Logo

व्यवसायी भिसिटिएसप्रति उत्सुक



Spread the love

२ भाद्र, काठमाडाैँ – मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली (भिसिटिएस) प्रति रुपन्देहीका उद्योगी तथा व्यवसायी उत्सुक देखिएका छन् ।

रुपन्देही उद्योग सङ्घले आज बुटवलमा आयोजना गरेको भिसिटिएस, प्यान तथा सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उद्योगी तथा व्यवसायीले विभिन्न जिज्ञासा राख्दै सो सम्बन्धी विषयमा जानकारी लिएका छन् ।

सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले नयाँ प्रणालीगत सुधार गर्न खाजेको उल्लेख गर्दै नयाँ नीति तथा कानून ल्याउन खोज्दा नबुझेर विरोध हुने गरेको बताए । उनले सरकारले उद्योगी तथा व्यवसायीलाई धराशयी हुने गरी नीति ल्याउन लागेको विषय निराधार भएको जानकारी दिँदै परिवर्तनलाई संस्थागत गर्दा केही अप्ठयारा हुन सक्छन् भने ।

राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले अहिलेसम्म मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली (भिसिटिएस) मा २७ हजार प्रयोगकर्ता भएको र तीन लाख साधन प्रणालीमा प्रविष्ट भएको जानकारी दिए । उनले व्यावसायिक प्रयोजनका लागि एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा भिसिटिएस प्रणालीमा प्रवेश गर्नुपर्ने जानकारी दिँदै समय र लागतको बचत हुने उल्लेख गरे । सरकारले साउन १ गतेदेखि यो प्रणाली लागू गरेको हो ।

सामाजिक सुरक्षा योजनाका प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षाको सुविधाबारे जानकारी दिँदै यो योजना अनिवार्य भएको बताए । आन्तरिक राजश्व कार्यालय, बुटवलका कर अधिकृत अर्जुन ढकालले सम्पत्ति कर लगाउँदा उत्पादनशील क्षेत्रमा लगानी हुने जानकारी दिँदै आयकरको सीमा उच्च भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्