Logo

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै



Spread the love

२२ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आइतबार (आज) साँझ काठमाडौं आउँदैछन् । वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरेका थिए । शनिबार पाकिस्तान भ्रमणमा गएका विदेशमन्त्री यी इस्लामावादबाट आइतबार साँझ सीधै काठमाडौं ओर्लिनेछन् ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार मात्रै हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन-काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्