Logo

बेलायती प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपतिसँग ब्रेजिक्टबारे छलफल गर्ने



Spread the love

१ भदौं, लण्डन l बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्राेंसँग ब्रेजिक्टबारे छलफल गर्ने भएका छन् ।

अर्को हप्ता हुने जी सेभेनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबिच वार्ता हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीले शनिवार जानकारी दिएका छन् ।

अगस्त २४ देखि २६ सम्म फ्रान्सकै दक्षिणी क्षेत्रमा रहेको एउटा रिसोर्टमा हुने सम्मेलनमा उनीहरूबीच भेटवार्ता हुने सम्भावना छ । जर्मन चान्सलर एंगेला मर्केलका एक प्रवक्ताले पनि जोनसनसँग बर्लिनमा ‘चाँडै भेट हुने अपेक्षा गरिएको’ शुक्रवार बताएका छन् ।

ती प्रवक्ताले भने, ‘चान्सलर र नयाँ प्रधानमन्त्री बोरिसबीच टेलिफोनमा यसअघि पनि एक पटक कुराकानी भएको छ तर ब्रेजिक्ट र युरोपेली मुलुकसम्बन्धी अन्य विषयमा भने अब कुरा हुने सम्भावना छ l ‘

जोनसोन सरकारले बेलायतले ब्रेजिक्टलाई पारित गर्न सक्छ कि सक्दैन भन्ने विषय अब युरोपेली सङ्घको भूमिकामा भर पर्ने बताउँदै आएको छ ।

यसमा फ्रान्सको भूमिका महत्त्वपूर्ण हुने भएकाले बेलायती प्रधानमन्त्री जोनसोन र फ्रान्सेली राष्ट्रपति म्याक्रोंको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्