Logo

टी २० सिरिजको लागि नेपाली टिम घोषणा: राष्ट्रिय टिममा कुशल र इशानको इन्ट्री, ऐरीलाई उपकप्तानको जिम्मा



Spread the love

२ असोज, काठमाडौं ।  नेपालले आसन्न सिंगापुर र ओमानमा हुन लागेको  टी–२० क्रिकेट सिरिजका  लागि टिम घोषणा गरेको छ । घोषित नेपाली टिममा इशान पाण्डे र कुशल मल्लले इन्ट्री गरेका हुन् । नियमित उप–कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । मातृशोकका  कारण  घर  फर्किएका प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएपछि बिहीबार नेपाली टिमको घोषणा गरिएको हो ।

                                                                  राष्ट्रिय क्रिकेट टिममा इन्ट्री भएका नयाँ खेलाडी इशान पाण्डे र कुशल मल्ल

पाण्डे र मल्ल यू-१९ बाट आएका हुन् । सुशन भारी, आरिफ शेख र सन्दीप जोरा पनि राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भएका छन् ।कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताउँदै भने, ‘जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’

नेपालले सिंगापुरमा घरेलु  टिमसहित  जिम्बाब्वेविरुद्ध  सिरिज  खेल्दै  छ  भने  त्यसपछि  आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमानसँगको सिरिज खेल्ने छ ।

आसन्न दुवै सिरिजका लागि घोषणा गरिएको १५ सदस्यीय टिममा कप्तान पारस खड्कासहित सन्दीप लामिछाने, विनोद भण्डारी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र पवन शर्राफ छन् भने बसन्त रेग्मी र शरद भेषावकर छैनन्, उनिहरूलाई आराम दिइएको छ ।

ओमान क्रिकेट संघको आयोजनामा, अक्टोबर ५ बाट १० अक्टोबरसम्म हुने टी-२० सिरिजमा पाँच देशको सिरिज सुरु हुनेछ जसमा, टेष्ट राष्ट्र आयरल्याण्डसँगै नेपाल, हङकङ र नेदरल्याण्ड सहभागी हुनेछन् ।

नेपालले १९ असोजमा हङकङसँग खेल्नेछ भने २० गते नेदरल्याण्ड्सँग, २२ गते आयरल्याण्डसँग र २३ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्