Logo

विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई अर्थमन्त्री खतिवडाको आग्रह



Spread the love

२१ भदौं, काठमाडौँ । विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । सरकारले नेपालभित्रै विद्युतीय सामाग्री उत्पादन गर्दा संरक्षण दिने अर्थमन्त्री खतिवडाको भनाई छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घको दसौँ वार्षिक साधारणसभामा सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले घरायसी उपकरण मात्र नभई औद्योगिक र व्यावसायिक विद्युतीय उपकरण पनि नेपालभित्रै उत्पादन गर्नुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘विद्युतीय सामग्री नेपालमा उत्पादन हुन्छन् भने हामी संरक्षण दिन्छौं। त्यस्तो संरक्षण दिनलाई सरकारले सबै उपाय अपनाउँछ । आयातमा भन्सार लगाउन सकिन्छ। भन्सार सस्तो भयो भने मूल्याङ्कन पनि बढाउँछौं। त्यतिले पनि पुगेन भने अन्तःशुल्क लगाउन सक्छौँ र मूल्य अभिवृद्धि कर त लगाउने नै भयौँ ।’

विद्युत् उत्पादन र वितरणमा नेपाल आत्मनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने मन्तव्य मन्तव्य अर्थमन्त्री खतिवडाले राखेका छन् ।

उनले भने, ‘सरकारको आशय के हो भने यस्ता सामाग्री नेपालभित्रै उत्पादन गर्न प्राविधिक रूपमा ज्यादै जटिल छैनन्। विद्युतीय उपकरण मुलुकभित्रै उत्पादन गर्न आउनुहोस् भनेर आह्वान गरेको सरकारको सन्देशका रूपमा बुझिदिन अनुरोध गर्दछु ।’

अर्थमन्त्री खतिवडाले नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भनेर निजी क्षेत्रले स्पष्ट कार्य योजना बनाएर बुझाउन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘कस्ता कुरामा प्राविधिक तथा नीतिगत सहयोग चाहिन्छ र हामी थप आत्मनिर्भर हुन सक्छौँ भनेर त्यसको कार्य योजना लिएर आउनुहोस्। सरकार सहयोग गर्न तयार छ। अर्काको उत्पादनमा नाफा होइन हामी आफ्नै उत्पादनमा, आफ्नै व्यवसायमा नाफा गर्न सक्छौँ ।’

अर्थमन्त्री खतिवडाले नेपालको विद्युत् उत्पादनसँगै त्यसको खपतमा जोड दिनुपर्ने बताउँदै पेट्रोलियम ऊर्जालाई विद्युतीय ऊर्जाका माध्यमबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्य योजना लिएर अगाडि बढेको पनि बताएका छन् ।

अर्थमन्त्री खतिवडाले भने, ‘हामीलाई छिट्टै एलपी ग्याँसको खपत घटाउनु छ। एक दुई वर्षमा नै त्यसको उत्पादन आधा गर्ने गरी तयारी गरिरहेका छौँ ।’

अर्थमन्त्री खतिवडाले विद्युतीय सामग्री बाहिरबाट आयात गर्ने र नेपालमा त्यसको व्यापार गर्दा व्यवसायीहरूले सहुलियत पाउने विषयमा स्वयंले सोच्न समेत नसक्ने स्पष्ट पार्दै उनले भने, ‘तपाईँहरूको उज्ज्वल भविष्य छ । मुलुकभित्रै उत्पादन गर्नुहोला । उत्पादित वस्तु आयात गर्नका लागि सरकारले भन्सार घटाउने सम्भावना कम छ । सबैलाई सबैठाउँमा खुसी पार्न सकिँदैन ।’

अर्थमन्त्री खतिवडाले व्यापारीहरूको आलोचना गर्न बाँकी नछाडेको भन्दै कटाक्ष गर्दै भने, ‘विद्युतीय सामग्री मात्रै कडा हुन्छ, चम्किलो हुन्छ भन्ने लागेको थियो । तर तपाइहरू पनि विद्युतको व्यापार गर्दागर्दै करेन्ट प्रवाह गर्ने भईसक्नु भएछ। राम्रै झड्का दिनुहुँदो रहेछ, त्यो मैले महसुस गरे । यद्यपि त्यसको स्विच अन्तै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्