२ भदौं, काठमाडौँ l गैँडालाई अङ्ग्रेजीमा ‘राइनो’ भनिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् l
आज काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैँडालाई गैँडा नै भन्नु पर्ने जिकिर गरेका हुन् ।
उक्त सम्मेलनमा सहभागी करिब ४ सय विदेशी पाहुनाका सामु प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको बदलामा सगरमाथा नै भन्नु पर्ने प्रधानमन्त्री ओलीले आग्रह गरे । पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठुलो महत्त्व रहेको प्रधानमन्त्री ओलीले बताए l
प्रधानमन्त्री ओलीले नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको भन्दै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न लागिएको समेत उल्लेख गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको छ