Logo

स्याङ्जामा जीप दुर्घटना: ३ को मृत्यु, २० घाइते



Spread the love

१८ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप गल्याङ् गरपालिका-३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको हो । बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार थिए ।

चालकका भाइ सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस्