०००
०००
घरीघरी त जिन्दगी यो
कविता जस्तो लाग्छ !!
कहिले,
रहरलाग्दा
चट्ट मिलेका
पद्यहरू जस्तो !
कहिले,
अस्तव्यस्त
छरपस्ट
गद्यहरू जस्तो !
केही मिले-मिले जस्तो
केही नमिले-नमिले जस्तो
खै,
कस्तो कस्तो लाग्छ !!
घरीघरी त जिन्दगी यो,
कविता जस्तो लाग्छ !!
०००
कविता, कसैलाई
छोटो लाग्न सक्छ !
कविता, कसैलाई
लामो लाग्न सक्छ !
उसैगरी,
जसरी,
वर्षहरू फकिरलाई,
दिन लाग्न सक्छ !
दिनहरू बुज्रुकलाई,
वर्ष लाग्न सक्छ !!
०००
ऊ अझै पनि
जिन्दगी:
“एक समय हो”
भन्दै गर्दा
मलाई भने किनकिन यो,
दुरी जस्तो लाग्छ ।
नथाकुन्जेल हिड्नै पर्ने,
मजबुरी जस्तो लाग्छ ।
०००
हिड्दा हिड्दै
दोबाटो मै
बाटो बिर्सिएको दिन,
घिसार्दा घिसार्दै
जिन्दगीको
सफर धिर्मिराएको दिन,
जसोतसो
हिडी आएको त्यो
बाटो सम्झिएको दिन,
लाग्छ,
कताकता केही छुटे-छुटे जस्तो
कताकता केही नपुगे-नपुगे जस्तो
घरी खुबै घमघमाइलो
घरी बेहद तमतमाइलो
खै,
कता-कताबाट रचिएको यो
रमिता जस्तो लाग्छ ।
अचेल त यो जिन्दगी नै
कविता जस्तो लाग्छ ।
०००
०००