१ भाद्र, भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले स्थापना कालदेखि नै सस्तो तथा सुलभ ढङ्गले बिरामीको सेवा गर्दै आएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालको व्यवस्थापन समितिले दिएको जानकारीअनुसार अस्पतालले अर्बद रोगका बिरामीलाई रु एक लाखसम्ममा उपचार गर्दै आएको जनाएको छ ।
अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले १५ शय्याबाट शुरु भएको अस्पतालमा हाल १०० शय्या रहेको बताउँदै अरु अस्पतालमा बिरामीले रु पाँच लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेको र सो अस्पतालमा रु एक लाख मात्र खर्च गरेर उपचार पाउने गरिएको जानकारी दिए । उनले अर्बुद जस्तो संवेदनशील स्वास्थ्य सेवा प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा राजनीति प्रवेश गरेकामा चिन्ता व्यक्त गरे ।
श्रेष्ठले अस्पतालको विधानविपरीत भक्तपुर नगरपालिकाले आफू नेतृत्वको अस्पताल व्यवस्थापन समिति विघटन गरी नगरप्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेकामा आपत्ति प्रकट गरे । उनले अस्पताल व्यवस्थापनमा त्यहाँका कर्मचारी र व्यवस्थापनबीच दशकौँदेखि सौहाद्र सम्बन्ध रहेकाले नगरपालिकाको कदमले अस्पतालको वातावरणमा राजनीतिक रङ्ग देखिएको उल्लेख गरे ।
व्यवस्थापन समितिका सदस्य बिमलकुमार होडाले नेपाल अर्बुद रोग निवारण संस्था २०३९ सालमा स्थापना गरिएको अर्बुद रोग निवारणसम्बन्धी नेपालको पहिलो कल्याणकारी सामाजिक संस्था भएको बताए । विसं २०५१ मा भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट सञ्चालन गरी हाल भक्तपुर क्यान्सर अस्पतालका रुपमा नेपालभरिका अर्बुदाका बिरामीलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको उनले बताए ।
विसं २०५१ देखि हालसम्म अस्पतालले एक लाखभन्दा बढी बिरामीको उपचार गरेको उनले जानकारी दिए । सबै किसिमका अर्बुद रोगको उपचार सेवा दिँदै आएको अस्पतालले बाहिरभन्दा ५० प्रतिशत छुट दिएको बताए । धेरै वर्षको प्रयासको बाबजुद अर्बुद रोगीको सुलभ उपचारमा हालैमात्र रेडियोथेरापी सेवामा अत्याधुनिक उपकरण लिनायक एसीलेटर जडान भई सेवासमेत सञ्चालन गर्न लागिएको हाडाले जानकारी दिए ।