो ।
खाना खाएर त्यो दिन आराम गरेर बितायौँ । अङ्कल दिउँसोपख आउनुभयो । बेलुकीपख हामीलाई नजिकैको ईन्जिनियरिङ कलेजमा लिएर जानुभयो । कलेज निकै ठुलो र भव्य थियो । हामीले दुईचार ओटा विभागका भवनहरू हेर्यौँ । फोटो खिचायौँ । अचम्म लागेको कुरा त्यहाँ पनि एउटा भट्टी थियो, कलेज हाताभित्रै । टिनले बारेको । चिया चुरोट पाइने खालको । यता जस्तै कपाल-दाह्री पालेका विद्यार्थीको भिड थियो भट्टीमा । यताजस्तै धुवाँको मुस्लो र हाँसोको फोहोरा बाहिर सडकसम्म आइपुगेथ्यो । ईन्जिनियरिङ कलेज न हुन्, के फरक हुनु, नेपाल होस् कि इन्डिया !
त्यहाँबाट फर्किने बेला अङ्कलले हामीलाई अनौठो प्रस्ताव सुनाउनुभयो,”भोलि केदारनाथ-बद्रीनाथ जाने ।”
हामी दङ्ग पर्यौँ । सोचेकै थिएनौँ । बद्रीनाथ ! केदारनाथ !
झन्डै आठ बजेतिर अङ्कलले हामीलाई नजिकैको भ्यू-पोईन्टमा लानुभयो । त्यहाँबाट पौडीको निकै मनमोहक दृश्य देखिदोरहेछ । झिलिमिली बत्तीहरू बल्दा लाग्यो नौलाखे ताराहरू जम्मै पौडीमा जम्मा भएका छन् । त्यहाँबाट फर्किने बेला अङ्कलले हामीलाई अनौठो प्रस्ताव सुनाउनुभयो,”भोलि केदारनाथ-बद्रीनाथ जाने ।”
हामी दङ्ग पर्यौँ । सोचेकै थिएनौँ । बद्रीनाथ ! केदारनाथ ! अङ्कलले अझ थप्नुभयो– उताबाट आएपछि ‘टेरी ड्याम’ हुँदै नालापानीसम्म जाउँला । हामी झनै मक्ख पर्यौँ । पेटमा के-हो के-हो दुगुर्यो । काउकुती लागेजस्तो भएर ओठ यसै मुस्कुरायो । भन्नै पर्दैन, त्यो रात बहुतै मिठो निन्द्रा लाग्यो ।
०००
अर्को दिन बिहानको करिब ७ बजेतिर रोटी तरकारी खाई निस्कियौँ । करिब ९ बजेतिर श्रीनगर बजार पुग्यौँ । यो हेर्दा ठुलै बजार थियो- पौडी भन्दा पनि । ऋषिकेश तिरबाट केदारनाथ-बद्रीनाथ जाने बाटो यहीँ जोडिँदो रहेछ । गाडीको भिडभाड पनि अलि बढी थियो, गर्मी पनि उस्तै । हरिद्वार–बद्रीनाथ लेखेका उत्तराखण्ड पारवाहनका बसहरू बाटैभरी देखिए । हामी त्यहाँबाट अलकनन्दा नदीलाई देब्रे पारेर अगाडि बढ्यौँ ।
बाटोमा स-साना मन्दिर र पूजा पसलहरु आइरहन्थे । कतै जलविद्युत गृहको पावर हाउस आउँथ्यो । अगाडि बढ्दै जाँदा बाटोमा रुद्रप्रयाग आयो र हामीले त्यहाँको पुल तर्यौँ । सिधा गइरहेको भए बद्रीनाथ पुगिँदो रहेछ । हामी रुद्रप्रयागदेखि मन्दाकिनी नदीलाई समायौँ । मन्दाकिनी नदी केदारनाथबाट नै सुरु भएको नदी थियो । पहाडको बाटो त्यसैमाथि निर्माणाधीन रहेछ, अधिकांश ठाउँमा धुलो थियो । बन्दै गरेको मुग्लिन नारायणगढ सडक खण्डजस्तो ।
अङ्कलसँग विशेषतः साहित्य र राजनीतिको कुरा भयो । उहाँले निकै वर्ष अगाडि गजलको किताब निकाल्नु भएको थियो । त्यसबारेमा कुरा गर्यौँ । पाएसम्म किताबहरू पढ्न पनि औधी मन गर्नुहुन्थ्यो । हामीले विजयकुमारको ‘खुसी’ र नयनराज पाण्डेको ‘यार’ किताब उपहार लगिदिएका थियौँ । उहाँ बहुत खुसी हुनुभयो । उहाँभित्रको साहित्यिक चेत र लेखिरहने हुटहुटीले बहुतै लोभ्यायो ।
त्यस्तै अङ्कल गएको स्थानीय चुनावमा सल्यानमा आफ्नै जन्मथलोमा वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएथ्यो । भलै नतिजा अनुकूल आएन तर पनि उहाँको आफ्नो जन्मभूमि प्रतिको माया र लगाव अचम्मको थियो । उहाँले चुनावताकाका मिठा नमिठा अनुभवहरू हामीसँग खुलेर बाँड्नुभयो । भारत आउँदाको सुरुवाती दिनबारे सुनाउँदा अङ्कल भावुक हुनुभयो । उहाँलाई छिट्टै नेपाल फर्किन मन थियो । समाजसेवा गर्न, देश घुम्न मन थियो ।
लागिरह्यो– अङ्कल देशबाट टाढा रहेर पनि देशलाई आफूभित्रै बोकेर हिडिरहनुभएको छ । सिरियस माहौलमै पनि बेलाबेला म जिस्किन्थेँ, बेलाबेला लोकेन्द्र र बेलाबेला भाइ जिस्किन्थ्यो । हाँस्ने हँसाउने चलिरहन्थ्यो ।
जसोतसो हामी त्यो दिन अगस्तमुनि, गुप्तकाशी हुँदै बेलुकी ७ बजेतिर सोनप्रयागमा गएर बास बस्यौँ । खानामा मसलेदार (पिरो) तरकारी र रोटी खायौँ । अर्को दिन हामी बिहानैदेखि हेलिकप्टरबारे बुझ्न गयौँ । एकजनाको ३३०० आईसीमा एकतर्फी उडान भर्न सकिने रहेछ । जे पर्ला पर्ला अनुभव हुन्छ भनेर हामी जाँदा हेलिकप्टरमा जाने भयौँ । पैदल जानका लागि सोनप्रयागदेखि केदारनाथ करिब १७ किलोमिटर उकालो बाटो थियो । खचाखच भरिएको हेलीस्टेशनमा पालो कुर्दा कुर्दा दिउँसो २ बजेतिर मात्र उड्ने अवसर मिल्यो । त्यो पनि अङ्कलको परिवार एउटामा र अर्कोमा लोकेन्द्र र म । जेहोस् जीवनमै दुर्लभ मिल्ने यस्तो अवसर निकै रमाइलो भयो । पहाडहरूको खोँचबाट । तल हेर्दा खसिन्छ कि जस्तो लाग्ने । दायाँबायाँ हेर्दा ठोक्किन्छ कि जस्तो लाग्ने । आहा !
केदारनाथ मन्दिर (३५५३ मि.) मा ओर्लिएपछि अप्ठेरोजस्तो महसुस भयो मलाई ।
सायद उचाइको समस्याले होला ।
अरू सबैजना सामान्य रहेकाले म पनि सकेसम्म सामान्य नै देखिन खोजेँ ।
हामी त्यहाँबाट सिधै मुख्य मन्दिरतर्फ गयौँ ।
१७ किमी बाटो ६ मिनेटमा पुगिने रहेछ । ओर्लनासाथ अङ्कलले एक दुई ओटा फोटो खिच्दिनुभयो चिनो स्वरूप । केदारनाथ मन्दिर (३५५३ मि.) मा ओर्लिएपछि अप्ठेरोजस्तो महसुस भयो मलाई । सायद उचाइको समस्याले होला । अरू सबैजना सामान्य रहेकाले म पनि सकेसम्म सामान्य नै देखिन खोजेँ । हामी त्यहाँबाट सिधै मुख्य मन्दिरतर्फ गयौँ ।
नेपाली पण्डितहरू प्रशस्तै भेटिँदा रहेछन् त्यहाँ । एक जना गुल्मी तिरको पण्डितलाई लिएर हामी मन्दिरमा पूजा गर्न लाग्यौँ । पूजा सकेर हामीले सन् २०१३ मा आएको बाढी र यसले पुर्याएको क्षतिबारे स्थानीय व्यापारीहरूसँग निधो खोजी गर्यौँ । मन्दिरलाई बाढीबाट बचाएको भनिएको विशाल ढुङ्गाको अवलोकन गर्यौँ । स्थानीयले बताएको पानीको लेभल बुझ्दा त्यो बाढी कत्रो थियो भनेर हामीले अनुमान मात्र गर्न सक्थ्यौँ । त्योभन्दा बढी उक्त प्रलयमा मृत्युवरण गर्नेहरूको चिर शान्तिको कामना गर्न सक्थ्यौँ । हामीले त्यही गर्यौँ ।
पूजाआजा सकिएपछि हामीले घरपरिवार र प्रियजनहरूका लागि केही उपहारहरू किनिदियौँ । छेउको एउटा क्याफेमा बसेर म्यागी चाउचाउ र कफी खायौँ । पहिलोपटकमै मलाई म्यागीको स्वाद बहुत मनपर्यो । साँझ पर्दै थियो, त्यसैले हामीले ढिला नगरी फर्कियौँ । फर्कँदा नदीको पारीपट्टि एउटा बाटोको आकृति देखियो । बाढी आउनु अघि त्यतैबाट रहेछ बाटो । ठाउँ-ठाउँमा बिग्रिएको, कतै त बगाएर केही पनि बाँकी नरहेको । यस्तो दृश्य देख्दा मन भयवित भयो ।
वारिपट्टि बनाउँदै गरेको नयाँ बाटोमा थुप्रै नेपाली कामदारहरू काम गरिरहेका भेटिए । कोही दैलेखका, कोही अछाम, बझाङ, बैतडीका । मानिसहरूलाई बोक्ने डोके, भरियाहरू पनि थुप्रै नेपाली भेटिए । पैदल बाटो भए पनि निकै फराकिलो र आकर्षक बनाइएको थियो । बाटोभरि नै ल्याम्प पोस्ट राखेर झिलिमिली थियो । फर्कँदा हामी अन्ताक्षरी खेल्दै करिब ८ बजे गौरीकुण्ड आइपुग्यौं । गौरीकुण्डमा पनि नेपाली नाम गरेकै होटलहरु प्रशस्त भेटिए । घरीघरी त यस्तो लाग्ने कि हामी केदारनाथ होइन, मुक्तिनाथ गएर फर्किँदै छौँ ।
अर्को दिन केदारनाथदेखि बद्रीनाथका लागि हिँड्यौँ । रुद्र प्रयाग-केदारनाथ खण्डको कुण्ड भन्ने ठाउँबाट बाइपास रोड रहेछ । केदारनाथ संरक्षण क्षेत्र हुँदै जाने यो सडकमा थुप्रै रिसोर्ट र क्याम्प साइटहरू थिए । घना जङ्गल र चिसो मौसम हुँदै अगाडि बढ्दा बाटोमा कुंकुली–गोपेश्वर आइपुग्यो । गोपेश्वरको पारी चमोली । यो पनि अर्को जिल्लाको सदरमुकाम बजार थियो । हामी फेरी अलकनन्दा नदिलाई देब्रेतिर पारेर अगाडि बढ्यौँ । बाटोमा सुन्दर जोशी मठ बजार आइपुग्यो । जोशीमठबाट ओरालो झरेर हामी अलकनन्दा नदी तरी अगाडि बढ्यौँ । करिब बेलुकीको आठ बजेतिर बद्रीनाथ पुग्यौँ । गाडी मन्दिर नजिकैसम्म पुग्दो रहेछ । ठुलै सहरजस्तो थियो मन्दिर आसपासको माहौल । पूजा सामाग्रीहरूको पसल र धर्मशालाहरू । नजिकै सेतै टल्किएका हिमालहरू । हामीले मन्दिरमा गएर पूजा आजा गर्यौँ । आरतीको बेला रहेछ– मिठो भजन गाइरहेथे मानिसहरू । केही फोटोहरू खिचायौँ, मालाहरू किन्यौँ र बस्ने होटेलको खोजीमा लाग्यौँ । अलिकति भात र अलिकति रोटी तरकारी खाई त्यो रात नजिकैको होटेलमा बितायौँ ।
अर्को दिन बिहानै माना भन्ने भारतको अन्तिम गाउँ घुमेर फर्किने सुरसार गर्यौँ ।
मानिसहरू भन्थेँ– बद्रीनाथ आइसकेपछि ‘फुलो कि घाँटी’ छुटाउनै हुँदैन । नाम सुन्दैमा हामीलाई पनि छुटाउन मन थिएन । तर छुट्यो ।
यतिन्जेलमा दसैँको अष्टमी तिथी आइसकेको थियो । घरबाट तारन्तार ‘कहाँ हो ? र कहिले फर्किने हो ?’ भन्दै फोनहरु आइरहेथे । एकातिर अङ्कल हुनुहुन्थ्यो जो हामीलाई टेरी ड्याम, देहेरादुन र नालापानी घुमाउन लैजाने योजनामा हुनुहुन्थ्यो । एकातिर घर र दसैँ थियो, हाम्रो बाटो हेरिरहेको ।
अन्ततः हामीले भोलिपल्ट घर फर्किने सोच बनायौँ । श्रीनगरसम्म अकंलहरुसँग एउटै गाडीमा आएर हामी छुट्टियौँ । कसो-कसो नरमाईलो लाग्यो । कहिल्यै नसकिए पनि हुन्थ्यो जस्तो भइरहेथ्यो यात्रा ।
अङ्कलसँगको अनेक राजनीतिक गफ, साहित्यिक गफ, अन्टिको माया, भाईबैनीको स्नेह, सबै सबै पछाडि छोडेर फर्किदा मनै रुन्चे भइदियो । हामी त्यो दिन ऋषिकेश हुँदै हरिद्वार आइपुग्यौँ । दसैँको दिन बिहान बनबासा नाका हुँदै अन्ततः नेपाल छिर्यौँ ।
०००
०००