६ भाद्र, काठमाडाैँ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताएका छन् छ । जनअधिकार अभियान नेपालद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तरक्रियामा उनले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्याएको उदार अर्थतन्त्रकै कारण मुलुकमा आर्थिक क्रियाकलाप बढेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्ने र संविधानमा रहेका त्रुटीलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टीका नेता डिसी नेपालले सरकारले जनताको हितमा काम गरी मानव अधिकारको रक्षा गर्नुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द पौडेलले मानव अधिकारबिना लोकतन्त्रको शोभा नबढ्ने विचार व्यक्त गरे ।
कार्यक्रममा कम्युनिष्ट नेता रामरिझन यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तम तिमल्सिना, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, लेखक एवं विश्लेषक नरेन्द्र जम्मकट्टेललगायतले सरकारले नेपाली जनताको चाहना र आकांक्षाअनुसार काम गर्नुपर्ने सुझाव दिए । सो अवसरमा अभियानका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र पस्तुत गरेका थिए ।