उसलाई सधैँ लाग्थ्यो,
यो भिरालो वन पाखा, यो न्याउली र कोइलीको बोली, यो गाईबस्तु र माटोले छाएको घर भन्दा बाहिर, बादलहरू सुस्ताउने ठाउँतिर एउटा छुट्टै संसार छ। उसलाई लाग्थ्यो केबल ऊ नजिकका चरीहरूले त्यो संसारलाई देखेका छन्। ऊ त्यसैले चरा हुन चाहन्थी। उसलाई विश्वास थियो, जीवनको तात्पर्यता केवल याहि समाप्त हुन सक्दैन।
पहाडको छाती भित्र समेटिएको एउटा सानो बस्ती; १६ वर्षको सरलता बोकेर कुवाको पानीमा आफू छल्किरहेको हेर्दै, गाग्रीमा पानी भरेर ऊ घर जाँदै थिई। उसको नाम सिरा थियो। बौद्ध देवी `सिरा कान्द्रो´ अनुसार राखिएको। गाग्रीको पानी र उसको जोवन सँगसँगै `पोखौं ..पोखौं´ झैँ गरिरहेका थिए। उसकी दिदी २२ वर्षकी, ऊ भन्दा अलिक बढी फक्रिएकी; सुन्दरता उसमा पनि थियो तर संयम खालको, आफैमा भरिपूर्ण जस्तो। यी दुईलाई हेर्दा लाग्छ, सायद सजीवतालाई पूर्णतया यहिकहीँ भेटाउन सकिन्छ।
जब सुलब जस्तो यात्री, सहरको रमझम र व्यवस्थाको सिङ्गो आफ्नो आचरणहरूमा बोकेर उसको घर आएको थियो, उसको आँखा उन्मत्त र निस्सार देखिन्थे। ऊ अस्तित्व भित्र अल्झिरहे झैँ देखिन्थ्यो। हो, ऊ प्रतिनिधित्व थियो सहरको। उसमा रहरहरू थिए, मौन अभिव्यक्ति थिए, इच्छाहरू पनि थिए र सबैभन्दा बढी समयसँगको परिवर्तन थियो। ऊ नयाँ थियो, नौलो थियो र सुकुमार थियो र उसले सिराको घरमा केही दिनका लागि बास मागिरहेको थियो।
पानी लेराउदै गरेकी सिराको उसले एउटा तस्बिर खिच्यो । सिरा उसको नजिकै गएर ती तस्बिर हेरी; थोरै लजाउँदै, थोरै निहुरिँदै। कसैले उसलाई बीना शृङ्गार राम्री बनाइदिएको थियो। सुलबको बास त्यहाँ समर्थन भइसकेको थियो र त्यस दिन तिनले बाख्राहरू चराउन खोला किनारको चउरमा जाने निधो गरे। तरङ्गित बाटो, लहराउँदै तिनीहरू हिँडिरहे। रमाउँदै,बाख्रा धपाउँदै, डोर्याउँदै, आफ्नोपनमा कुराहरू कोट्याउँदै…सिरा सुलबका कुराहरू सुन्न इच्छुक थिइन् र ऊ आफ्नो बाल्यकालका किस्साहरू आफ्नो सल्बलाउदो अतीतबाट निकाल्दै सिराका सामु राख्दै थियो। उसले कोसिस हजार गर्यो, आफू भित्र केही मार्न कोसिसमा ऊ पलपल भिडको मान्छे बन्न खोज्यो। तर उसका घुमन्ते बन्ने चाहाना धूलो जस्ता थिए, जति झारे पनि फर्केर आइपुग्थे । नयाँ वसन्त जस्ता थिए, ऊ तिनलाई अवहेलना गर्न सक्दैन थियो र सोच्थ्यो `प्रत्येक मानिस भित्र सिद्धार्थ हुन्छ । एउटा नसुल्झिएको प्रश्न हुन्छ र त्यसको उत्तरका निम्ति उसले कुनै दिन बाटो पहल्याउदै हिँड्नुपर्छ।´ त्यसैले एक बिहानै, सारा जिम्मेवारीहरूलाई लत्त्याएर, आफ्नो अन्तस्करणलाई मन्द पार्दै ऊ प्रयोजनहीन हिँडेको थियो। ऊ भन्दै थियो `सायद दुई महिना भयो।´
घाम…जो हावासँग लुट्पूटिदै पुरा पृथ्वी नम्र बनाई रहेको थियो र सिरा वरको न्यानो काखमा आफ्नो हृदयभित्र छिर्ने वाहाना गर्दै कपी, कलम र सुमधुर वातावरणसँग लत्रिन खोज्दै थिइन्। बादलको आकारजस्तै उसका कल्पनाका घटनाहरू फेरिए, हावासँगै ऊ उच्चालिन खोजी र पुतलीजस्तै सुन्दरताप्रति आकर्षत हुन थालिन्। उसका कलमका टुप्पा, कपीका अनेकौँ कुनाहरूमा, बिचमा र पेदहरुमा पुगे । हात दुखे,आँखा सटिक थिए र मुटुको बाण एकदम रहस्यपूर्ण। आखिरमा एउटा नर्तकीको चित्र बन्यो जो एउटा सुन्दर परनिरमा झ्यालनिर हात राख्दै आकाश माथि हेरिरहेकी थिई। ऊ आकाशसँग केही बिन्ती पोखिरहे झैँ देखिन्थिन्। त्यसको केही छिनपछि मकै र भटमासको पोको लिँदै सुलभ र सिरा त्यहाँ आइपुगे। उसले आफ्नो चित्र तिनलाई देखाई र दुवैले खुब प्रशंसा गरे। सुलबले तिनलाई रङ्ग लगाउने सुझाव दियो। प्रतिक्रियामा उनी चुपचाप मकै खाइरहिन्।
साँझमा खोला पारिको घाम निकै नै मोहित देखिन्थ्यो तर उनीहरू अब त्यहाँबाट जानुपर्थ्यो, फर्केर आफ्नो घर। सुलबले त्यो सुन्दर दृश्यलाई आफ्नो क्यामराला कैद गर्यो, यस कारण कि पछि जब ऊ तिनलाई हेरोस्, उसलाई छुटेका पलहरू भन्दा बाचेको दिनहरूप्रति बढी सन्तुष्ट होस्।
अर्को दिन पनि त्यसरी नै बित्यो। वन सुसेल्दै, खुट्टामा नयाँपन पाए झैँ, नयाँ सपना देख्ने हतारमा, रातको सुनसान छाम्ने आकाङ्क्षा बोक्दै, दिनको गतिविधिलाई मस्तिष्कमा सजाउँदै उनीहरू घर फर्किए। गाउँबाट सुलबलाई भेट्न भनी आएका मानिसहरूसँग उसले रमाइलो कुराकानी गरेर बितायो तर तिनीहरूको गरिबीप्रति उसलाई दया भन्दा बढी असीमित सम्मान जागेको थियो।
ऊ सुत्ने बेला सिराको मामाघर, जुन तिन घर माथि थियो, त्यहाँ जान्थ्यो केवल सिराको घरमा लोग्ने मान्छे नभएको कारणले। जब सिराले उनको ओछ्यान त्यहाँ तयार पार्दिएर घर फर्कने लागेकी थिई, उनले सुलबलाई झ्याउँकिरीको धुन सुन्न जुनको साथी बन्दै बाहिर बसिरहेको देखिन्।टाढाबाट हेर्दा लाग्थ्यो, ऊ कतै पर केहीको ढुकढुकी छुन खोजिरहेको छ। ऊ कसैको आवाज सुनिरहेको छ। रातको निरवता महसुस गर्न उनी पनि उसको नजिकै गएर बसिन्। केही बोलौँ जस्तो गरिन् तर बोलाई त्यहाँ एकदम अनावश्यक जस्तै थिए। न उसले केही बोल्यो न सिराले नै केही भन्न सकिन्। जुन प्रगाढ लागेको थियो, ताराहरू उसलाई नै हेरिरहेका झैँ देखिन्थे,रात आफ्नै सिलसिलामा चलिरहेका थिए र सारा वन जङ्गल कुनै चित्रमा सङ्गीत भरिएजस्तो।
उनले बडो नरम स्वरमा भनेकी थिइन्,”यहाँबाट अब तपाईँ कहाँ जानुहुन्छ?”…
“थाहा छैन”, उसले आँखा जस्ताको त्यस्तै अपिल भावमा भनेको थियो।
उनले लगत्तै सोचेकी थिइन् `आखिर यसलाई पनि त जीवन भनिन्छ, यो पनि त भोगाइ।´ उनले अरू यस्तै प्रश्नहरू त्यस्तै अस्पष्ट प्रतिक्रिया पाइन्।
केहीछिन् पछि मात्रै उसले गहिरो स्वरमा, केही सोचेजस्तो गरी भनेको थियो, “म मान्छे बन्न चाहन्छु सिरा…भत्किएको, बिग्रिएको र फेरि जोडिएको र फेरि भत्किएको। अहमता भएको । अभिलाषाहरू भएको । लड्न सक्ने । इतिहास आफैँभित्र दैडाउन सक्ने । बर्बाद हुन सक्ने ।प्रेम महसुस गर्न सक्ने,फर्काउन सक्ने । आत्मा चिन्न सक्ने । आफूलाई र आफूजस्तैलाई बुझ्न सक्ने….म पारदर्शी हुन चाहन्छु सिरा, आफ्नो अराजकता र कौशलताको नाङ्गो सिकार हुन ।”
उनले स्वीकार गरिन्, उनी भित्र पनि त्यस्तै केही थियो। उनी पनि आफ्नो विरोधहरूलाई खोतलेर आफूलाई नाप्न चाहन्थी,आफैँमा स्पष्ट भएर आफ्नो बाटो पहिल्याउन र कहिलेकाहीँ मधहोसी मै बाटो बिराउन पनि। तर अझै पनि उनी उसलाई भाग्यमानी व्यक्ति ठान्न सकिरहेकी थिइनन्। आफ्नो भाग्य आफैँ बनाउन हिँडेको मान्छेलाई के भनिन्छ? उसलाई थाहा छैन।
त्यस रात उसले सिरा तिर फर्कँदै भनेको थियो, “एउटा कुरा भन्छु, मान्छौँ?”उनले बडो उत्सुक भावमा सोधी, “के कुरा?” उसले जवाफ दियो, “आफ्नो चित्रमा रङ्ग भर ल !” प्रतिउत्तरमा उनले मात्र टाउको हल्लाइदिइन्। उनलाई भन्न मन लागेन कि रङ्गहरू एकदम महँगो हुन्छन् र टाढा पनि।
त्यसको भोलिपल्ट ऊ गाउँ छोडेर गयो। सूर्य भन्दा चाडै ऊ उठ्यो, मनको उदास पोलाई र दिमागको योजनासँग एकदम सचेत हुँदै,आफ्नो ब्याग तयार पार्यो र सरासर त्यहाँबाट हिँड्यो। उसले फर्केर बस् एक चोटि हेर्यो, धमिलो देख्यो। उसले कसैलाई `जान्छु है´ पनि भनेन। उसले आँसु पनि झारेन। बस् बेलाबेला आकाश हेर्थ्यो र भारी सास फेर्दै गाह्रो गरी थुक निल्थ्यो।
सिरा र उसका परिवारले उसको सिरानी नेर एउटा सानो चिट र केही नगर भेट्टाएका थिए। त्यस चिटमा लेखिएको थियो `रंगका लागि।´
आज पनि जब सिरा उसलाई आफ्नो कल्पनाहरूमा भेट्छे…ऊ उस्तै देखिन्छ। क्यामरा भिर्दै, खैरो आँखाले खोइ के के खोजिरहे झैँ । केही नौलो अनुभव गरिरहे झैँ । कुनै पहाड, कुनै जङ्गली फुलको वासनामा …प्रत्येक पल ऊ बाचिरहेको छ,आफ्नै भइरहेको छ र ऊ जाँदाको उसलाई कल्पना गर्न खोज्छे। उनी आजकाल बाटो हेर्दै घरको आँगनमा बसेर रङ्गीचङ्गी चित्र कोर्छे र जब साँझ पर्छ उनलाई सधैँ `यो साँझ’ कोही आउँछ जस्तो लाग्छ।