Logo

सांसद संग्रौलाको प्रश्न- “सरकार किन डेंगु नियन्त्रणमा असफल ?”



Spread the love

२२ भदौं, काठमाडौँ l डेंगु रोगको प्रकोप नियन्त्रण गरेर सङ्क्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सरकारसँग नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले माग गरेकी छन् l

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद संग्रौलाले सभामुख कृष्णबहादुर महरामार्फत् सरकारसँग डेंगु रोगको प्रकोप नियन्त्रण गरेर सङ्क्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न माग गरेकी हुन् ।

सांसद संग्रौलाले देशभरी डेंगु रोगको संक्रमणबाट जनता आक्रान्त हुँदा पनि प्रकोपको प्रभावकारी नियन्त्रणमा अग्रसर नदेखिएको बताउँदै सरकारको आलोचना गरिन् ।

देशभर डेंगु संक्रमितको तथ्यांङ्क प्रस्तुत गर्दै सांसद संग्रौलाले भनिन्, “यस्तो भयावह अवस्थामा डेंगुको संक्रमणले जनता अक्रान्त हुँदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा जुटेको पाइँदैन, किन ? डेंगुको संक्रमण देशैभरी फैलिरहँदा सरकार भने औलो नियन्त्रणको उपाय खोज्न बैठक गर्दैछ, किन? आजको आवश्यकता डेंगुको नियन्त्रणका लागि बैठक हुनुपर्ने हो । त्यसैले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट सङ्क्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमाफर्त सरकारसँग जोडदार माग गर्दछु ।”

तराईबाट फैलिएको डेंगु रोगको नियन्त्रण सुरुवातबाटै गरेको भए पहाडी जिल्लामा नफैलिने सांसद संग्रौलाको भनाइ थियो । उनले भनिन, “सुरुमा तराईमा मात्र देखिने डेंगुको संक्रमण अहिले आएर चितवन, काठमाडौँ, कास्की हुँदै देशैभरी संक्रमण बढिरहेको छ । सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देशैभरी यसको प्रभाव भयावह रूपमा फैलिने थिएन l”

प्रतिक्रिया दिनुहोस्