Logo

प्रहरीले कुटे, कन्टेनर चालकलाई



Spread the love

१८ भदौ, काठमाडौं । मङ्गलवार रसुवाको टिमुरेमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवलदार मिलेर नेपाल-चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालकलाई कुटेका छन्। कुटिनेमा कन्टेनर चालक श्रीमान् तामाङ रहेका छन् ।

भाइरल भिडियोमा दुई प्रहरीले, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ । चालकमाथि प्रहरीले गरेको ज्यादति  देखेपछी प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले प्रत्यक्षदर्शीलाई धम्क्याएका छन् ।

‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयाको चौतर्फी आलोचना भएको छ । घटनाको विरोधमा बुधवार ट्यांकर चालकहरूले सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन् ।

अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालले दाबी गरे । साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको उनले बताए ।

यसबारे अनुसन्धान थालेको र  प्रहरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता प्रहरी प्रमुख ढकालले जनाए । कुटपिट गर्ने असई र हवलदारको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्