Logo

नेपालगञ्जका पत्रकारविरुद्ध मुद्दा दायर



Spread the love

१० भाद्र, नेपालगञ्ज – नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन् ।

अध्यक्ष बेहनाले मुद्दा दायर गरेलगत्तै पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ । अभद्र व्यवहारसम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो । वडाध्यक्ष बेहनाले नौ दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे पनि मेलमिलापका लागि समय दिइएको प्रहरी उपरीक्षक वलीले बताए । पत्रकार श्रेष्ठलाई पक्राउ गर्नका लागि आज नै पक्राउ पुर्जी जारी गरेको मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लले बताए ।

श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक–पटक आफूलाई धम्की दिई गैरकानूनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन् । उनका अनुसार पत्रकार श्रेष्ठले गत असारमा वडा कार्यालयभित्र प्रवेश गरी फिरौती माग गरेका थिए । आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने काम पत्रकार श्रेष्ठले गरेको वडाध्यक्ष बेहनाले बताए ।

मुलुकी अपराधसंहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको प्रहरी उपरीक्षक वलीले बताए ।

श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरीत काम गरी नेपाल पत्रकार महासङ्घ र जिल्लाका पत्रकारको प्रतिष्ठामाथि आँच पुर्याएका कारण पत्रकार महासङ्घले करीब आठ वर्षअघि साधारण सदस्यता खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्