चार वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणका लागि गोरखाको बारपाकमा बन्दै गरेको स्तम्भ निर्माण लगभग आधा सकिएको छ ।
‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको यस स्मारकको निर्माण सोचेअनुसार अगाडि नबढे पनि अहिलेसम्म ५० प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको सो दुःखद घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताए । उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा बन्दै गरेको भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।
सो ठाउँमा भूकम्प स्मृति स्तम्भसहितको भूकम्प स्मारक पार्कसमेत निर्माण गर्न लागिएको छ । स्तम्भका खम्बाहरू उठाई ‘स्लोप’ ढलानको कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
उनले स्तम्भ तथा पार्क निर्माणका लागि अहिले ‘ल्यान्ड डेभलपमेन्ट’को काम भइरहेको बताए । अहिले सो स्मृति स्तम्भसम्म पुग्न पहुँच मार्ग निर्माण भइरहेको छ । बाटोमा कल्भर्ट निर्माणसमेत गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको भनाइ छ ।
त्यसैगरी भूकम्प स्मृति स्मारिका, क्यान्टिन, टिकेट काउन्टर, पार्किङ क्षेत्र, शौचालयलगायतका अत्यावश्यक भौतिक संरचनाहको निर्माण पनि सँगसँगै भइरहेको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार अहिलेसम्म आयोजनाको वित्तीय आधारमा भने ३८ प्रतिशत प्रगति भएको छ ।
यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।