Logo

प्रचण्डलाइ अप्ठेराेमा पार्न नेकपामा नयाँ समिकरण



Spread the love

२२ भदौ, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीमा एक व्यक्ति एक जिम्मेवारीको बहस शुरू भएको र अब पार्टी चलाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने राय व्यक्त गरे ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले भने ‘हाम्रो पार्टी अहिले सत्तामा छ,वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ। त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।’ ज्ञवालीले शनिवार मात्र यो कुरा खुलासा गरेको भएपनि नेकपाभित्र एक व्यक्ति एक जिम्मेवारीको बहस नयाँ भने होइन ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमै हालका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित दस्तावेजमै एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने उल्लेख गरेका थिए । पछिल्लो समयमा नेकपाभित्र प्रचण्डको शक्ति बढेको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओली उपचारका लागि दोस्रोपटक सिंगापुर जानुभन्दा अघि बसेको सचिवालय बैठकले अध्यक्ष प्रचण्डलाई नेकपाको कार्यकारी जिम्मेवारी दिने घोषणा गरेको थियो ।

ओली सिंगापुर प्रस्थान गरेको तेस्रो दिनमा प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्यो । उक्त बैठकले केही नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने निर्णय गर्यो भने एकताका बाँकी रहेका केही निर्णयहरू गर्यो । सोही बैठकले पार्टीको विधानविपरित मनपरी बोल्ने नेता-कार्यकर्ताहरूलाई अनुशासनको कारवाही गर्ने निर्णय पनि गर्यो । यद्यपि अहिलेसम्म कुनै नेता-कार्यकर्ता कारवाहीमा परेका छैनन् । पार्टीभित्र प्रचण्ड प्रतिकूल समीकरण ! पछिल्लो समयमा प्रचण्डनिकट मानिएका वामदेव गौतम अहिले ‘ओली ध्रुव’मा स्थानान्तरण भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘साइज’मा राख्ने रणनीति लिएका अध्यक्ष ओलीले वामदेवलाई विधानमै व्यवस्था नभएको उपाध्यक्ष पदमा सिफारिस गरे । यद्यपि स्थायी कमिटीले निर्णय गरेर केन्द्रीय कमिटीले पास गरेपछि मात्र गौतमको उपाध्यक्ष पद कार्यान्वयनमा आउनेछ । पुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा एक व्यक्ति एक पदको व्यवस्था गर्नुपर्ने भन्दै गौतमले राखेको लिखित दस्तावेजलाई अध्यक्ष ओलीले ‘रद्दीको कागज’को संज्ञा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्