Logo

दोरम्बा हत्याकाण्ड भएको १६ पुरा, के हो दोरम्बा हत्याकाण्ड ?



Spread the love

रामेछाप । विश्वस्तरबाट मानवीयता विरुद्धको नृशंश अपराधका रूपमा चित्रण गर्दै सरकारी कायरताको भर्त्सना गरिएको दोरम्बा हत्याकाण्ड घटेको १६ वर्ष पुरा भएको छ । दोरम्बा हत्याकाण्ड भएको १६ वर्षपछि सोही स्थानमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा”पुष्प’ सहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो । दोरम्बा हत्याकाण्डमा सहादत प्राप्त गरेका बाईस जना लालयोद्धाहरूमध्ये पुष्प रामेछाप जिल्ला जनसरकारका प्रथम प्रमुख थिए । वि.सं. २०१६ सालमा रामेछाप जिल्लाको बेथान गाविसस्थित भलवाडीमा जन्मेका बाबुराम २०३६ सालदेखि नै निरन्तर कम्युनिस्ट आन्दोलनमा लागी जनयुद्धको पहलकदमीदेखि नै सक्रियतापूर्वक युद्धमा होमिएका थिए ।

दोरम्बाका अरु सहिदहरुमा अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, युवराज मोक्तान, लिला मोक्तान, चतुरमान थामी, सोमई थामी ‘संगिता’, टेकबहादुर थापामगर ‘विवेक’, विष्णु थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायत हुन् ।

दोरम्बा हत्याकाण्डको लागि तस्बिर परिणाम

२०६० साल साउन ३२ गते भएको यो हत्याकाण्डपछि सरकार र माओवादीबीचको वार्ता भंग भएको थियो । यो घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई सेनाले बर्खास्त गरेको थियो ।

दोरम्बामा मारिएकाहरुको स्मरणमा स्थापना गरिएको प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए । प्रतिमा अनावरणको लागि तत्कालीन माओवादी अध्यक्ष (हालको नेकपा अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिए पनि मौसमको खराबीको कारण हेलिकप्टर उड्न नसकेपछि प्रचण्ड आउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्