Logo

जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन सिके राउतको माग



Spread the love

२ असोज, जनकपुरधाम । जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन जनमत पार्टीका संयोजक डा. सिके राउतले सरकार समक्ष माग गरेका छन् । संविधानकाे धारा २७५ ले दिएकाे जनमत संग्रहकाे अधिकारका लागि आवश्यक ऐन बनाउनु पर्ने माग संयोजक डा. राउतले गरेका हुन् ।

file photo

 

जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन माग गर्दै सिके राउतले आफ्नाे फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानको धारा २७५ मा रहेको जनमत संग्रह गर्ने व्यवस्थाका लागि आवश्यक ऐन तयार गर्दै ५ लाख नागरिकले आवश्यक संविधान संशोधनको लागि हस्ताक्षर गरेर बुझाएको खण्डमा सो विषयलाई संघीय संसद्ले जनमत संग्रहमा लग्नुपर्ने प्रावधान ल्याउन जनमत पार्टीले माग गर्दछ’ ।

उनले, संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा सन् १९६० दिसम्बर १४ मा पारित निर्णय १५१४ (एक्सभी), तथा सन् १९६६ डिसेम्बर १६ मा पारित निर्णय २२०० (ए-एक्सएक्सआई) आईसिसिपीआर/आइसिईएससीआर अनुसार समुदायहरूको आत्मनिर्णयको अधिकार स्थापित गर्दै प्रदेशहरूलाई अधिकार सम्पन्न र स्वायत्त बनाउन माग गरेका छन् ।

‘राइट टू रिकाल’को संवैधानिक व्यवस्था गर्न पनि सरकारसँग उनले माग गरेका छन् । र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मजबूत बनाउँदै र जनभावना अनुरुप सिमांकन सच्चाउनु पर्नेमा राउतकाे जाेड छ ।

शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन र मुद्दा फिर्ता लिन माग गर्दै राउतले असोज ३ लाई कालो दिवसको रुपमा मनाउने निर्णय पनि गरेका छन् । संविधान दिवसका दिन शहीदको बलिदानीको सम्मान गर्न र विगतका सम्पूर्ण सम्झौताहरू लागू गर्न दबाब दिन घर-घरमा शहीदलाई श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका छन् ।

गत फाल्गुन २४ गते, राष्ट्रिय सभागृहमा भएकाे कार्यक्रममा छुट्टै राज्यकाे माग छाेड्ने र मूलधारकाे राजनितिमा आउने सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्