Logo

बेरोजगारको लागि रोजगारी पसल सञ्चालन



Spread the love

२१ भाद्र, बाँके – बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि रोजगारी पसल सञ्चालन भएको छ । बेरोजगार व्यक्तिको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पुर्याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले पसलको उद्घाटन गर्दै नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने सवल र दक्ष कामदारको माग सहज रुपमा पुर्याउनका लागि रोजगार पसलले मद्दत गर्न सक्ने बताए ।

रोजगारी पसलका प्रबन्ध निर्देशक गिरीले पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेको लागि पुलको काम गर्ने जानकारी दिए । “हामीले रोजगारदाता सङ्घसंस्थाले गरेको मागअनुसार दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछाैँ”, उनले भने, “विदेशमा गएर पसिना बगाउनुभन्दा सीप सिकेर सीपअनुसार जागिर नेपालमै गरी आयआर्जन गर्न सकिनेछ ।”

सन् २०१२ मा स्थापना भई देशका काठमाडौँ, इटहरी र पोखरा जस्ता शहरबाट पसलले यस प्रकारको सेवाप्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जिव निरौलाले बताए । हालसम्म देशैभरीबाट एक लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको दाबी छ ।

उनका अनुसार, पसलमा हाल पाँच हजार बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । रोजगारी पसल नेपालगञ्जका शाखा प्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने बताए ।

उनका अनुसार, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्